मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

एउटा चील र परेवाको घनिष्ट मित्रता थियो । परेवा ज्यादै बृद्ध थियो भने चील जवान । बुढो मित्र परेवालाई चीलले नै चारो खोजेर ल्याइदिन्थ्यो । दुवै एउटै रुखको डालीमा बस्थे । एकदिन चील चारो खोज्न गएका बेला यमराजका दूतहरु त्यही बाटो हुँदै कतै जान त्यहाँ आइपुगे । उनीहरु बुढो परेवातिर हेर्दै हाँसेर बाटो लागे । यो दृश्यले बुढो परेवाको मनमा चिसो पस्यो ।

एकछिनपछि चारो बोकेर आएको चीलले आफ्नो परम मित्र परेवा झोक्राएर बसेको देखेर कारण सोध्यो । परेवाले निराश हुँदै भन्यो- ‘अब मेरो मर्ने दिन आए जस्तो छ । उमेरले नेटो पनि काटिसक्यो । मलाई हेरेर यमदूत हाँस्दै हिँडेको आज मेरै आँखाले देखें । शायद तिनीहरु अब मलाई लिन आउँछन् ।’ मित्रलाई ढाडस दिँदै चीलले भन्यो- ‘यहाँदेखि एक हजार योजन पर एउटा पहाड छ । त्यो पहाडमा एउटा गुफा छ । म तपाइँलाई आफ्नो पिठ्यूँमा बोकेर त्यो पहाडको गुफामा लुकाउँछु । चिन्ता नगर्नुस, अनि यमराजलाई भेटेर यमदूत हाँस्नुको कारण पनि पत्ता लगाउँछु ।’ चीलले परेवालाई भनेकै ठाउँमा लगेर लुकायो । अनि सीधै यमराजसंग गएर दूतहरु हाँस्नुको कारण सोध्यो । यमराजले तत्काल दूतहरुलाई बोलाएर परेवा हेरेर हाँस्नुको औचित्य पुष्टि गर्न आग्रह गर्दा उनीहरुको उत्तर थियो- ‘महाराज, बुढो परेवा जहाँ थियो, त्यहाँबाट एक हजार योजन पर पहाडको गुफामा बस्ने बुढो स्यालले यतिखेर त्यसलाई मार्ने भनेर विधाताको लेखन रहेछ । दुबै बुढा भएकाले न परेवा त्यहाँ जान सक्छ, न स्याल धाउन नै । अब विधाताले लेखेको कसरी पूरा होला भनेर हामी हाँसेका थियौं तर पूरा हुँदो रहेछ । आफ्नै साथी चीलले त्यो काम फत्ते गरिदियो ।’ दूतका कुरा सुनेर चील छक्क पर्‍यो । उसको मित्र परेवालाई पहाडको गुफामा बस्ने बुढो स्यालले आफ्नो आहारा बनाइसकेको थियो ।

हरेक पार्टीका शीर्ष मुखियाहरुले अहिले यही कथा आफ्ना अनुचरलाई सुनाउनुपर्ने अवस्था आएको छ । नेपाल मात्र विश्वको यस्तो देश हो, जहाँ बाउ विरुद्ध कुरा ओसार्ने कपुत एजेन्ट पनि पाइन्छ । यहाँ अलकायदा, बोकोहरामदेखि रत्नपार्कको मुकुन्देलाई खुशी पार्ने हुलाकी समेत छन् । लक्ष्मण खड्का, मुकुन्देहरु त सीसाको गिलासमा सोमरस खाने इमान्दार जड्याँहा हुन् । स्टीलको गिलासमा पानी खाएको नाटक गरेर ब्लु लेबल रित्याउने नेपाली जनताका भाग्य निर्माताहरुको कथा हजार जिब्रो भएको शेष नागले पनि लेख्न सक्दैन ।

