बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

गृष्मा पौड्याल

कानुनी रूपबाट रक्सी, चुरोट पिउन मिल्ने दिनको सुरुआत । एक्लै विदेश यात्रा गर्न सकिने दिन र अझ भनौँ चालक अनुमतिपत्र र  कानुनी रूपमा विवाह समेत गर्न सकिने दिनको सुरुआत । एक्लै घर भाडामा लिन र दिन मिल्ने उमेरको सुरुआत गर्न सकिने दिनको सुरुआत हो सेईजिन सिकी । सबै प्रकारका कानुनी अधिकारहरू प्राप्त गर्न मिल्ने दिनलाई जापानमा वयस्क दिवस भनेर मनाइन्छ ।

यो दिवस हरेक जनवरी महिनाको दोस्रो हप्ताको पहिलो सोमबार र आइतबार परे छुट्टी सोमबार दिइने जापानी चलनको दिन । यो वर्ष जनवरी महिनाको ९ तारिख सोमबार परेको दिन जापानमा ‘सेईजिन सिकी’ मनाइन्छ । जापानीको कोखबाट जन्मेर २० वर्ष उमेर समूहका केटा केटीहरू आ-आफ्नो विश्वास अनुसार मन्दिर (お寺) शिन्तो  (神社⛩) र जापानको पुरानो राज परिवार समेतले मनाउने धर्म र कोही चर्चमा गई आफ्ना साथीभाइ, आमाबुवा हजुरआमा हजुरबुवा र नातेदारहरू सहभागी भई नजिकको वडा कार्यालयले तोकेको ठाउँमा जम्मा भई देशकै प्रधानमन्त्री या कुनै उच्च पदस्थ अधिकारीबाट आशीर्वाद ग्रहण गरी रमाइलो गरी मनाउने गर्दछन् ।यसैलाई जापानमा 成人式अर्थात् वयस्क दिवस भनिन्छ । यो वर्ष आज २०२३/०१/०९ तारिख सोमबार परेको छ । १८ वर्षसम्म पासपोर्टको हद म्याद ५ वर्षको हुन्छ । केटाकेटी अनुहारको स्वरूप बदलिने हुँदा १८ वर्षसम्म पासपोर्ट ५/५ वर्षमा नवीकरण गर्नु अनिवार्य हुन्छ भने २० वर्ष उमेर पुगेपछि १० वर्षसम्म म्याद छान्न पाइन्छ ।

अरू समयमा प्राय फिक्का रङका लुगा र पहिरन लगाउन रुचाउने जापानी महिलाहरू पनि यो दिनमा भने रङ्गीचङ्गी उज्यालो रङका ‘किमोनो’ र जापानको राष्ट्रिय पोसाकमा सजिएर धिपिक्कै बलेका हुन्छन् । यही दिन बेलुका आफ्ना साथी संगीहरू मिलेर रेस्टुरेन्टहरूमा जम्मा भई खाने पिउने र रमाइलो गर्ने गर्दछन् । ‘किमोनो’महिलाहरूले लगाउने जापानको राष्ट्रिय पोसाक हो । यो खास प्रकारको सिल्क बनाउने किराको धागोबाट बनाइएको हुन्छ ।तर केटाहरूले लगाउने कोट पनि खास आकारको लामो हुन्छ (अगाडिबाट साधारण देखिने तर पछाडिबाट भने निक्कै लामो)। यो दिन जापानका २० वर्ष उमेर समूहका केटाकेटीहरू स्पेसल अवसरहरूको लागि बनेका लुगाहरू लगाएर स्थानीय सरकारले तोकेको कुनै हल या सार्वजनिक ठाउँमा भेला भई सम्बन्धित निकायबाट आशीर्वाद प्राप्त गरिसकेपछि आ-आफ्नो परिवारसँग भेटी खाई पिई आशीर्वाद प्राप्त गर्ने र रमाइलोसँग मनाउने चलन चलिआएको छ ।

तपाईँहरूलाई बुझ्न सजिलोको लागि तल तस्बिरमा पनि राखिदिएको छु ।’किमोनो’ र ‘यूकाता’ मा फरक हुन्छ । यूकाता पहिला पहिलाका महिलाहरूले घरमा बस्दा लगाउने हाम्रो ‘फरिया’जस्तै हो भने किमोनो एक प्रकारको किराबाट निकालिएको स्लिक धागोबाट बनेको हुन्छ र अत्यन्तै महँगो पनि हुन्छ । यो 成人式 मा लगाइने ‘किमोनो’सस्तोमा ३ लाख देखि महँगोमा २०/३० लाखसम्म पर्दछ ।जापानमा यो ‘वयस्क दिवस’ द्वितीय विश्व युद्धपछि सन् १९४६ मा (स्योवा २१ वर्ष) बाट मनाउन थालिएको हो । सन् १९४६ मा जापान द्वितीय विश्व युद्धबाट पराजित भई देशमा चरम निराशा छाएको बेला युवाहरूलाई हौसला दिनको लागि जापानको साईतामा प्रान्तको वारावी भन्ने शहरमा बस्ने एक व्यक्तिले ‘वाराविनो सेन्देन’ नामको ‘युवा महोत्सव’आयोजना गरी युवाहरूलाई भोलिको दिन राम्रो हुनेछ भनी हौसला दिएर रमाइलो गरी यो दिवस मनाएका थिए रे ! र त्यही बेलादेखि यो चलन निरन्तर रूपमा पर्व नै बनेर हालसम्म पनि ‘वयस्क दिवस’भन्ने नामले मनाउन थालिएको रहेछ ।

  • गृष्मा पौड्याल, टोकियो जापान 
    २०२३/०१/०९ तारिख
तपाईको प्रतिक्रिया