बुधबार, बैशाख ०५, २०८१
Wednesday, April 17, 2024

समृद्ध मुलुक निर्माण र मजबुत अर्थतन्त्रका लागि उद्योगको विकास अपरिहार्य हुन्छ । स्वदेशमै ठूला उद्योग सञ्चालनको अनुमति र विदेशी लगानीलाई भित्र्याउन सकेमात्रै सिंगो राष्ट्र आत्मनिर्भर बन्नसक्छ । यसका लागि लगानीको वातावरण बन्न जरुरी छ । देशमा रोजगारी सिर्जना गर्ने, विदेशी लगानी स्वीकृत गर्ने तथा आर्थिक गतिविधिमा टेवा दिनुमा उद्योग विभागको महत्त्वपूर्ण भूमिका छ । विभागका महानिर्देशक रामचन्द्र तिवारी देशमा लगानीको वातावरण बनिसकेको दाबी गर्छन् । ‘विदेशी लगानी प्रतिबद्धता र उद्यमशीलता विकासका लागि हामी योजना बनाउँदै छौं,’ उनी भन्छन् । वर्तमान अवस्थामा नेपालमा लगानीको अवस्था, उद्योग विभागका कामकारबाही, आगामी रणनीतिलगायतका विषयमा महानिर्देशक तिवारीसँग समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंश :-

तपाईँले विभागमा महानिर्देशकको जिम्मेवारी सम्हालेको १ वर्ष पूरा भएको छ । यो अवधिमा महसुस हुने कामहरू के-के भए ?
नेपालमा हामीले उद्योगीहरूलाई उद्यमको लागि जागरूक गर्न भने अपेक्षाकृत रूपमा सकेका छैनौं । त्यसमा हामी कमजोर रहेको तथ्यले देखाउँछ । यस्तो गुनासो बाहिर पनि सुनिएको छ । अब यसमा पनि हामी फोकस हुनेछौं । उद्योग प्रशासन ढिलो भएको कारण पनि यस्तो भएको हो । यसैलाई विचार गरेर विभागले प्रशासनिक कामलाई अब डिजिटल गर्नेगरी काम गरिरहेको छ । पुराना फाइलहरूलाई हामीले स्क्यान गरी अटोमेसनमा लगिसकेका छौं । अरु नयाँ दर्ता प्रक्रियालाई पनि अब डिजिटल रूपमा नै गर्नेगरी हामी काम थल्दैछौं । दुईचार महिनाभित्र सबै काम प्रविधिमैत्री हुनेगरी काम सुरु गर्नेछौं । नीतिगत रूपमा भएका कमीकमजोरीलाई हटाएर लगानीमैत्री वातावरण बनाउन हामी लागिरहेका छौं । विदेशी लगानीको सन्दर्भमा अनलाइनबाट नै काम हुनेगरी सुरु पनि भइसकेको छ । यसैगरी विदेशी लगानीलाई आकर्षित गर्ने, लगानीकर्ताहरूसँग छलफल गर्ने, नीतिगत रूपमा कमी भएका  कुराहरूलाई सुधार गरेर जाने कुरामा हामी सकारात्मक भएर अघि बढिरहेका छौं ।

