काठमाडौं – पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा २९ जनाको मृत्यु भएको छ। क्यानले एक विज्ञप्ति जारी गर्दै उद्धार जारी रहेको र अहिलेसम्म २९ जनाको मृत्यु भएको जनाएको छ। मृत्यु हुनेमा १० महिला १८ पुरुष र एक शिशु छन्। विमानमा २५ महिला, ३७ पुरुष, तीन बालक र तीन शिशु सवार थिए।
दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिएका छन्। शवहरू अस्पताल लगिएसँगै दिवङ्गत यात्रुका परिवारजनले अस्पताल परिसर भरिएको छ। अस्पताल परिसरमा दिवङ्गत यात्रुका परिवारजन शोकाकुल अवस्थामा छन् । शवहरू अधिकांशः पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको छ ।