३ करोड जनसंख्या र एउटा रात्रीबसले एकरातमा पुरै छिचोल्ने भूगोल भएको देशमा एउटा दल चलाउन सयौं संख्यामा केन्द्रीय कमिटी, अढाई लाख सरकारी फौज, सत्तरी हजार कर्मचारी, हजारौं जनप्रतिनिधि, सिंहदरबारदेखि ब्रम्हनालसम्म लाखौं झण्डे अखडामा लाखौं मानिसको संलग्नता छ । जंगलका जनावर र घरपालुवा पशुपन्छी अपवाद छोडेर बाँकी सवैलाई राजनीतिक दलको दास बनाइएको छ । यदि हावा किनेर बाँच्नुपर्ने भएको भए यो देशमा झण्डा र जीवन मध्य एउटा रोज्नुपर्ने हुन्थ्यो ।

देशका हरेक तह तप्काका मानिसमा व्यस्तता छ । ६ सम्माननीय राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष भालेको डाँकोदेखि नै साइरन गाडी अघि पछि लगाएर कुदेका कुदै छन् । संघीय मन्त्रीहरु, मुख्यमन्त्री, सांसद, जंगी, निजामती, व्यवसायी सवैलाई भ्याई नभ्याई छ । दर्जनौं मन्त्रालयका सचिव विहानदेखि बेलुकासम्म विभागीय प्रमुखहरुको भेला गरेर गाँठो फुकाउन व्यस्त छन् । विहानदेखि बेलुकासम्म बैठकले नपुगेर अब त कामसंग नभएर कागजसंग सम्झौता हुन थालेको छ ।

एउटा मन्त्रालयका मुखिया अर्को मन्त्रालयका मुखियाको फाइल अड्काउने दिन कुरेर बसेका छन् । पर्यटन मन्त्रालय विमानस्थल विस्तार गर्ने भन्छ, वन मन्त्रालय ‘हेरौं मेरो जंगल छुन दिन्न कहाँ बनाउँदो रहिछस ?’ भन्दै दारा किट्छ । अर्थमन्त्रालय बजेट महाशाखाका उपसचिव अरु मन्त्रालयका सचिवलाई विन्तीपत्र बनाउन पाउँदा दंगदास देखिन्छन् । राजश्व अन्तर्गतका कर्मचारीले दशैंमा बाआमाबाट हुलाकमा काम गर्ने अर्को सन्तानभन्दा अझ गहकिलो आशिष थाप्छन् । देशभरिका बन्दुकेको हाकिम हुन पाइने गृहमन्त्री र गृहसचिवका लागि हुने मल्ल युद्धको चर्चा गरेरै साध्य लाग्दैन । मन्त्रालयका सचिवको दिनचर्याको किस्सै अलग । बरु हिमालमा यति भेटिएला तर तिनलाई मन्त्रालयमा भेट्नुभयो भने त्यसदिन आफ्नो भाग्यलाई सलाम ठोके हुन्छ । आफू अनुकूलका काममा मन्त्री सन्काउने बाहेक अरु कर्म तिनीहरुको भाग्यमै लेखिएन । फौजका प्रमुखहरु बैठकमा रातदिन शान्तिसुरक्षा पेचिलो बनाउन लागेकै छन् । दलका माथिदेखि गाउँ इकाईसम्मका नेतालाई नयाँ नेपालको सपनाबाट ब्यूँझिने एकछिन फुर्सद छैन । केन्द्रमा यसखाले पानी परेपछि त क्षेत्र, जिल्लाले त सक्कल बमोजिम नक्कल अनुसारको छाता ओढ्न परिहाल्यो ।