नेपालमा अहिले लगानीको वातावरण कस्तो छ ?
अहिले तपाईँले नेपाल सरकारले परिमार्जन गरेको वातावरण ऐन, औद्योगिक विकास ऐन, श्रम ऐन लगायतका दस्ताबेज हेर्नुभयो भने लगानीको राम्रो वातावरण सिर्जना भएको पाउन सक्नुहुन्छ । नेपालमा पहिलेको कानुन अनुसार त्यस्तो राम्रो लगानीको वातावरण नभएको पाइएको थियो । अब राम्रो वातावरण बनेको छ । त्यसैगरी अहिले उद्योग नीति, वाणिज्य नीति लगायतका नीतिहरूले पनि लगानीकर्तालाई आकर्षित गरेको देख्न सकिन्छ । औद्योगिक विकास ऐनले उद्योगधन्दाहरूलाई विभिन्न छुट, प्रोत्साहन, लाभकर छुट गरेको प्रष्ट देख्न सकिन्छ । लगानीका लागि वातावरण भनेको नीतिगत रूपमा कागजी दस्तावेजले मात्र हुने कुरा पनि होइन । लगानीकर्ता आश्वस्त हुने वातावरण पनि सिर्जना गर्नुपर्ने हुन्छ । त्यसका लागि पूर्वाधारदेखि लिएर औद्योगिक ग्रामहरू बनाउने कुरामा पनि सरकार लागिरहेको छ । लामो समयसम्म नीति रहने कुरा, स्थलगत सुरक्षाका कुरा, लगानी सुरक्षाका कुरा र कच्चा पदार्थमा सहुलियत दिने र सहज उपलब्ध गराइदिने कुराले पनि लगानीलाई प्रभाव पार्ने हुन्छ ।उसो भए नेपालमा अब लगानी गर्ने वातावरण छ है भन्ने बनिसकेको हो ?
नेपालमा नीतिगत रूपमा अब लगानीको लागि कुनै समस्या छैन । हामीले अहिले अन्तर्राष्ट्रिय स्तरकै लगानीको नीति बनाइसकेका छौं । लगानी भित्र्याउनेदेखि फिर्ता गर्नेसम्मका नीति हामीले बनाइसकेका छौं । अब प्रशासनका कर्मचारीहरूले पनि आएका लगानीकर्ताको काम छिटोछरितो र भरपर्दो रूपमा गरिदिनुपर्छ । लगानीकर्ता फिल्डमा जाँदा उसले उद्यम गर्न सहज रूपमा जग्गा पाउनुपर्छ । तीनै तहका सरकारहरूले लगानीकर्तालाई राम्रो वातावरण सिर्जना गरिदिनुपर्छ । जनताले विभिन्न समूह बनाएर चन्दा मागिदिने र आन्दोलन गरिदिएर दुःख दिने काम गरिदिनु हुँदैन । मिडियाहरूले पनि आएका कम्पनीलाई प्रायोजित रूपमा नै लखेटिदिने गरी लेख्ने काम गर्नुहुँदैन । सबैले हातेमालो गरेको खण्डमा मात्र लगानीकर्ता आकर्षित हुने हुन्छन् । तसर्थ लगानीको लागि सरकार, स्थानीय निकाय, कर्मचारी र जनतासम्म सबैले लगानीकर्तालाई निरुत्साहन हुने काम गर्न हुँदैन । सबैले प्रोत्साहन गर्न सकेमात्र राम्रो लगानीको वातावरण सिर्जना हुन्छ भन्ने लाग्छ ।

तर लगानीकर्तालाई बाहिरबाट स्रोत जुटाएर ल्याएर लगानी गर्न पनि अप्ठेरो भयो भन्ने सुनिन्छ नि ! यसलाई सजिलो बनाउन सकिँदैन ?
धेरै कुराहरू सजिलो भइसकेको अवस्था छ । कुनै-कुनै कुरामा त्यस्तो भएको पनि होला । हामीकहाँ अनुसन्धान नगरीकनै बोलिदिने मानिसहरू धेरै छन् । के-के कुरामा सुधार भएको छ भनेर मान्छेहरूले जानकारी नै नलिई त्यसै बोलिरहेको अवस्था पनि छ । केही सुधारका पक्षहरू रहेपनि हिजोका दिनमा भन्दा धेरै कुरामा सुधार भइसकेकोले ढुक्क भएर लगानी गर्नुपर्छ भन्न चाहन्छु । बाहिरको सतही कुराहरू सुनेर लगानीको लागि डराउनुपर्ने वातावरण भने अहिले छैन । परिस्थितिमा पनि हामी सुधारिएर जानुपर्छ । तसर्थ लगानी गर्न अप्ठेरो मान्नुपर्ने अवस्था छैन ।

ठूलो सङ्ख्यामा हरेक दिन जनशक्ति विदेश पलायन भइरहेको छ । स्वदेशमै उद्योग विकास र रोजगारी कहिले होला ?
आर्थिक समृद्धि हासिल तथा देशमा बेरोजगारी अन्त्य गर्न समग्रमा सरकार ठिक बाटोमा अघि बढिरहेको छ । प्रत्येक पालिकामा लघु, घरेलु तथा साना उद्योग स्थापनाको काम भइरहेको छ । यसअघि नै १३० औद्योगिक ग्राम बनाउने गरी प्रपोजल अघि बढिसकेको छ । हाम्रो मुख्य कमजोरी पूर्वाधार भएकोमा यसलाई सशक्त बनाउन सरकारले ठीक ढंगले काम गरिरहेको छ । उद्योग स्थापनाको वातावरण बनेको छ । कयौँले स्वदेशमै रोजगारी पाउने वातावरण बन्दैछ । सरकारले कृषिमा सस्तो ब्याजमा कर्जा दिइरहेको छ । तर यसको ‘स्पीड’ बढाउन आवश्यक देखिन्छ । सरकारले नगरेको होइन । युवाहरू पनि सृजनशील हुनुपर्‍यो । सोच परिवर्तन आवश्यक छ ।आगामी दिनमा देशमा नै उद्योग कलकारखाना खुल्ने र युवाहरूले विदेश गएर काम गर्नु नपर्ने गरी सरकारले योजनाहरू बनाएको पाउनुहुन्छ कि पाउनुहुन्न ?
सरकारले यो विषयमा गम्भीर भएर सोचेको पनि छ र त्यस्तो योजना बनाएको छ । सरकारका वार्षिक कार्यनीति र योजना तथा पञ्चवर्षीय योजनामा पनि ती कुराहरू समेटिएको पाएको छु । हामीकहाँ सकारात्मक कुराहरूको सञ्चार हुन सकिरहेको छैन । मिडियाको नकारात्मक कुरालाई प्रचार गरेर रमाउने मनोविज्ञान पनि रहेको छ । यस्तो हुनुहुँदैन । नेपालमा औद्योगिक पूर्वाधारहरू बनिरहेका छन् । ८–१० वटा वस्तुहरूमा हामी आत्मनिर्भर पनि भएका  छौं । नयाँ फर्म कम्पनीहरू दर्ता भइरहेका छन् । गएको वर्ष ९१ वटा ठूला उद्योगहरू दर्ता भएका छन् । जसबाट तीन खर्बभन्दा बढी लगानी प्रस्ताव भएको छ । विदेशी लगानी पनि बिस्तारै बढिरहेको छ । राजनीति र कर्मचारीतन्त्र पनि सुधार हुँदै गयो भने लगानी अझै बढ्दै जान्छ भन्ने लागेको छ । तसर्थ हामी निराश हुनुपर्ने अवस्था छैन । हरेक वर्ष बजारमा आउने ५–७ लाख युवाहरूलाई रोजगारी दिएर नेपालमै रोक्न नसकिएको र जुन रूपमा विकास भएको हुनुपर्ने हो त्यस्तो हुन नसकेको भने पक्कै हो । तर, हामी अत्यन्तै खराब अवस्थामा छौं भन्ने होइन । धेरै प्रयासहरू भएका छन् । आगामी दिनमा पक्कै पनि हामी सकारात्मक बाटोमा जान्छौं भन्ने लागेको छ ।

नेपालमा अहिले कति उद्योग कलकारखानाहरू दर्ता भएका छन् । नयाँ आउने उद्योगहरू कस्तो खालको आउने सम्भावना छ ?
हाम्रो देशमा अहिले करिब ८ हजार उद्योग कलकारखानाहरू रहेका छन् । यसमा धेरैजसो साना र मझौला खालका उद्योगहरू रहेका छन् । ठूला उद्योगहरू एकदमै थोरै सङ्ख्यामा रहेको भए पनि पछिल्ला दिनहरूमा ठूला उद्योगहरू आइरहेका छन् । गतवर्ष ९१ वटा पचास करोडभन्दा माथि लागतका उद्योगहरू दर्ता भए । हामीले निर्यातमुखी वा आयातलाई प्रतिस्थापन गर्नसक्ने उत्पादनमा आधारित हुने खालका उद्योगहरूलाई प्रोत्साहन गर्न जरुरी छ । सकारात्मक सूचक देखिएकाले आगामी दिनमा ठूला उद्योगहरूको सङ्ख्या पनि बढ्ने देखिन्छ ।

अन्तिममा उद्योगी र व्यवसायीहरूलाई के भन्न चाहनुहुन्छ ?
हामीले हाम्रा तर्फबाट उद्योग व्यवसाय गर्नेहरूलाई सहजीकरण गरिदिने काम गरिरहेका छौं । हामी सबै मिलेर देशलाई समृद्ध बनाउन आत्मनिर्भर बनाउन र अर्थतन्त्रलाई मजबुत बनाउन लाग्नुपर्छ । एनआरएन लगायत अन्य विदेशीहरूलाई पनि आउनुहोस् व्यवसाय सञ्चालन गर्नुहोस् भनेर हामी भनिरहेका छौं । उद्योग गर्न तपाईंहरुलाई केही समस्या छन् भने समाधान गर्न हामी सहयोग गर्न चाहन्छौं भन्न चाहन्छु । देशमा व्यवसाय गरिरहेका उद्योगीहरूलाई सबैले सम्मान गरौं । लगानीकर्तालाई डिस्करेज गरेर देश समृद्ध हुन सक्तैन । देशभित्रका लगानीकर्तालाई इन्करेज गरे मात्र विदेशी लगानीकर्ता नेपालमा आउँछन् । नेपालमै भएका लगानीकर्ता सुरक्षित नभए विदेशी लगानीकर्ता नेपालमा आउन चाहँदैनन् । तसर्थ लगानीकर्ताको सम्मान गरौं ।

तपाईको प्रतिक्रिया