शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

नागोया – अनेसास जापानको आयोजनामा जापानको नागोया सहरमा हुन लागेको नागोया साहित्य उत्सव २०२२ को सम्पूर्ण तयारी पूरा भएको छ । जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रममा पुस्तक विमोचन, खुला रचना वाचन, बहस तथा गजल मेहफिल जस्ता अलग अलग सेसनहरू राखेर कार्यक्रम सम्पन्न गरिनेछ ।

संस्थाका पूर्वअध्यक्ष तथा कार्यक्रमका संयोजक विष्णु प्रसाद घिमिरेकाअनुसार कार्यक्रममा सुविन न्यौपानेको कविता संग्रह कमरेडको जनै र कथाकार म्यामराज राईको लघुकथा संग्रह हाम्रो बाटोको जापान विमोचन हुनेछ । जापानमा रहेर गजलमा कलम चलाइरहनुभएका आठ जना गजलकारहरूको दिनेशराज ज्ञवाली, गिरिजा गैह्रे, सुमित गिरी, आनन्द अधिकारी, अमरदेव बास्तोला, मीनराज बास्तोला, गंगा गगन, विकास लम्सालको गजल वाचन कार्यक्रमको मुख्य आकर्षण रहेको छ ।

जापानमै पहिलोपटक साहित्यिक बहस अन्तर्गत अनेसास केन्द्रीय कमिटीका निवर्तमान अध्यक्ष प्रकाश पौडेल माइला, नेपाली भाषाका अध्येता हारुहितो नोजू र महिला अभियन्ता सविता पन्थी वक्ता रहने गरी ‘प्रवासमा नेपाली भाषा तथा साहित्य’ विषयमा बहस हुनेछ । कार्यक्रममा खुला कविता वाचन सेसन अन्तर्गत सर्जकहरूका रचना वाचन हुनेछन् । कार्यक्रमका अलगअलग सेसनमा अलगअलग सहजकर्ताहरू रहने गरी संस्थाका महासचिव शरद पोख्रेल, सचिव अनिल कुमार निर्दोष र सर्जक श्याम शीतलले सहजीकरण गर्नुहुनेछ ।

कार्यक्रम नोभेम्बर २६ तारिख दिउसो १२ः३० बाट आइची पिस मेमोरियल हल नागोयामा सम्पन्न भई बेलुका ५ बजे समापन हुनेछ । कार्यक्रममा सम्पूर्ण साहित्य प्रेमीहरूलाई निमन्त्रणा गर्दै कार्यक्रम सफल बनाउन संस्थाका अध्यक्ष रविन शर्माले अपिल गरेका छन् ।

तपाईको प्रतिक्रिया