शनिबार, माघ १४, २०७९
Saturday, January 28, 2023

बाघले लखेट्न थालेपछि एउटा स्याल ज्यान बचाउन नजिकैको गुफामा लुकेछ । बाघ पनि के कम बल्ल बल्ल पाएको शिकार खोज्दै त्यही गुफा वरपर पुगेछ । त्यहाँ पुगेर यताउता हेर्छ त अहँ, स्याल कतै देखा पर्दैन । तैपनि उसले शिकार खोज्ने क्रमलाई निरन्तरता दिन छोडेन । यता गुफाभित्र पसेको स्याल सुरक्षित ठानी आफ्नै शरीर नियाल्दै निमग्न हुन थालेछ । उसलाई लागेछ- ‘मेरो आँखाको सहारामा म संसार हेर्न पाउँछु । मुखको भरमा जीवन निर्वाह गर्न सकेको छु । नाकको भरमा शत्रु, मित्र कहाँ लुकेका छन भनेर पत्ता लगाउँछु । कानको मद्दतमा सुन्छु । खुट्टाको भरमा आहारविहारको प्रबन्ध मिलाउँछु ।’ आफ्नो शरीरको हिसाव किताव मिलाउन मस्त उसको नजर पुच्छरमा परेपछि सोच्न थाल्यो- ‘जताबाट हेरेपनि यो मेरो पुच्छरको कुनै औचित्य छैन । न यसले मेरा लागि कुनै शिकार गर्न सहयोग गर्छ । न शत्रुबाट बचाउन सहयोगी हुन्छ । ताईं न तुइंसंग टाँसिएको यसले बरु शरीरको सौन्दर्य बिगार्ने काम मात्र गरेको छ ।’ मनभित्रको आत्मालापपछि निर्णय लिँदै आफ्नो स्यालले आँखा, नाक, खुट्टा, कान सबैलाई ज्यान दाउमा राखेरै भएपनि बचाएर राख्ने तर काम नलाग्ने पुच्छरको सुरक्षामा ध्यान नदिने रणनीति लियो । आफ्ना सम्पूर्ण अवयव ओडारमा सुरक्षित राखेको स्यालले पुच्छरलाई भने गुफा बाहिर छोडिदियो । शिकार एकलव्य रहेको छट्टू बाघले स्यालको पुच्छर देखिहाल्यो । अनि त्यही पुच्छर जोड जोडका साथ घिसार्दै बाघले स्याललाई गुफा बाहिर ल्याएर मीठो आहारा बनायो ।

पाँच वर्षसम्म स्यालको पुच्छर झैं भएका मतदाता एकदिन जनार्दन हुन पाउँदा कस्तो निर्णय गर्दा रहेछन भन्ने नेताहरुलाई यो चुनावपछि हेक्का भएको हुनुपर्छ । पर्खिन मात्र सक्नुपर्छ दिन सबैको आउँछ । गल्लीमा मिल्किएको कुकुर तिहारको एकदिन नै किन नहोस, माला लगाउने हैसियतमा पुग्छ । कसैको माया नपाउने जबर्जस्त पन्छी कागलाई त्यही मेसोमा मिठो मसिनो छुट्याइन्छ । अरुबेला घरेलु एम्बुस थापिने बैगुनी मुसो गणेशको पाउमुनि परेका बखत ढोग खान्छ । महादेवको घाँटीमा बेरिएको सर्पको हुँकार त बयान नै हुँदैन । अरु त अरु काटिन लागेको बोकाले पनि छिनभरका लागि पूजा पाउँछ । अरु दिन मान्छेको कोटीमा नराखिएका मतदाता एकदिन राजहाँस भएर मुद्दा छिन्ने न्यायाधीश हुन्छन् । हुन त कागभन्दा कोइली चंख भन्ने आहान छ । तर हाम्रो देशका नेता कागको फूल चोरेर अम्लेठ बनाएपछि कागलाई बेचेर हुर्मत लिने क्षमताका छन् । जुनसुकै मौसममा नेताहरुको दम्भ सय डिग्री तापक्रमको औसतमा रहनुको कारण यही हो । राजनीतिशास्त्रले भन्छ- जनता गलत हुँदैन । नेपालीको मनोविज्ञान जाँच्दा नासाका वैज्ञानिक नै असफल हुने खतरा छ । कोही वडा सदस्यमा चुनिएको हुँदैन, तिनका भजनमण्डली आधा क्वीन्टलको फूलको माला लिएर मैदानमा उत्रिहाल्छन् । फूल नफुल्ने मनाङ, मुस्ताङ नेताले पाइला टेक्नासाथ भारत र चीनबाट ल्याइएका माला-खादाको पहिरोले राष्ट्रियता पुर्छ । स्कुले भुरालाई पुस्तक, जनतालाई सिटामोल, सुत्केरीलाई उपचार, किशोरीलाई प्याड, पखाला लागेकालाई जीवनजल र कृषकलाई मल नपुगेका ठाउँमा वियर, भोडका, चाउचाउ वर्ष दिनका लागि स्टोर भएको हुन्छ । आफू सत्तामा पुग्ने मेसो मानिने चुनावका हरेक गतिविधि २४ घण्टामा तमाम गर्न सक्ने यही संयन्त्र जनसेवाका हकमा कुम्भकर्ण बन्छ । चुनाव जित्ने उन्मादमा त ठीकै होला तर कैद भुक्तान गरेर निस्किएको, राज्यले अपराधी घोषित गरेको मानिस समेत राजनीतिक कलेवरमा विश्व बिजेता बनेर प्रकट हुन्छ ।

विमानघाटदेखि आर्यघाटसम्म ठूला मानिसका ठेलमठेल छ । भनिन्छ- समुद्र, मसानघाट, तृष्णा र मान्छेको मन कहिल्यै भरिदैन । राजनीति यस्तो गज्जब जागिर भएको छ कि नाना, खाना र छानाको प्रबन्ध त्यही शब्दको प्रतापले तमाम गरिदिन्छ । राजनीति गर्नेका लागि नेपाल भूमि नै एउटा डिलक्स अतिथि गृह हो । आरोप हैन, जेलमा रहेका रेशम चौधरीले बाउ, पत्नी र दुई भाइलाई एकैपटक सांसदको जागिर दिलाए । विश्वमा खुँखार कथा शिल्प उनेर सिनेमा बनाउने बलिउडका शिल्पी यहाँको सामाजिक कथा वस्तु सुने भने तीन छक्क पर्छन होला । हामीले जीवन पाएको माटो र हामीले निर्वाह गरेको भूमिका दुवैमा छारस्ट संशय छन् । असल हुने भन्दा, असल देखिने प्रतिस्पर्धा छ । पुजारीमा भगवान पुजेर नभई मूर्ति बेचेर धनी हुने चाह अधिक छ । देशका ठूलाभन्दा ठूला मुखियालाई संविधान प्रदत्त अधिकारभन्दा जग्गा दलाली, बालुवाको ठेकेदारी, हाइड्रोको कमिसनमा चाख छ ।

विकासे मोडलको सन्दर्भ हेरौं त । एउटा संस्था आउँछ तरकारी लगाउनुस भन्दै बीउ दिन्छ । हामी त्यसै गर्छौ । अर्को संस्था आएर चल्ला दिन्छौ, कुखुरा पाल्नुस भन्यो, हामीले आँखा चिम्लिएर अर्‍हाएको मान्यौं । यति गरी भ्याउँदा नभ्याउँदै अर्को दाता आएर विरुवा हातमा थमाउँदै बृक्षारोपण गर्न हौस्यायो, जनताले अक्षरशः उर्दीको पालना गरे । परिणाम के आयो भने लगाएको तरकारी कुखुराले खायो । बन जंगल बढेपछि स्यालले पालेका कुखुरा सखाप पारे । स्याल बढेपछि चौपाया जोगाउन जंगलमा आगो लगाइयो । अन्तत न तरकारी, न कुखुरा, न बनजंगल हाम्रा सपना बाहेक अरु सबै खरानी भए । अब त गमलामा रोपेको सागसब्जीमा समृद्धिको सपना खुम्चिन थालेको छ । दशकौं देखि विकासको मोडल मिलको फित्ता झैं एकै ठाउँ घुमिरहेका छन् । जीवन चलेको त छ, तर त्यसले यात्रा तय गर्न सकेको छैन ।