सञ्चारक्षेत्रमा सूचनाको भलबाढी त कुरै गर्नुपरेन, युधिष्ठिरलाई जस्तै इच्छा मरणको उपहार समाचार शिल्पीहरुबाट प्राप्त हुनेछ । कुर्सी बसेका त व्यस्त भए नै, भूतपूर्वहरुमा पनि माटोसंगको उभार यसरी आयो कि उनीहरु पनि भूमिका खोज्न तल्लिन छन् । दर्जनौं पूर्व भीभीआईपी, हजारमाथि पूर्वमन्त्री, निजामती, जंगी, न्यायका पूर्व बर्दीधारीसमेत जुँगाअनुसारको भाग खोज्न लालायित देखिन्छन् ।
सडकमा हेर्नुस, एम्बुलेन्स जत्तिक्कै शबबाहनलाई हतारो छ । राजनीतिका नाममा जन्ती र मलामी हिँड्न अलग अलग बाटो खोज्ने प्रतिस्पर्धा छ । कसैलाई झुण्ड्याउन ठिक पार्नुस, छिचोली नसक्नु मानिसको भीड लाग्छ । फूलमाला, खादा, अभिनन्दनको कुरै छोडौं, आधा क्वीन्टलको माला धारण नगर्ने यो देशमा कुन ठूलो मान्छे होला र ? कुर्सी पाएका मानिसको आधा कार्यकाल खादा, माला र अविर लगाएरै सकिन्छ ।
नेपालमा पहिला पहिला मानिसहरु पशुपन्छी चराएर दूध, अन्न, फलफूल उब्जाउँथे । बाउबाट छोराले सुनसरह फल्ने नासो स्वरुप सुन्तलाको बगैंचा र टारीखेत उपहार पाउँथ्यो । अहिले मान्छेले भैंसी हैन, मान्छे चराउँछ । मान्छे जब मान्छे चराउन पल्किन्छ, उभित्र अरु भाव हराउँछ । एम्बुस थापेर मान्छे ढाल्नमा जस्तो आनन्द र आम्दानीको रस उसले केहीमा भेट्दैन । यही प्रतापले नै त अमेरिकामा बसेको नेपाली अमेरिकीसंग हैन आफ्नै बंशसंग डराउँछ । अरवी मालिकको जासुस भएर नेपालीले नेपालीकै घर खरानी बनाउँछ । भलिभाँती नेपाली नारीको संस्कार र अनुशासन बुझेकी केटी डिपेन्डेन्ट भिसामा लगिएको केटालाई विदेशी भूमिमा अलपत्र पार्छे ।

शास्त्रले व्यापार उत्तम, खेती मध्यम र नोकरीलाई अधम परिभाषित गरेपनि कलियुगमा भने पेशा जुनसुकै होस न, ठगी किस्मतको सूचिमा बढुवा भएको छ । सम्भवतः यही प्रवृत्ति सलहझै बढेका कारण कुअन्न मानिने कोदो, फापर, दाँत कोट्याउने बाँसको सिन्को समेत बाहिरबाट भित्र्याउनुपर्ने अवस्था आइपरेको हुनुपर्छ । जनै, नेपाली मात्ने छ्याङ समेत रेडिमेड पोकामा आउन थालेका छन् । महात्मा गान्धी, नेल्शन मण्डेला, देड सियाओ पिङ, मुहम्मद महाथिर, बिल गेट्स, मार्क जुकरवर्ग, डोनाल्ड ट्रम्प प्रकृतिले दिएको त्यही चौबीस घण्टा उपयोग गरेर पूज्य हुंदा हामी समयको कुन साईत कुर्दैछौं ? जसका घरमा अन्न छैन, उसैलाई बढी भोक लाग्छ रे ! समयले देश बनाउने होइन । देश बनाउन त तपस्या चाहिन्छ ।

