शनिबार, माघ १४, २०७९
Saturday, January 28, 2023

विशिष्ट प्रकारको विलक्षण क्षमता भएको मानिस बाहेक औसत मानिसले एकै समयमा लिन सक्ने सामाजिक जिम्मेवारी भनेको एकजना ब्यक्तिले एउटै मात्र जिम्मेवारी हो । हाम्रो समाजमा भने, जति धेरैवटा जिम्मेवारी अर्थात बहुपद धारण गर्‍यो उति आफु स्मार्ट र ठूलो मान्छे भएको कहलिने सँस्कारले जबरजस्ती घर गर्दै छ । अझ बिदेशको कहालीलाग्दो ब्यस्तता आफ्नै ठाउँमा छ । यसप्रकारको संस्कारले हाम्रो जस्तो चेतनाको स्तर भएको समाजलाई न्याय गर्दैन । धेरैवटा भारी बोक्दैमा जिम्मेवारी पूरा हुँदैन बरु प्रभावकारी कार्यसम्पादन हुन नसकेको उदाहरणहरु हाम्रै वरिपरि थुप्रै छन् । जिम्मेवारी लिने तर पूरा गर्न नपर्ने अर्थात केही कामै गर्न नपर्ने भएपछि अनाहकमा कार्यकाल खेर जाने नै भयो । यसको सन्देश हुर्कदो पुस्ताका लागि पनि त राम्रो जाँदैन । चाहे जुनसुकै किन नहोस् बहु-पदलोलुपताको मोहद्वारा ग्रसित पदाधिकारी भएको संघसंस्थामा परिणाममुखी डेलिभरी हुने अपेक्षा गर्न सकिदैन । त्यसो भएको हुँदा महाधिवेशनको ब्यस्त सिजन चल्दै छ, आफ्नो संस्थाको अगुवा छान्दा यतातिर पनि ध्यान दिने हो कि ?

कुनै पनि पद वा ओहदाको जिम्मेवारीमा पुग्नु भनेको काम गर्नका लागि कारिन्दा चुनिनु हो । पहिले उसको जिम्मेवारी के हो त्यो काम पूरा गर्न दिनुपर्छ । अनि बल्ल उसलाई राम्रो काम गरेबापत सम्मान, कदर, तारिफ जे जे गर्न पर्ने हो गर्दा स्वभाविक होला । तर हामीकहाँ कुनै जिम्मेवार ओहदामा चुनिन पाएको हुँदैन मानौ ठूलो युद्ध नै जितेर आएजस्तो गरी महिनौसम्म खादा, माला, अबिरले सम्मान गर्न तँछाड र मछाड गर्ने गर्छौं, यसबाट प्रष्ट हुन्छ कि हामी बसेको समाजको अवस्था अझै कुन स्थितिबाट गुज्रदै छ अर्थात हामीले कस्तो समाज हुर्काउँदै छौं । कामै नगरी जता गयो उतै मान-सम्मान पाउने भएपछि कसले गर्छ काम ? यस प्रकारको सँस्कारले काम गर्नुपर्छ है भन्ने बोध धुमिल बनाउँछ । यदि हामी बसेको समाज सुधार होस भन्ने चाहान्छौं भने यसप्रकारको बेकारका ढोंगी प्रचलन हटाउँदै जानुपर्छ । हाम्रै वरिपरि रहेका अन्य राष्ट्रका समुदायमा यस प्रकारको अनावश्यक लोकाचार कहिँ कतै देखिदैन । उनीहरुबाट पनि हामीले केही सिक्ने हो कि ? यस सन्दर्भमा पनि समाजका जिम्मेवार अगुवाहरुको प्रभावकारी भूमिका अपेक्षित छ ।

यदि हामी समाज रुपान्तरणको पक्षमा छौं भने परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्छ । जो अगुवा उही बाटो हगुवा भएर नै नेपाली समाजले यथोचित गति लिन नसकेको तथ्य अब कसैबाट छिपेको छैन । जापान जस्तो शान्त, शालिन र सभ्य एवं समृद्ध समाजमा बस्दै गर्दा हामीले सिक्नैपर्ने अत्यन्त सामान्य तर महत्वपूर्ण जीवन जिउने कला मात्रै सिक्न सक्यौं भने पनि हामी आफ्नो घरपरिवार, टोलछिमेक र समाजलाई थप ब्यवस्थित गर्न ठूलो मदत पुग्न सक्छ । आफु बसेको सोसाइटीलाई उन्नत र चलायमान बनाउन क्षमता तथा दक्षता अभिबृद्धि, नेतृत्व उत्पादन, उद्यमशिलता तथा ब्यवसायिकता सम्बन्धि प्रेरणादायी प्रशिक्षण जस्ता कार्यक्रमहरु हुनु जरुरी छ । हामी जे छौं, जस्तो छौं, जहाँ छौं त्यही नै पर्याप्त छ भन्ने मानसिकता मै बस्यौं भने हामी आफुमा भएको वास्तविक क्षमता पनि चिन्न सक्दैनौ । यसले स्वयम ब्यक्तिको लागि मात्रै नभएर सिंगो समुदायलाई नै हानी पुर्‍याउँछ ।

जमेको तलाउमा लाग्ने भनेको लेउ मात्रै हो । चलायमान तलाउ जस्तै हाम्रो समाजलाई गतिशिल बनाउन अगुवाहरु सहि हुनुपर्छ अनि मात्र समयसापेक्ष दिगो कार्यक्रम तथा ठोस योजनाहरु सलबलाउँछन् । अगुवा छान्ने मामिलामा हामी नेपाली अझै अन्यौलमै छौ, स्पष्ट छैनौ । हामी बसेको समाजको चरित्र अनुसार नै प्रतिनिधी पात्र अगुवा छानिएर आउने हुन् । हरेक नागरिक ठीक हुँदा समाज ठीक हुन्छ, समाज ठीक हुँदा राष्ट्र नै ठीक हुने भएकोले हामी सबै जिम्मेवार नागरिक बन्ने आजै प्रण गरौं । घरदेश होस् या परदेश हामी बसेको समाज स्वतः सुधार हुन्छ ।***

तपाईको प्रतिक्रिया