राजनीतिको छक्का पन्जाले कर्तव्य बाहेक सबै सिकाएको छ । पहिला पहिला अपराध कानून छलेर गरिन्थ्यो, अहिले सटर खोलेर ज्योतिषका परामर्शमा त्यस्ता कर्म तमाम गरिन्छ । सडकमा चुनाव जित्ने र हार्नेको उत्तिक्कै हुँकार छ । चुनावको मत परिणाम आइसकेको छैन, प्रधानमन्त्रीका लागि बैना मार्नेको बिगबिगी सम्हाली साध्य छैन । घोषणापत्रमा ढुकुटी रित्याउने प्रतिस्पर्धामा उत्रिएका दलका नेताहरु पैसा उत्पादन गर्ने बाटोका बारेमा बेखबर छन् । सत्तामा हुनेदेखि साना घिसिपिटी दलका स्वघोषित नेताहरुसम्म आँधीबेहरी ल्याउने बाहेक अन्य कुरै गर्दैनन् । पाँच वर्ष ढुंगाको अक्षरजस्तो आयु पाएको सरकार सधै आयाराम-गयारामको आतंकबाट त्रसित छ । आयाराम र गयारामको बाक्लो बहस हुनु भनेको हुने गरेका काममा पूर्णविराम लाग्नु हो । संसारमा बनेका साँचो सज्जनका लागि हो । नियम कानून र संविधानका ठेली जतिसुकै आकर्षक बनाए पनि त्यसको सौन्दर्य त्यसको पालनामा हुन्छ । लैनो गाईको फाँचोमा पुगेपनि किर्नोले खाने रगत नै हो, दूध हैन । कानून मान्ने र नमान्नेको भिन्नता पनि यही नै हो । प्रायः मानिस टाकुरा चढ्ने सपना त देख्छन् तर घर अगाडिको तगारो नाघी अघि बढ्ने हिम्मत गर्न सक्दैनन् । हामी गर्वका साथ भन्दैछौं- चुनावसंगै नयाँ युगमा प्रवेश गर्‍यौं । तर यस युगको अन्तिम सीमा अन्तरिक्ष नभएर मानव मस्तिष्क हो भन्ने सत्य हेक्का राख्दैनौं । शास्त्र भन्छ- क्रोधले बुद्धि, अहंकारले ज्ञान, चिन्ताले आयु, लोभले इमान, घुसले इन्साफ, प्रायश्चितले पाप, याचनाले स्वाभिमान र अकर्मण्यताले भविष्य सिध्याउँछ । त्यसैले अरुका लागि हैन, आफ्नै अन्तरचक्षुको अग्निपरीक्षामा खरो उत्रिनेहरु कहिल्यै पराजय हुँदैनन् । संविधानका हकमा पनि यो सत्य पूरापूर लागू हुन्छ ।

