शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – जापानमा रहेका एक नेपाली आफ्नो पसलमा आउने ग्राहकलाई ठगिनबाट जोगाउँदा सम्मानित भएका छन् । सदा झैं शालिकराम सापकोटा चार वर्षदेखि काम गर्दै आएको डिपार्टमेन्ट स्टोरमा काम गरिरहेका थिए । तर, कात्तिक ७ को दिन भने उनका लागि विशेष बन्यो ।

त्यो दिन आफू काम गर्ने पसलमा आइरहने एक ग्राहकलाई उनले ठगिनबाट जोगाए । त्यो पनि उनको छोरा भएको अभिनय गरेर। जापानी भाषामा दखल भएका कारण उनी त्यसो गर्न सफल भएका थिए । मध्याह्नको ३ बजेतिर झण्डै ६० वर्षका एक वृद्ध कुरुमीमा अवस्थित उनको स्टोरमा आए र ५० हजार येन (झण्डै ३६० डलर) बराबरको विद्युतीय भुक्तानी गर्नुपर्ने कुरा सापकोटालाई बताए । ग्राहक भने फोनमा कसैसँग कुरा गरिरहेका थिए । ३० वर्षीय सापकोटालाई शङ्का लाग्यो ।

उनले आफ्नो स्टोरमा आइरहने ती ग्राहकलाई चिनेका थिए । उनलाई ती ग्राहकलाई कसैले फसाउन खोजेको आशङ्का भयो, किनभने ती ग्राहकले त्यत्रो विद्युतीय रकम कहिल्यै भुक्तानी गरेका थिएनन् । उनले ती ग्राहकलाई रकम भुक्तानीको प्रयोजन सोधे । ‘मेरो कम्प्युटरमा भाइरस छिरेछ । त्यही भएर मलाई ५० हजार येनको कार्ड किन्नुपर्ने भएछ,’ उनले भने ।

सापकोटाले फोनमा कुरा गर्ने मान्छेले यताको कुरा सुन्न सक्ने भएकाले फोन राखिदिन आग्रह गरे । ती ग्राहकले फोन राखिदिए । तर, लगत्तै अर्को फोन आइहाल्यो। फोन स्क्रीनमा टेक्सास, अमेरिकाको नम्बर देखियो । सापकोटाले फोन आफूले लिए र प्रत्युत्तर दिए । ‘म उहाँको छोरो हुँ’ भन्दै उनले जापानी भाषामा प्रश्नको वर्षा गरे । ‘म तपाईंलाई के सहयोग गरौं? तपाईंको नाम के हो? कुन कम्पनीबाट कल गर्दै हुनुहुन्छ ?’ उताबाट बोल्ने मान्छेले टुटेफुटे जापानीमा कुरा गर्दै थिए, तर सापकोटाको शुद्ध जापानी भाषामा धाराप्रवाह प्रश्न सुनेपछि फोन काटिदिए ।

शालिकराम सापकोटा ९ नोभेम्बर २०२२ मा उकिहा प्रहरी प्रमुख सिनिचिरो मिजुनासँग फुकुओका कार्यालयमा कुरा गर्दै । (तस्वीरः माइनिची)

आफू ग्राहकको छोरा भएको बताउनुको कारण प्रष्ट्याउँदै सापकोटाले भने, ‘म कामदार हुँ भन्नु भन्दा परिवारको सदस्य भएको बताउँदा अर्को पटक फेरि उसले फोन गर्ने सम्भावना कम हुन्थ्यो ।’ आफू ठगिनबाट जोगिएपछि ती ग्राहकले सापकोटालाई धेरै पटक केही रकम लिन आग्रह गरिरहे । तर, उनले वृद्धको आग्रह हँसिलो मुख लगाएर टारिरहे, ‘यो त मेरो काम नै हो। फेरि फेरि आउँदै गर्नुहोला ।’

सापकोटा आठ वर्षअघि सन् २०१३ मा जापान आएका थिए । त्यति वेला उनी २१ वर्षका थिए।  उनले जापानमा भाषा र संस्कृति अध्ययनको पढाइ पूरा गरे । स्टोरमा पार्टटाइम काम गर्ने वेला आर्सियालाई चिने । पछि उनैसँग सन् २०१८ मा बिहे गरे । आर्सियासँगै उनी हाल स्टोरमा काम गर्छन्। यो स्टोर उनकी श्रीमतीको परिवारले चार वर्षदेखि चलाउँदै आएको छ ।

कुनै अनिष्ट नहोस् भनेर सापकोटा स्टोरमा आउने ग्राहकलाई निगरानी गरिरहेका हुन्छन् । यस्तै घटना अक्टोबरमा पनि भएको थियो । त्यतिखेर उनले एक वृद्धालाई यसै गरी फोनमा कुरा गरिरहेका वेला विद्युतीय भुक्तानी गर्नबाट जोगाएका थिए । त्यस वेला पनि एक ग्राहक तीन हजार येनको भुक्तानी गर्न फोनमा कुरा गर्दै स्टोरमा आएकी थिइन् ।

जब वृद्धवृद्धा फोनमा कुरा गर्दै विद्युतीय भुक्तानीका लागि आउँछन् तब आफूलाई शङ्का लाग्ने उनी बताउँछन् । किनभने, त्यस्तो अवस्थामा उनीहरू ठगिने सम्भावना हुन्छ । स्थानीय प्रहरीले सापकोटाको कामको कदर गर्दै सम्मानपत्र दिएको छ । प्रहरीकाे सम्मान पाएपछि उनले भने, ‘म शङ्कास्पद लाग्ने घटनाहरूमा ग्राहकलाई जोगाउन सक्रियतापूर्वक लागी नै रहन्छु ।’ –हिमालखबरबाट

तपाईको प्रतिक्रिया