काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । बुधबार करिब साढे ३ अंकले बढेको नेप्से आज ११.२२ अंकले बढेको छ । यस दिन ०.५८ प्रतिशतले बढेर एक हजार ९६१.०६ को विन्दुमा पुगेको छ । बिहीबार कारोबार रकम पनि बढेको छ । बुधबार ८४ करोड २६ लाखको कारोबार भएको थियो । आज एक अर्ब ३२ करोड २९ लाख ७२ हजार १८५ रुपैयाँ बराबरको कारोबार भएको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा ४८ करोड दुई लाखले बढेको हो ।
यस दिन २४१ धितोपत्रको ३८ लाख ६५ हजार ९६१ कित्ता सेयर किनबेच भएको छ । बिहीबार सेन्सेटिभ इन्डेक्स पनि ०.४८ प्रतिशतले बढेको छ । यस दिन १३ उपसमूहमध्ये १० उपसमूहको समूहगत सूचक बढेको छ । जीवन बिमा समूहको सर्वाधिक १.२८ प्रतिशतले समूहगत सूचक बढेको छ ।
आज निर्जीवन बिमा समूहको ०.२० प्रतिशतले घटेको छ । यस दिन धौलागिरि लघु वित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेर बन्द भएको छ । सिटिजन म्युचुअल फन्ड १ को सेयर मूल्य सर्वाधिक ३.६४ प्रतिशतले घटेको छ ।