मानिसले सुकर्मको रंग छर्‍यो भने समय आफैं इन्द्रेणी बनेर उपस्थित हुने हो । हलेदो रोपेर उखुको अपेक्षा गरियो भने त्यो आफूमाथिको अन्तरघात हो । इश्वरको संरचनामा कतै खोट छैन । मन्दिर, चर्च, मस्जिदलाई रोमनमा उल्था गरेर हेर्नुस, सबै ६ वटा अंग्रेजी अक्षरले बनेका छन् । गीता, बाईबल, चर्च अनुवाद गर्नुस, अक्षरका पाँच गेडा पाउनु हुनेछ । देश बनाउने शिल्पी कस्तो हुनुपर्छ ? पतिको शारीरिक कुरुपताप्रति तीब्र वितृष्णा भाव राख्ने मेरी टोड लिंकन कर्कश स्वभावकी थिइन् । विलासी जीवनको चाहना राख्थिन् । यस विपरित अब्राहम लिंकन शान्त, सादा, सरल र विनयी थिए । कतिसम्म भने स्प्रिंग फिल्डमा रहँदा उनले लिंकनको मुखमा तातो कफी मिल्काइदिएकी थिइन् । संसारको कुनै पनि मनुष्यले आफ्नो दाम्पत्य जीवन पीडादायी र कष्टकर बनोस् भनेर चाहेको हुँदैन । समाजका सामान्य मानिस मात्र होइन ख्यातीप्राप्त महामानवहरुको सोचाइ पनि यस्तै हुन्छ । तर शक्ति र सत्ताको राजकीय मर्यादाका कारण यी महान दम्पतिको पारिवारिक जीवन सदैव विषादपूर्ण रहृयो ।
भारतीय स्वतन्त्र संग्रामका महारथी महात्मा गान्धीकी श्रीमती कस्तुरबा गान्धीलाई एकसय चार ज्वरो आउँदा पनि वास्ता गर्दैनथे । विश्वविख्यात राजनेता मण्डेला जब सत्ताको सप्रभुताको सिंहासनमा बस्न पुगे दुखका दुष्कर यात्रामा साथ दिने पत्नी बिन्नीलाई त्याग नगरी धर पाएनन् ।

लोकतन्त्रको मातृभूमि मानिने बेलायती युवराज चार्ल्स र डायना परस्परमा छिन्नभिन्न हुनुपर्‍यो । माओत्सेतुङ व्यक्तिगत हैसियतमा अत्यन्त खर्च कम गर्थे । पुरानो कोट र खुइलिएको कमिज नफाटुञ्जेल लगाउँथे । सन् १९५८ तिर चिया र मासु महँगो ठानेर खानै छोडिदिए । तर श्रीमती बटुल्ने र सन्तान जन्माउनेमा यिनी लापर्वाह थिए । ४८ वर्षको उमेरमा २३ वर्ष कान्छी ज्वांगसंग चौथो घरजम गरे । उनको विलासी व्यवहार सम्झिनेहरु अहिले पनि नाक खुम्च्याउँछन । आफ्नो परस्त्री प्रतिको रुचिमा सुशीलाको गुनासो रहने गरेको स्वयं बीपीले उल्लेख गरेका छन् ।

अरु त अरु हरे किर्तनमा लागेकी श्रीमतीको व्यवहारबाट जीवनको उत्तरार्द्धमा देशको मन्त्री भइसकेका लक्ष्मीप्रसाद देवकोटा आजित थिए । त्यसबेलाका धर्मगुरु कबिप्रसाद गौतममाथि धर्मको आडमा समाज भाँडेको आरोप थियो । धर्म आवरणमा उनी महिलालाई जुठो ख्वाउने, खुट्टा ढोगाउने, खुट्टाको धुन लगाए पानी ख्वाउनेजस्ता काम गर्थे । एकातिर रोगी देवकोटा उपचार खर्च नपाएर थलिएका थिए भने अर्कातिर देवकोटा पत्नी मनदेवीमा यस्तो धार्मिक भूत चढेको थियो कि उनी लोग्नेको आँखा छलेर दहीको कतारोभित्र चाँदीको मोहोर लुकाएर गुरु पोस्ने गर्थिन् । यदि टाउको ओख्लीमा राखिन्छ भने मुसलको के नै भय हुन्छ र ? समाजमा अपराध बढेपछि गेरु वस्त्रधारीहरुको व्यापार पनि स्वतः बढ्छ । समय फेरियो, पात्र फेरियो तर शैली र प्रवृत्ति अहिले पनि उस्तै छ । जताततै कर्मवादीभन्दा भाग्यवादीहरुको उपस्थिति सघन बन्दै गएको छ ।***

तपाईको प्रतिक्रिया