शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – ३० को दशकमा राजधानी बाहिरकै प्रतिष्ठित प्रतियोगिताको पहिचान बनाएको ‘त्रिभुवन मेमोरियल गोल्डकप’ को पुनर्अायोजना गर्ने चाँजो मिलेको छ । जिल्लाकै इज्जतिलो प्रतियोगिता गर्न करिब दुई दशकपछि स्थानीय जुर्मुराएका हुन् ।

मोफसलकै ठूलो र प्रतिष्ठित यो प्रतियोगिता देशको राजनीतिक परिवर्तनसँगै ओझेल परेको थियो । १८ वर्षपछि प्रतियोगिता आयोजना गर्न स्थानीय व्यवसायी र सामाजिक अगुवाहरु अघि सरेका हुन् । पछिल्लो पटक २०६१ मा प्रतियोगिता आयोजना भएपछि ठप्प थियो । ०६२/०६२ को राजनीतिक परिवर्तनका कारण प्रतियोगिता हुन नपाएको स्थानीय व्यवसायी दिपेश ढकालले जनाए ।

युवा उद्यमी ढकालकै अगुवाइमा गोल्डकप आयोजक समिति निर्माण गरिएको छ । ‘गोल्डकपको नाम परिवर्तन गरेर भद्रपुर, झापा गोल्डकप जुराइएको छ,’ ढकालले भने, ‘यो वर्षदेखि प्रतियोगितालाई निरन्तरता दिने योजनामा हामी जुटेका हौं ।’

प्रतियोगिताको मिति भने अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको छलफलपछि मात्रै तय गरिने जनाइएको छ । ‘यही माघ भित्रमा प्रतियोगिता आयोजना हुने छ,’ ढकालले थपे, ‘एन्फासँगको सहकार्यमा प्रतियोगिता हुने छ ।’ प्रतियोगिताका विजेताले नगद १३ लाख पाउने छन् । उपविजेता टिमले नगद ७ लाख पाउने छन् । ***

तपाईको प्रतिक्रिया