शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

हरेक वर्ष आउने धेरैजसो नयाँ वर्षहरु शुभकामना आदान-प्रदान र औपचारिकताका शृङ्खला मै बित्ने गरेका छन् । यो पटक पनि हामीले पृथक अपेक्षा गर्न त नसकिएला किनभने वीजारोपण बिना फलको आशा गरेजस्तै होला । तर प्रयासको थालनी भने अवश्य गर्न सकिन्छ । नेपाली समाजको मनोविज्ञान बडो विचित्रको छ, जुन बाह्य दुनियाँमा विरलै देख्न पाईन्छ । औपचारिकताका नाममा हामीले निरन्तरता दिदैं आएका कतिपय सँस्कारमा निर्मम ढंगले परिवर्तनको जरुरी छ । शुभकामना आदान-प्रदान गर्दा यो वर्ष कुनै एउटा ठोस नयाँ काम गर्ने अठोट पनि गरौं । आफुमा भएका कमी कमजोरीलाई नदोहोर्‍याउने प्रण गरौं । सानै भएपनि देशका लागि मैले यो योगदान गर्न सक्छु भनेर सार्बजनिकरुपमै घोषणा गरौ, यसो गरे कसो होला ?

कुनै पनि जिम्मेवारीमा पुगेको ब्यक्तिलाई उसको जिम्मेवारी के हो पहिले त्यो पूरा गर्न दिऔं । महिनौसम्म खादा, माला, अबिरजात्रा, स्वागत र बधाईको नाममा लम्बेतानको लोकाचार बन्द गरौं । निजले काम गरेर देखाओस् न पहिले त्यसपछि भने दिनुपर्ने सबै दिन कञ्जुस्यांई नगरौं । नेपालतिर सत्ता र सरकार परिवर्तनको मौसम छ, अब मन्त्रीगण तथा उच्चपदस्थधारीहरुलाई बधाई र स्वागतका नाममा गरिने लोकाचारमा नेपाली समाजले कति महिना खर्चनुपर्ने हो, जुन पटक्कै आवश्यक छैन । अन्य समाजमा यस्ता बेकारका अनुत्पादक भद्दा स्वाङ् गर्दैनन्, उनीहरु मात्रै आफ्नो काममा फोकस गर्छन् । नेपाली समाजले पनि सँस्कार सिक्न जरुरी छ । विदेशको नक्कल गर्न माहिर नेपाली समाज यस्ता काम लाग्ने कुरामा झन किन ध्यान नगएको होला ?

सूचना र प्रविधिको अत्यधिक बिकासले दिएको सुविधा उपयोग गर्दै सोही अनुसार आफ्नो सोच र चिन्तनलाई पनि उन्नत बनाउन सकेनौ भने आफु बाँचेको समय डिजिटलको जमाना भएर पनि त्यसको खासै अर्थ रहँदैन । नयाँ प्रयोग आफैमा चुनौतीको नाम हो । नेपाली समाजको वर्ग चरित्र नयाँ र पविर्तनलाई सहजै स्वीकार गर्न नसक्ने खालको पाईन्छ । तथ्यहरुले पुष्टि गरेअनुसार विज्ञान, प्रविधि र गणित कहिलै गलत हुनै सक्दैनन् । तथापि हाम्रो नेपाली समाज कता जाँदै छ भन्ने बिषयमा घोत्लिने हो भने चित्त बुझाउने ठाउँमा पुग्न सकिदैन । प्रविधिले हामीलाई सित्तैमा दिएको सुबिधा प्रयोग गरेर मन लागेको बेला मन लागेको सामग्री भेटाउन सक्छौं । यो सुबिधा हिजोका पुस्ताले पाएको भए केही न केही चमत्कार गर्थेहोलान् । ज्ञानको भण्डार बढाउन उनीहरुसंग नयाँ-नयाँ पुस्तक किनेर पढ्नुको अर्को विकल्प थिएन । तर आज हाम्रो पुस्तामाझ सबैथोक भएर पनि त्यसको सहि अर्थमा सदुपयोग गर्न सकेका छैनौ । सूचना र प्रविधिको सुबिधा उपयोग गर्ने नाममा बरु हामीले संप्रेषण गर्ने सन्देशहरु के कति उपयोगी, सूचनामुलक र तथ्यपरक छन्, दिन खोजेको खुराक के हो र त्यो पढिसकेपछि पाठकले बनाउन सक्ने धारणा के हुन सक्छ भन्ने बारे मनन् गर्नुपर्ने देखिन्छ । औसतमा भन्नुपर्दा सञ्जालहरुमा मनका कुण्ठा, उकुस मुकुस, छेडछाड, घोचपेच र आफै सर्बज्ञानी भएको छनक दिने खालका उपदेशमुलक सन्देशहरु नै बढि पोखिएका देखिन्छन् । न त भाषिक दृष्टिले हामी सुधारिने बाटोमा हिड्ने जमर्को गरेको गुञ्जायस पाउँछौं । यसले नेपाली समाजको औसत चरित्र दर्शाउँछ ।

त्यसो भएको हुनाले हामीले पूराना ढाँचा र ढंगबाट बिस्तारै नयाँ र प्रविधीमैत्री जीवनशैली तर्फको यात्रा तय गरौं । त्यो भनेको सोच र चिन्तनको स्तर उकास्नु हो । नयाँ-नयाँ प्रविधिको प्रयोगबाट जीवन र चिन्तनलाई उन्नत बनाउन अधिकतम प्रयास गर्नु हो । हरेक वर्ष फेरिने भित्ते क्यालेण्डरको पानासंगै मनको भित्ता पनि फेरिनुपर्दछ भन्ने हो । पत्र पत्र परेर खात र खिया लागेका हाम्रा पूराना विचार जसले बेकारमा हाम्रो दिमाखी हार्डडिस्कको ठाउँ मात्र ओगटिरहेका छन्, उत्पादन दिन सक्दैनन् भने त्यो ठाउँमा नयाँ विचारको वीजारोपण गरौं । सँधै अरुलाई उपदेश दिएर नथाक्ने नेपाली सँस्कारबाट छलाङ मार्दै पहिले आफु सुध्रिएको रोलमोडल बनेर देखाऔं । हामी यहि संकल्पका साथ आउने वर्षलाई जीवनकै सवाधिक सार्थक र उन्नत वर्ष साबित गर्न सकौं, नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना !

तपाईको प्रतिक्रिया