शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौँ – फिफा विश्वकप अन्तर्गत आज राति सम्पन्न खेलमा स्पेन र जर्मनी बराबरीमा रोकिएका छन्। अब बायत स्टेडियममा सम्पन्न खेलमा समूह ‘ई’ को खेलमा सब्सिच्युड खेलाडीका रुपमा मैदान पसेका निक्लास फुलक्रुगले अन्तिम समयमा गोल फर्काउँदा जर्मनी हारबाट जोगिएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ६२ औं मिनेटमा अल्भारो मोराटाको गोलमा स्पेनले अग्रता बनाएको थियो। तर, सब्सिच्युड खेलाडीका रुपमा थोमस मुलरको स्थानमा ७० औं मिनेटमा मैदान प्रवेश गरेका फुलक्रुगले ८३ औं मिनेटमा जमल मुसिआलाको पासमा गोल फर्काउँदा अधिकांस समय खेलमा पकड बनाएको स्पेन जर्मनीसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

विश्वकपमा स्पेनले कोस्टारिकामाथि ७-० गोलको फराकिलो जित निकाल्दै सानदार सुरुवात गरेको थियो भने जर्मनीले आफ्नो पहिलो खेलमै एसियाली राष्ट्र जापानसँग २-१ गोलको अप्रत्यासित हार ब्यहोरेको थियो। आइतवार नै सम्पन्न यही समूहको अर्को खेलमा जापान कोस्टारिकासँग १-० गोलअन्तरले पराजित भएको थियो।

यस्तै, समूह ‘एफ’ का खेलमा मोरक्को र क्रोएसिया विजयी भएका छन् । मोरक्कोले बेल्जियमलाई २ –० गोल अन्तरले पराजित गर्यो भने क्रोएसियाले क्यानडालाई ४ –१ गोल अन्तरले हराएको छ । जितपछि ४ अङ्क जोड्दै क्रोएसिया समूहको शीर्ष स्थानमा उक्लिएको छ । क्यानडाको यो लगातार दोस्रो हार हो । अङ्कविहीन क्यानडा समूहचरणबाट बाहिरिएकाे छ  । ४ अङ्क नै जोडेको मोरक्को दोस्रो र बेल्जियम तेस्रो स्थानमा छन् ।

 

तपाईको प्रतिक्रिया