शनिबार, माघ १४, २०७९
Saturday, January 28, 2023

एक पटक एउटा चित्रकारले निकै सुन्दर चित्र बनायो । आफूले बनाएको चित्र बाटोमा राखेर मानिसको सुझाव संकलन गर्ने निधो गरेर लेख्यो-‘यो चित्रमा नमिलेको ठाउँमा गोलो चिन्ह लगाउनु होला ।’ आफ्नो चित्रमाथि मानिसले के कस्तो प्रतिक्रिया दिए भनेर साँझपख हेर्न जाँदा देख्छ त उस्को चित्र चिन्नै नसकिने गरी गोलो गोलो रंगले सर्बत्र कोरिएको थियो । उदास भएर घर फर्किन लाग्दा यो दृश्य नजिकबाट नियालिरहेका एक बृद्धले चित्रकारलाई ढाडस दिँदै भोलि पनि त्यो चित्रको अर्को प्रति त्यसैगरी बाटोमा राख्न सुझाव दिए । उनले त्यसमा भाषा सच्याउँदै लेख्न लगाए – ‘यो चित्रमा नमिलेको ठाउँमा जो कसैले मिलाई दिनुभए कृतज्ञ हुने थिएँ ।’ बृद्ध मानिसको सुझावअनुसार चित्रकारले सन्देश लेखेर बाटोमा राखिदिए । चित्र लिन जाँदा आश्चर्य त्यो चित्र जस्ताको तस्तै थियो । यो दृश्य देखाउँदै बृद्धले सम्झाए- ‘देख्यौ नि संसारमा गल्ती त सबैले औंल्याउँछन् तर गल्ती सच्याउने कोही हुँदैनन् ।’

०७ सालको क्रान्ति सफल भएपछि सात दशक बढी समय धैर्य गर्दा पनि नेपाली जनताले दुख बढार्ने कुचो अझै भेटेनन् । राणा, राजा मिल्काएपछि सुदिन शुरु हुने नेताहरुको आश्वासन उनीहरुकै लागि फलिफाप भयो । जनता सिंढीमा सीमित भए । नेताहरुले गुमेको नेपाली भूमि फिर्ता ल्याउने प्रण त गरे तर सिंहदरबारको चौकोस नाघेर बाहिरिने जाँगर कसैमा देखिएन । संघीयता आएपछि तलसम्म शक्ति फैलिन्छ, राज्य सत्तामा जनताको पहुँच बढ्छ भन्ने आदर्श मिथ्या सावित भयो । बरु काठमाडौं बाहिरको स्रोत, साधन र सामर्थ्य निचोरेर काठमाडौंलाई धाक, रवाफ र बैभको शो रुम बनाउने प्रतिस्पर्धालाई नेताहरुले नै मलजल गरे । राणाले बनाइदिएको घरका भित्तोमा यताउता गर्नमै गणतन्त्रका नेताहरुको डेढ दशक समय स्वाहा भयो । राणा, राजाले चढेका गाडीघोडा र फौजीलाई पछौटे बनाएर आत्मरतिको इतिहासलाई नेताहरुले आफ्नो जीवनमा हुबहु उतारे । त्यतिमात्रै त जनताले सहेकै थिए तर राजनीतिलाई सटर नै खोलेर गठबन्धनका नाममा संगठित अपराध गर्ने प्रपञ्चलाई जनताले अनुमोदन गरेकै थिए । तर राणाझैं गर्भमा रहेका सन्तानलाई पद बाँड्नेसम्मको भद्दा शैली पछ्याउने क्रम बढ्दा आलोचना शुरु भयो । स्टीलको गिलासमा लुकाएर मदिरा पिउने पाखण्डपूर्ण बठ्याइँ नयाँ पुस्ताको नजरमा पच्न छोड्यो । आफ्नो छोराको जवानी पैचो लिएर भोगविलासमा रमाउने धार्मिक पात्र यायाति ऋषिको अवतार जनताले नेताको तस्वीरमा देख्न थाले ।

विगत तीन दशकदेखि विश्व राजनीतिमा थुप्रै राजनीतिक खेलाडी फेरिए । सतहमा देखिएका कुनै नेता त्यसबेला राजनीतिक रिङभित्र थिएनन् । शेरबहादुर देउवा तीन दशकअघि गृहमन्त्री हुँदा नरेन्द्र मोदी, सी जिनपिङ, भ्लादिमिर पुटिन, जो बाईडेनजस्ता शक्ति राष्ट्रका सारथीको छायाँ पनि सतहमा देखिएन, थिएन । अब त सात वर्षअघि राजनीतिमा आएका ऋषि सनकले लोकतन्त्रको जननी बेलायतको कार्यकारी नेतृत्व लिइसकेका छन् । तर नेपालमा भिजन हैन, चुनावमा एकदिन भोजन गराउने त्यही मानसिकताले एकछत्र राज गरिरहेको छ । अरु त अरु विश्व फुटबल कप कतारमा हुँदैछ । पाँच वर्षअघि रसियामा खेलेका थुप्रै खेलाडी पाखा लागिसकेका छन् । यहाँ दशकौंदेखि नेपालका राजनीतिमा पात्र, प्रवृत्ति उही छ । ७० माथिका नेताबाट देशको भविष्य खोज्नुपर्ने विडम्बनापूर्ण नियतिको पात्र बन्न नेपाली जनता बाध्य छन् । बरु पाँचपटक विना उपलब्धिको मुलुकको कार्यकारी बनिसकेका शेरबहादुर देउवा छैटौं पटक प्रधानमन्त्रीका लागि घिस्रिरहेका छन् ।

नेताले थर फेरे, गाडी र घर फेरे, किड्नी फेरे, गलैंचा फेरे, आस्था र स्वाभिमान फेरे, नियत र औकात फेरे, जवाफदेहीता र बफादारी फेरे । जनताले मत फेरेनन् । जस्तोसुकै प्रतिकूल परिस्थितिमा कन्यादान छोडेर मतदानको लाइनमा उभिए । देश बनाउन मतमार्फत म्यानेजर बनाएका नेताहरु खजान्चीभन्दा माथि उठेनन् । नारामा तीन करोड जनताको व्यवस्थापन गर्ने संकल्प गरेपनि परिवार र झोला बोक्नेहरुको स्वार्थ समूह उनीहरुमाथि हावी बन्दै गयो । दलहरुले चुनावमा मतदाता रिझाउन ल्याएको घोषणापत्र हेर्दा लाग्छ – नेपालमा हुनुपर्ने र गर्नुपर्ने काम केही बाँकी छैन । तर ब्रम्हनालसम्म फैलिएको व्यभिचारको जालोप्रति कसैको ध्यान गएको छैन । अहिले सबैभन्दा बढी नेपालीको भीड हेर्नुपर्‍यो भने विमानस्थल जानुपर्छ । जाउलो जुटाउन स्वेच्छिक बेचविखन स्वीकार्दै महिला विदेशिएका छन् । बाउआमाको आशिर्वाद लिने दशैंको अघिल्लो दिन युवा परदेश हानिएका छन् । पाँच वर्षको एकपटक आउने मतदानको तिथि छलेर युवाहरु वाक्क, दिक्क हुँदै थातथलो छोडिरहेका छन् ।
एक पटक सबै गाउँलेले पानीको लागि प्रार्थना गर्ने निर्णय गरे । प्रार्थनाका दिन सबै मानिस भेला भए । त्यही मध्येको एउटा केटो छाता लिएर आयो । त्यो हो विश्वास । जब तपाईले बच्चालाई हावामा फ्याँक्नुहुन्छ, ऊ हाँस्छ किनभने उसलाई थाहा छ कि तपाईले उसलाई समात्नु हुनेछ । त्यो हो भरोसा । हरेक रात हामी ओछ्यानमा जान्छौं, भोलिपल्ट विहान जीवित हुने कुनै आश्वासन विना तर हामी उठ्नका लागि आलार्म सेट गर्र्छौं । त्यो हो आशा । पूर्व पश्चिमदेखि पश्चिम महाकालीसम्मका जनताले दशकौंदेखि सँधै राजनीति र उम्मेदवारलाई आशा, भरोसा र विश्वास दिए । तर विश्वास दिएकै दिन उनीहरुमाथि त्यही विश्वासले निर्लज्ज शासन गर्‍यो । चुनावको नर्सरीमा नेताको व्यभिचार फस्टाउँदा लोकतन्त्र कुपोषित बन्यो । हामीले यस्तो लोकतन्त्र ल्यायौं कि जनताको समृद्धिमा खर्च गर्न राज्यकोषबाट छुट्याइएको सय रुपियाँमा १५ रुपियाँमाथि खर्च गर्ने सामर्थ्य कहिल्यै बढेन । हरेक नेपालीका हातमा सिमकार्ड त थमाइयो तर रिचार्ज गर्ने आम्दानीको बाटो देखाइएन । प्रत्येक नेपालीका चाहाना थियो- चुलोमा नेता, धुलोमा नेता, दैलोमा नेता, मैलोमा नेता, मेलामा नेता, ठेलामा नेता, गोठमा नेता, मोठमा नेता, जाँतोमा नेता, हातोमा नेता, अँधेरीमा नेता, पँधेरीमा नेता भेटियोस् तर अहँ, कहिल्यै त्यस्तो भएन ।

