काठमाडौँ – स्वतन्त्र प्रदेश सभा सांसद दीपक मनाङे (राजीव गुरुङ) लाई नेकपा एसले औपचारिक स्वागत गरेर पार्टीमा भित्र्याएको छ। पार्टी केन्द्रीय कार्यालयमा आयोजित औपचारिक समारोहमा गुरुङलाई नेकपा एसले स्वागत गरेको हो।
गुरुङलाई स्वागत गर्दै पार्टीका महासचिव डा. बेदुराम भुसालले गुरुङले पार्टीमा लागेर सकृय भएर खट्ने प्रतिबद्धता जनाएको बताए । उनले भने, ‘उहाँको विगतलाइ लिएर टिप्पणी हुन्छ्न् तर मान्छेको विगत, वर्तमान र भविष्य हेर्नुपर्छ। विगत बदलेर भविष्यमा सेवा गर्न नयाँ ढंगले काम गर्न खोज्नुभएको छ। मन्त्री भएर काम गर्नुभएको छ, उहाँबाट सिक्नुपर्छ।’
भुसालले विचार मिल्ने अरुलाई पनि स्वागत गर्न चाहेको बताए। नेकपा एस प्रवेश गरेका गुरुङले एक्लैले काम गर्न नसक्ने तथा आफ्ना नजिकका र सहयोग गर्ने युवाहरूसँग सल्लाह गरेर आएको बताए। उनले भने, ‘मुख्यमन्त्रीको अनुभव छैन। मलाई चाहिँदैन।’
उनले अब बन्ने नयाँ मन्त्रिपरिषद्मा आफूले दाबी नगर्ने, पार्टी अध्यक्षले गर्ने बताए। नेकपा एसमा प्रवेश गर्नुभयो, यहाँ के सिक्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा गुरुङले भने- ‘समाजबादी पार्टीबाट मैले के सिक्नु छ र म स्कुल आएको हो र?’ गुरुङले समाजबादीबाट अन्य दलमा जानुपर्ने अवस्था आए राजनीति नै छाड्ने पनि बताए।
दिपक मनाङे गण्डकी प्रदेशका खेलकुदमन्त्री तथा मनाङबाट निर्बाचित प्रदेश सभाका सांसद हुन्। कार्यक्रममा महासचिव बेदुराम भुसाल, उपमहासचिब गंगालाल तुलाधरलगायत अन्य नेता उपस्थित थिए । नेकपा एसका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल भने कार्यक्रममा उपस्थित थिएनन् ।