काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। बिहीबार साँझ भएको भेटघाटमा दुवै जनाले शुभकामना साटासाटसँगै संघ र मधेश प्रदेशमा सरकार गठनका विषयमा छलफल गरेका छन्। प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुने प्रस्ताव गरेका छन्।
त्यसमा अध्यक्ष राउतले सकारात्मक प्रतिक्रिया दिएको जनमत पार्टीका एक केन्द्रीय सदस्यले बताए । “प्रधानमन्त्रीजीले सहकार्यको प्रस्ताव गरेपछि अध्यक्ष राउतले किसान आन्दोलनका माग, नागरिकता विधेयक र रोजगारी सिर्जना गर्ने लगायतका अजेन्डा उठाउनु भयो। यी अजेन्डा पूरा हुने भनेपछि सहकार्य गर्न सकारात्मक रहेको छौं भन्नु भयो,” ती केन्द्रीय सदस्यले भने।
जनमत पार्टीको माग सम्बोधन हुने अवस्थामा जनमत पार्टी सत्ता गठबन्धनसँग सहकार्य गर्न सकारात्मक रहेको जनाइएको छ। आज पहिलो चरणको छलफल भए पनि कुनै निर्णयमा पुगिएको छैन।