मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडौं – यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा कायमै छ । एमालेले २५ लाख ३४ हजार ३२३ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २३ लाख ९९ हजार ८३१ मत ल्याएको छ ।

तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६३ हजार ७१८ मत प्राप्त गरेको छ । नेकपा (माओवादी केन्द्र) चौथो स्थानमा छ । माओवादी केन्द्रले १० लाख ६२ हजार ७४७ मत ल्याएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँच लाख ४५ हजार ६५६ मतसहित पाँचौं, जनता समाजवादी पार्टी (जसपा) तीन लाख २६ हजार ३७२ मत पाउँदै छैटौं स्थानमा छ ।

जनमत पार्टी दुई लाख ६२ हजार ८२६ मतसहित सातौँ, नेकपा (एकीकृत समाजवादी) दुई लाख ५२ हजार २७ मतसहित आठौं, नागरिक उन्मुक्ति पार्टी दुई लाख ३७ हजार ९६२ मत पाउँदै नवौं, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक लाख २७ हजार ९१८ मतसहित १०औं स्थानमा छ । अरू पार्टीले एक लाखभन्दा कम मत पाएका छन् ।

प्रतिनिधिसभा समानुपातिकतर्फ अहिलेसम्मको परिणामअनुसार ६ पार्टी राष्ट्रिय दल बन्ने पक्का भइसकेको छ । राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कम्तीमा एउटा सिट जितेर समानुपातिकमा कूल सदर मतको ३ प्रतिशत मत (थ्रेसहोल्ड) कटाउनु पर्ने प्रावधान छ ।

निर्वाचन आयोगका अनुसार कूल मतदाता १ करोड ७९ लाख ८८ हजार ५७० रहेकामा यसको ६१ प्रतिशत अर्थात् १ करोड ९ लाख ७० हजार आसपास मत खसेको छ भने अहिलेसम्मको गणनाअनुसार ३ लाख मत बदर भएको आंकलन छ । अहिलेसम्मको हिसाबले कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन आउँछ । यसको ३ प्रतिशत ३ लाख २० हजार हुन्छ ।

यस आधारमा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) राष्ट्रिय दल बन्ने निश्चित भइसकेको हो । यसबीच सत्ता गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी पनि थ्रेसहोल्ड कटाउन संघर्षरत छ ।

तपाईको प्रतिक्रिया