ऋग्वेदमा भनिएको छ- ‘असत्यमा सत्य स्थापित छ ।’ कहिल्यै ननासिने शास्त्रीय आत्मालाई विज्ञानले इलेक्ट्रोन, प्रोटोन र न्युट्रनको नाम दिएको छ । इलेक्ट्रोन कहिल्यै नास हुँदैन । आत्माजस्तै इलेक्ट्रोन शाश्वत एवं पुरातन छन् । आत्मा र परमात्माबीच घनिष्ट सम्बन्ध हुनाले इलेक्ट्रोनकै माध्यमबाट वैज्ञानिक जगत पनि परमात्मासम्म पुग्न सक्ने आशा गर्दछ । मानिसको आहार विहार तीन प्रकारको हुन्छ भन्दै गीताले आहारको प्रभाव मानिसको मनमस्तिष्कमा पर्ने विश्वास प्रकट गरेको छ । आहारलाई सात्विक, राजसिक र तामसिक भनेर तीन श्रेणीमा विभिाजन गरिएको छ । सात्विक आहारबाट मानिसमा सद्गुणको वृद्धि हुने, तामसिक आहारबाट मानिसमा तमोगुण बढेर दुष्कर्मतिर प्रवृत्त हुने जीव हत्या गरेर पाइने मासुलाई तामस आहार भनिएको छ । यस्तो आहारबाट मानिसमा आसुरी गुण उत्पन्न भई यसले मानिसलाई निर्दयी, निष्ठुर र क्रूर बनाई दुष्कर्मतिर धकेल्छ ।

पत्याउनुहुन्छ – मानिसको शरीरमा पानीबाहेक २२ सय सलाईको काँटी बनाउन पुग्ने फस्फोरस, सल्फर र २५ मिमि नङ तयार पार्न पुग्ने आइरन र ३० ग्राम अन्य धातु हुन्छ । मानिसको फोक्सोमा तीन क्यापिलरिज (अत्यन्तै साना रक्तनली) हुन्छन् , जसलाई फैल्याउँदा त्यसको लम्बाई २४ सय किलोमिटर हुन्छ । तर के गर्नु शरीरमा आगो छ भनेर ताप्न त नमिल्ने रहेछ । मुलुक अन्धकार छ भनेर त्यसलाई बिजुलीको तार बनाउन नसकिने रहेछ । नीतिले भन्छ- ‘जो राजषि बनी देशको सेवा गर्छ उसले गिद्धको जस्तो दृष्टि, सिंहको जस्तो साहस, इन्द्रियमा अनुशासन, रहस्य लुकाउने क्षमताजस्ता गुणहरु आफूमा सुरक्षित राख्नु आवश्यक छ ।’ प्रकृतिले मानिसको शरीरलाई यस्तो चमत्कारयुक्त बनाएको छ, जसका अगाडि संसारका सवै वस्तु रंगहीन ठहर्छन् ।

चाणक्यले मानिसको नैतिक साहसको मूल्य बताउँदै भनेका छन्- ‘ठूला महापुरुष आफ्ना आचार विचारमा सदैव दृढ रहन्छन् । जब कि युगको अन्त्यमा सुमेरु पर्वतले पनि आफ्नो ठाउँ छोड्छ । कल्प समाप्त भएपछि समुद्रमा पानीले आफ्नो सीमा नाघ्दछ र पृथ्वीलाई जलमग्न बनाइदिन्छ । तर सज्जनले आफ्नो सच्चाइ र परोपकारको बाटो कहिल्यै पनि छोड्दैन् ।’ राजधानीको पानीले कसलाई कहाँ पुर्‍यायो थाहा छैन । तर धरहराभन्दा अग्लो घर नबनेपछि त्यही धरहरा निर्विवाद अग्लो हुने रहेछ । तीन सय वर्षअघि काठमाडौको मनोविज्ञान अर्थ्याउँदै पृथ्वीनारायण शाहले त्यतिबेलै भनेका थिए- ‘यो तीन सहर भन्याकोचिस्व ढुंगो रहेछ, षेलषाल मात्रै ठूलो रहेछ, कुपको पानी षान्याछेउ बुधि पनि हुदैन, सुरो पनि हुदैन, षेलखाल मात्र रहेछ, मेरो मनसुबा त दहचोकमा दरबार बनाउला र चारै दिसा थरघरको गुरु प्रोहित भैयाद भारादार मिर उमराउको घर बनाई छुट्टा दरबार बनाउला र इ तिन सहरमा ता दरबारबाट स्वषसयल्लाई मात्रै जाला भन्या यस्तो अविलाष थियो ।’

नेपालको विकास किन भएन – धेरैका धेरै तर्क होलान । तर मेरो ब्रम्हले भन्छ- देशको चिन्ता गर्दागर्दै आफ्नो कर्तव्य बिर्सिनेहरुको लाभाले देश सुरुंगतर्फ प्रवेश गरेको हो । हाम्रोमा राजनीतिले सुशासनको बीउ रोप्न सकेन । कानून सोझाका लागि फस्ने र छट्टूका लागि उम्किने माध्यम बन्यो । फलस्वरुप परपीडा यसरी पन्पिएर गयो कि रक्सीको सामान्य नशाको तलतल मार्न आलुको भाउमा मृगौला बेच्नेहरु बढे । जस्ता पाताको छानो लाउने लोभमा छोरीचेलीको लर्को वेश्यालयतर्फ लाग्दा कुनै माईतीको चित्त काटिएन । १६ वर्ष पुगेको भोलिपल्ट ‘वीर गोरखाली युवा’ को परिचय खाडीमा उँटको लिदी सोर्ने काममा अनुवाद हुँदा युवाको खाँचो देशले महशुस गरेन । हजार विदेश जाने क्रमसंगै दर्जन शब बाकसमा फर्कदा कसैको मन द्रवित हुँदैन । स्वदेशमा बनिने नाममा विदेशमा पैसा तान्ने कोक, फ्यान्टाका उत्पादनमा ताली पड्काउने नेपालीहरु आफ्नै माटोका उत्पादनमा आग्लो लाग्दा भोज खान तत्पर देखिए । मुलुकको राजनीति अँगार धोएर सुकिलो बनाउने कुकर्ममा अल्मलिरहृयो । संसार युरेनियमले उज्यालो बनाउने अभियानमा अघि बढिरहँदा असारे भेललाई हेरेर मेघावाटका सपनाबाट हामी व्युँझन सकेनौं । क्यासिनोको दाउले काम गर्न छोडेपछि कथित सुकिला-मुकिलाहरु सिंहदरवारलाई अल्मल्याएर खोलाको पानीमा दाउ हान्न तम्सिएका छन् । जमिन ओगटेको नपुगेर खोलाको पानीमा ‘ताजमहल’को बल्छी फ्याँकेर आर्जनका नयाँ नयाँ अस्त्र धारण गरिरहेका छन् । सिंहदरबार पसेका बीपी, जीपी, केपीदेखि पीकेसम्मलाई स्वागत र अभिनन्दनका नाममा चढाइएका फूलमालाभित्र छिरेका स्वार्थी झुसिलकिराले भुत्ते पारिदिए । देश पुलिस नभएर पोलिसीले चल्छ भन्ने सत्य कसैले आत्मसात् गर्न सकेनन् ।

राजनीतिक नेतृत्वले ढुक्क भए हुन्छ- समस्या राउटे, चेपाङ, कुसुण्डा बस्तीमा छैन । समस्या त समस्यालाई सधैं समस्या देखेर हात हाल्न हिम्मत नगर्ने सोचमा छ । नेचर, कल्चर र सिग्नेचर फेर्न नमान्ने संस्कारमा छ । कितावी ज्ञानमा क्रान्ति र प्लास्टिकको फूलमा पराग खोज्नु एउटै हो । देश सप्रिन दलको अध्यक्ष म्यानेजर र दल प्रालिबाट माथि उठ्न जरुरी छ । अब पनि नचेत्ने हो भने अन्नको रासमा पुगेर भोकको गीत गाउने नियति दोहोरिने पक्का छ ।***

 

 

 

तपाईको प्रतिक्रिया