शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो वेबसाइटमार्फत एरोनटिकल पब्लिकेसन इन्फर्मेसन (एआईपी) सार्वजनिक गरेसँगै राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रूपमै देशको तेस्रो सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल बनेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि गत जेठ २ गते दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । त्यसको १० महिनापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक सञ्चालनमा आउन लागेको छ । हवाई रुट, धावनमार्ग, उडान व्यवस्थापन प्रणाली, नेभिगेसनसँगै विमानस्थलले प्रदान गर्ने सेवा–सुविधासहित विमानस्थलको समग्र अवस्थाबारे पूर्ण जानकारी समेटेर सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिएका तथ्याङ्कका आधारमा अबको ४२ दिनपछि पोखरामा अन्तर्राष्ट्रिय उडान-अवतरण हुनसक्नेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलकाअनुसार सार्वजनिक एआईपीकै आधारमा अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूलाई आफ्ना जहाजमार्फत पोखरामा व्यावसायिक उडान भर्न ध्यानाकर्षण गराएको छ । एआईपीले पोखरामा उडान गर्न चाहने हवाई कम्पनीलाई अन्तर्राष्ट्रिय उडानको बाटो खोलेसँगै उडान अनुमतिको प्रक्रियामा सहजै आउने उनको भनाई छ । एआईपीमा उल्लेख गरिएका तथ्याङ्कका आधारमा हवाई कम्पनीहरूले आफ्नो जहाज पोखरामा उडान तथा अवतरण गर्न सक्ने नसक्नेबारे जानकारी पाउनेछन् ।

यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सकेर यही पुस १७ गते उद्घाटन गरिएको विमानस्थलमा व्यावसायिक उडान सञ्चालनको तयारीसँगै नेपाली हवाई उड्डयनको इतिहासमा एउटा इँटा थपिएको हो । एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरोथाई)को विज्ञ टोलीले विमानस्थल प्राविधिक हिसाबले ठीक छ कि छैन भनी गरेको यान्त्रिक परीक्षण उडानको पूर्ण प्रतिवेदनका आधारमा तयार पारिएको प्रतिवेदनले पोखरामा फागुन दोस्रो सातादेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडानको ढोका खोलेको हो ।

वायुसेवा कम्पनीलाई एक वर्षसम्म सबै शुल्कमा छुट 
सरकारले वायुसेवा कम्पनीलाई विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा एयरलाइन्सलाई आकर्षित गर्न एक वर्षसम्म विमानस्थलको सेवा शुल्कमा सतप्रतिशत छुट दिने निर्णय गरिएको हो ।

क्यानका प्रवक्ता जगन्नाथ निरौलाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णयअनुरुप पोखरा विमानस्थल सञ्चालनमा आएको मितिदेखि एक वर्षसम्मका लागि अन्तर्राष्ट्रियतर्फको उडान र अवतरणमा शतप्रतिशत छुट दिने निर्णय भएको जानकारी दिए । उनका अनुसार विमानस्थलमा अवतरण शुल्क, विसन शुल्क, सञ्चार तथा उड्डयन शुल्क र सुरक्षा जाँच शुल्कमा शतप्रतिशत छुट दिने निर्णय भएको छ । यस्तो छुट अन्तर्राष्ट्रिय उडान भर्ने स्वदेशी तथा विदेशी एयरलाइन्सले पाउनेछन् ।

तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै २२ अर्ब लागतमा निर्माण भएको छ । विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग रहेको छ । त्यहाँ एक पटकमा तीनवटा अन्तर्राष्ट्रिय विमान एवं ठूलासाना चार-चारवटा आन्तरिक सेवाका विमान पार्किङ गर्न सकिनेछ ।

आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ छ उडान तथा अवतरण गर्ने सुरुवाती तयारी अनुसार विमानस्थलबाट वार्षिक १० लाख हवाई यात्रुले सेवा लिनसक्ने प्राधिकरणले जनाएको छ । २५ सय मिटर लामो धावनमार्ग रहेको यो विमानस्थलमा एयरबस ए३२०, बोइङ ७३७-७०० सिरिज वा बोइङ ७५७-२०० जस्ता न्यारोबडी उडान-अवतरण गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया