शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौँ – पोखरामा जारी २२ औं संस्करणको आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदै छ । दिउँसो पोखरा रंगशालामा नेपालको ए डिभिजन क्लब संकटा र विदेशी क्लब भुटानी युथ स्पोर्टस क्लब (बीवाईएससी)बीच उपाधि भिडन्त हुने छ । संकटाले आहा! रारा गोल्डकपमा दोस्रो पटक फाइनल खेल्दै छ । भने बीवाईएससी अमेरिकाको क्लब हो, पहिलो पटक उपाधि जित्ने लक्ष्यमा रहेको छ ।

संकटाले १९ औं संस्करणको उपाधि जितेको थियो । फाइनलमा संकटाले अफ्रिकन रुट्सलाई पराजित गर्दै उपाधि उचालेको थियो । यस पटक पनि संकटा विदेशी क्लबसँग उपाधि भिडन्तमा छ । संकटाले सेमिफाइनलमा गत संस्करणको च्याम्पियन एपीएफलाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । बीवाईएससीका प्रशिक्षक प्रदीप हुमागाईं हुन् । उनले नेपाली टिम पनि सम्हालि सकेकाले नेपालको खेलबारे राम्रो जानकार मानिन्छन् ।सेमिफाइनलमा चर्च ब्वाइजलाई हराएर बीवाईएससी फाइनलमा पुगेको हो । संकटाका प्रशिक्षक सल्यान खड्गी पनि बीवाईएससीको ‘फिजिकल’ पक्षले फाइदा गरे पनि आफूहरू रणनीतिक तरिकाले बलियो भएर उत्रने बताए ।

बीवाईएससीका प्रशिक्षक हुमागाईंले आफ्नो टोली मैदान उत्रँदा अघिल्ला दुई खेलको गल्ती सुधार्दै उपाधि जित्ने दावी गरे । आहा! रारा पोखरा गोल्डकपको विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँमा पुरस्कार पाउनेछन्  ।

 

तपाईको प्रतिक्रिया