काठमाडौँ – आइतबार बिहान पोखराको सेती नदी खोँचमा दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानको ब्ल्याक बक्स भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले ब्ल्याक बक्स सुरक्षित भेटिएको जानकारी दिए ।
‘ब्ल्याक बक्स सुरक्षित रूपमै भेटिएको छ।विमानको पछिल्लो भाग हिजो भेटिएको थिएन, आज त्यो भेटियो,’ निरौलाले भने । आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा यती एअरलाइन्सको विमान दुर्घटना भएको थियो । विमानमा सवार कुल ७२ जनामध्ये अहिलेसम्म ६८ जनाको शव भेटिएको छ । हराइरहेका चार जनाको खोजीकार्य जारी छ ।