मान्छे अनुहार होइन, व्यवहारले चिनिन्छ । सौन्दर्य नभई मानिसभित्र इमानको सामर्थ्य देखिनुपर्छ । यहाँको राजनीति न सुन, न नून, न गुन, न जीवनको धूनसंग सुहायो । महान सोच भएका मानिस ज्ञान विज्ञान, मध्यम सोच भएका विषयवस्तु र नीच सोच भएकाहरु अरुको कुरा काट्नमा रमाउँछन् । त्यसैले त भनिन्छ – आशावादी मानिस जहाज उडाउँछ, निरासावादी प्यारासुट उडाउन सोख राख्छ । कम्तिमा राजनीतिको अन्तिम गन्तव्य सबैको घरमा छाना होस, मानामा चामलका दाना होस, कोदो होस या पिठो होस जीवन सबैको मिठो होस भन्ने मान्यतामा अडिदिएको भए निरासाले यति विधि घर गर्न पाउने थिएन ।
बुद्धि नभएको नेतृत्व, विवेक नभएको हाकिम, दया नभएको पति, माया निख्रिएकी पत्नी, आदर नगर्ने सन्तान, सहानुभूति नराख्ने छिमेकी र परेका बेला काम नलाग्ने आफन्तभन्दा नहुनु बेस भन्ने मान्यता छ । हेर्नुस त एउटा मान्छेलाई बोल्न दुई वर्ष लाग्छ तर के बोल्ने के नबोल्ने भनेर सिक्न सारा जीवन कम हुन्छ । संसारमा सर्वाधिक भनिने कुरा हो – माया र खुसी । सबैभन्दा बढी खोजिने पैसा । अनि सबैभन्दा बढी पाइने कुरा हो – दुख र धोका । हो, देशको राजनीति श्रृंखलावद्ध धोका बन्यो ।

एकपटक आकासमा उड्दै गरेको पन्छीलाई कसैले सोधेछ- तिमीलाई यतिमाथि उड्दा कहिल्यै जमिनमा खसिएला भन्ने डर लाग्दैन – पन्छीले मुस्कुराउँदै जवाफ दियो – ‘म मान्छे होइन, थोरै उचाईमा पुग्नासाथ आफ्नो हैसियत बिर्सिने । म जतिसुकै उचाईमा किन नपुगुँ – मेरा आँखा जमिनमै हुन्छ ।’ हिँड्ने बाटो सही छ भने ठेस लाग्दै लड्दै गएपनि एकदिन गन्तव्यमा पुगिन्छ तर बाटै गलत छ भने जीवनभर हिँडे पनि कहीँ पुगिदैन । साँच्चै यहाँको राजनीतिले लय नसमात्नुको कडी पनि यही हो कि ?

अर्जुन र श्री कृष्ण बीचको एक सुन्दर सम्बाद :
अर्जुन : विष के हो ?
कृष्ण : ‘हरेक ती कुराहरु बिष हुन् जुन जिन्दगीमा आवश्यकता भन्दा बढी हुने गर्छन । चाहे त्यो प्रेम होस् या घृणा, त्यो शक्तिको उन्माद पनि हुन सक्छ, अभिमान पनि हुन सक्छ, धनसम्पत्ति पनि हुन सक्छ । लोभलालच, अभिमान, अल्छीपना अनि महत्वकांक्षा पनि आवश्यकता भन्दा बढी हुनु विष नै हो ।’

जिन्दगी एक खेल हो अब तपाईमा निर्भर गर्दछ कि तपाई खेलाडी बन्नुहुन्छ वा खेलौना । अनुभव भन्छ कि एक्लै अँधेरीमा हिड्नु कुनै धोकेबाजको साथ उज्यालोमा हिँड्नुभन्दा धेरै उत्तम हो । हेर्नुस त बाउले जमिन जोडे खेती गरे बाउ दुखी किसानमा गनिए । छोराले त्यही जमिन बेच्यो, गाडी चढ्यो, छोरो हुने खानेमा गनियो । कमाईको परिभाषा धन कमाउनु मात्र होइन अनुभव, संस्कार, इज्जत, मान, प्रतिष्ठा, प्रेम अनि सम्बन्ध कमाउनु पनि हो । थुनेको पानी र सुनेको कुरामा बढी विश्वास नगर्नु किनकी दुवैको भरपर्दा धोका हुनसक्छ । थुनेको पानी जतिबेला पनि फुट्न सक्छ भने सुनेको कुरा झूटो हुनसक्छ । पढ्ने बेलामा पैसा कमाउन पाए हुन्थ्यो जस्तो लाग्छ । पैसा कमाउन खोज्दा पढ्न सजिलो लाग्छ । घरमा बस्यो घर छोड्न मन लाग्छ । टाढा पुगेपछि घरको यादले सताउँछ । गोजी भुक्का भए पैसाको खाँचो, पैसा भए के मा खर्च गर्ने पिरलो । सुत्न खोज्यो निद्रा गायव ।

भोलिपल्ट ढिलो सुतेकोमा पश्चाताप । उथलपुथल नभई मन बस्न सक्दैन । याद गर्न खोज्यो तर कसैको तस्वीर अगाडि आउँदैन । याद नगरौं भन्यो मनलाई वितेर चौपट । मन निदाउन खोज्छ, आँखा बिउँझिन्छ । खुसी छु भनौं भने ओठमा हाँसो छैन, दुखी भनौं के मा दुखी पत्तौ छैन । नाच्न नजान्नेलाई पनि यसरी नचाउँछ जिन्दगीले । प्रेमले भरिएको आँखा, श्रद्धाले झुकेको शिर, सहयोग गर्दै गरेको हात, धर्मको मार्गमा हिँडेको पाउ र सत्यले जोडिएको जीब्रो इश्वरलाई सँधै मन पर्छ । त्यसैले यसैलाई कर्मपथ बनाऔं । मोक्षको पहिलो र अन्तिम बाटो पनि यही नै हो ।***

तपाईको प्रतिक्रिया