सोमबार, मंसिर १२, २०७९
Monday, November 28, 2022

टोकियो – टोकियोस्थित नेपाली राजदूतावासले घुम्ती सेवा दिने भएको छ । जापानवासी नेपाली बसेकै ठाउँमा ई-पासपोर्टसहित दूवावासले प्रदान गर्ने सेवा दिने उद्देश्यले घुम्ती सेवा सञ्चालन गरिने भएको हो ।

दूतावासले बिहीबार एक विज्ञप्ति जारी गर्दै मंसिर १७ गते (डिसेम्बर ३ तारिख)बाट साइतामामा परीक्षणका रूपमा घुम्ती सेवा सञ्चालन गरिने जानकारी दिएको छ । ‘विद्युतीय राहदानीका लागि आवेदन गर्ने पाँच वर्ष भन्दा बढी उमेरका आवेदकहरू फोटो खिच्न, ल्याप्चे लगाउन र सही गर्न (Bio-matricprocess) अनिवार्य रूपमा स्वयं राजदूतावासमा उपस्थित हुनुपर्ने भएको हुँदा आवेदकहरूलाई आर्थिक एवं अन्य व्यावहारिक कठिनाइ परेकोले राजदूतावासले घुम्ती सेवा सञ्चालन गर्ने निर्णय गरेको छ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘जापानका विभिन्न प्रान्त/स्थानहरूमा बस्दै आएका नेपालीहरूको आर्थिक एवं अन्य व्यावहारिक कठिनाइलाई समेत मध्यनजर गर्दै मिति २०७९ साल मंसिर १७ गते शनिवारका दिन परीक्षणको रूपमा साइतामा प्रान्तबाट घुम्ती सेवा शुरु गरिनेछ ।’

त्यसपछि क्रमशः नेपालीहरूको जनसङ्ख्या धेरै भएका प्रान्तहरूको घुम्ती सेवा सञ्चालन गरिने भएको छ । ‘नेपालीहरूको जनसङ्ख्या धेरै भएका नागोया, ओशाका, तोचिगी, फुकुओका, सेन्डाई, होक्काइडो, निगाता, गुम्वाकेन, चिवा, हिरोसिमा, ओकिनावा लगायतका प्रान्त/स्थानहरूमा घुम्ती सेवा सञ्चालन गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘घुम्ती सेवाका अवसरमा विद्युतीय राहदानी, अधिकृत वारेशनामा प्रमाणीकरण, यात्राअनुमतिपत्र (Travel Document), कागजात प्रमाणीकरण .जन्मदर्ता, नाता प्रमाणित, अविवाहिताको प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र लगायतका) सेवाहरू उपलब्ध हुनेछन् ।’

यी स्थानहरूमा सन् २०२३ भित्रमा घुम्ती सेवा सञ्चालन गरिने दूतावासले जनाएको छ । दूतावासकाअनुसार सेवा सञ्चालन को मिति, स्थान र समयबारे पछि अर्को सूचनामार्फत जानकारी गराइनेछ ।

तपाईको प्रतिक्रिया