सोमबार, मंसिर १२, २०७९
Monday, November 28, 2022

काठमाडौं – काठमाडौँ उपत्यकाभित्रका १५ वटा निर्वाचन क्षेत्र छ । यी अधिकांश क्षेत्रहरूमा हरेक चुनावमा स्थापित परम्परागत राजनीतिक दल र वैकल्पिक शक्तिबीच कडा टक्कर हुने गर्दछ ।

यस पटक पनि काठमाडौँ नयाँ अनुहार खोजेन मात्रै, चुनावबाट बिलकुल नयाँ दल र नयाँ अनुहारलाई स्थापित गरिदिएको छ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्थापित दलका उम्मेदवार छाडेर स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहलाई जिताएको काठमाडौँले यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई दोस्रो ठूलो शक्तिको रूपमा स्थापित गरिदिएको छ ।

यस पटक काठमाडौँका १० वटा निर्वाचन क्षेत्र मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी एक्लैले ४ क्षेत्र जितेको छ । ५ क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी हुँदा एमाले आफ्नो विगतको वर्चस्व गुमाउँदै एउटा क्षेत्रमा सीमित हुन पुगेको छ ।

रास्वपाका उम्मेदवारहरू निर्वाचन क्षेत्र नं. २ बाट सोविता गौतम, क्षेत्र नं. ७ बाट गणेश पराजुली र क्षेत्र नं. ८ बाट विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । क्षेत्र नं. ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकै शिशिर खनाल विजयी भएका छन् ।

काठमाडौँ १ मा काँग्रेस नेता प्रकाशमान सिंहले चुनाव त जिते । तर, उनको प्रतिस्पर्धा परम्परागतभन्दा पनि वैकल्पिक शक्ति सङ्घर्षबाट उदाएका नेताहरूसँग भयो । सिंहले एक सय २५ मतको अन्तरले मात्रै रवीन्द्र मिश्रलाई पराजित गरे । राप्रपाका उम्मेदवार भए पनि उनी विवेकशील साझा पार्टीबाट उदाएका थिए । उनीसँगै प्रतिस्पर्धा गर्ने पुकार बम र रमेश खरेल पनि वैकल्पिक शक्तिकै पर्याय हुन् ।

निर्वाचन क्षेत्र नं. १ बाट ०७४ कै प्रतिस्पर्धी मुख्य प्रतिस्पर्धामा देखिएका थिए । तर, ०७४ भन्दा झिनो मतान्तरमा कांग्रेसका प्रकाशमान विजयी भए । ०७४ मा ८१८ मतान्तरले रवीन्द्र मिश्रलाई हराएका प्रकाशमान यस पटक १२५ मतान्तरले विजयी भएका छन् । प्रकाशमानले ७ हजार १४३ मत ल्याउँदा मिश्रले ७ हजार १८ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२, नेपाल सुशासन पार्टीका रमेश प्रसाद खरेलले ३ हजार १२४ मत पाए ।

काठमाडौँ २ मा एमालेका उम्मेदवार मणिराम फुयाँल, राप्रपाका कुन्तीदेवी पोखरेल, माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्ती र राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमबिच कडा प्रतिस्पर्धा भयो । तर, बाजी सोबिताले नै मारिन् । युवा नेतृ सोबिताले परम्परागत राजनीतिक दलका सबै प्रतिस्पर्धीलाई उछिनेर चुनाव जितेकी हुन् । उनी परम्परागत नभई वैकल्पिक शक्तिकी उम्मेदवार हुन् ।
सोविता गौतमलाई एमालेका उम्मेदवार मणिराम फुयालले पछ्याएका थिए । गौतम १५ हजार २२९ मत ल्याएर विजयी हुँदा फुयालले ११ हजार ५५५ मत पाए । यस क्षेत्रबाट राप्रपाकी उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ मत प्राप्त गर्दा सत्ता गठबन्धनकी साझा उम्मेदवार पूर्व सभामुख ओनसरी घर्ती चौथो स्थानमा रहिन् । ओनसरीले ९ हजार ४४९ मत मात्र पाइन् ।

क्षेत्र नं. ७ को चुनावी परिणाम पनि रोचक छ । राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले पुराना र स्थापित दलहरू मात्रै पछि पारेनन्, गठबन्धन बनाएर चुनाव लडेका दलका उम्मेदवारलाई समेत प्रतिस्पर्धामै आउन दिएनन् । ८ हजार ७४३ मत ल्याएर पराजुलीले जित निकाल्दा एमालेका श्याम कुमार घिमिरेले ६ हजार ८ सय मत पाए ।

पाँच दलीय सत्ता गठबन्धनकी उम्मेदवार मानुषीयमी भट्टराई (अस्मिता सिंह)ले ६ हजार ६३ मत ल्याइन् । जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेन्द्र प्रसाद श्रेष्ठले जम्मा २ हजार ४६१ मत पाए । यसअघि एमालेबाट जितेका तर, यस पटक पार्टीले टिकट नदिएपछि स्वतन्त्र लडेका रामवीर मानन्धर प्रतिस्पर्धामै आउन सकेनन् ।

क्षेत्र नं. ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठसँग प्रतिस्पर्धामा स्थापित दलहरू आउनै सकेनन् । १० हजार १०५ मत ल्याएर विराजभक्त विजयी हुँदा हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत ल्याएर दोस्रो भए ।

पर्यटन मन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ तेस्रो भए । उनले जम्मा ४ हजार २६६ मत पाएका छन् । यस क्षेत्रमा एमालेका उम्मेदवार शिव सुन्दर राजवैद्य प्रतिस्पर्धामै देखिन सकेनन् ।

ललितपुर–३ बाट चुनावी मैदानमा उत्रिएकी डा. तोसिका कार्मी भरि मतान्तरले निर्वाचित भईन् । तोसिमाले ३१ हजार १३६ मत पाएकी छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए । ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाइन् । यसअघि २०७४ को निर्वाचनमा भुसालले यही क्षेत्रबाट चुनाव जितेकी थिइन् । डा. तोसिमा पनि वैकल्पिक शक्तिकै उम्मेदवार हुन् ।

रास्वपासँगै उपत्यकाभित्र साझा पार्टी नेपाल, हाम्रो पार्टी नेपाल, नेपाल सुशासन पार्टी चुनावी प्रतिस्पर्धामा देखिए । उनीहरू सबै परम्परागत राजनीतिक दल भई भर्खर जन्मिएका नयाँ शक्ति थिए । जसले परम्परागत शक्तिलाई कडा ठक्कर दिइरहेको देखिएको छ ।

तपाईको प्रतिक्रिया