सोमबार, मंसिर १२, २०७९
Monday, November 28, 2022

काठमाडौं – चितवन निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु नभएको बताएका छन् । जितपछि सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेले निर्वाचित हुनु कुनै जित नभएको भन्दै आफूले अहिले नै विजय र्‍याली समेत नगर्ने बताएका हुन् ।

‘राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु होइन । यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो,’ उनले लेखेका छन्, ‘म आजैदेखि जाँच दिन जाँदैछु, जसको नतिजा पाँच वर्षपछि मात्र आउँछ । म जनतालाई जिताउने जाँच दिन जाँदैछु, त्यसैले म अहिले नै विजय र्‍याली गर्न चाहन्नँ ।’

विजय र्‍यालीको सट्टा लामिछानेले धन्यवाद सभा आयोजना गर्ने भएका छन् । उनका अनुसार भरतपुर–१० गेस्टहाउस चौरमा आज ३ बजे, ईच्छाकामना गाउँपालिका कार्यालयअगाडिको फुटबल ग्राउन्ड कुरिनटारमा भोलि ११ बजे तथा सहिद स्मृति क्याम्पस चौर पदमापुर कालिकामा भोलि दिउँसो ३ बजे धन्यवाद सभा आयोजना गरिने छ । साथै उनले धन्यवाद सभामा आउने कसैलाई पनि फूलमाला, अबिर र खादा नल्याउन आह्वान गरेका छन् ।

तपाईको प्रतिक्रिया