बुधबार, बैशाख ०५, २०८१
Wednesday, April 17, 2024

पार्टीका घोषणा पत्र/वा प्रतिबद्धता पत्र विगत दुई दशक यता अलि मिहिन ढंगले अध्ययन गरिरहँदा जे लेखे पनि हुन्छ; त्यो कार्यान्वयनका लागि होइन रहेछ भन्ने प्रष्ट देखिन्छ । दलहरूले अर्को पटक जनतालाई जवाफ दिनुपर्छ भन्ने  साेचेकाे देखिँदैन । सम्भव/असम्भव सबै कुरा घोषणा पत्रमा लेखिएको छ । हुन त घोषणा पत्र पढेर मतदान गर्ने को पो हुन्छ र ? मतदानका आधारहरू अनेक छन् ।

जस्तो: पार्टीको मान्छे, नातागोता, चिनजान, झुटा आश्वासन दिन सक्ने ! केही लेनदेन वा त्यस्तै तेस्तैका आधारमा मतदान हुने भएकाले घोषणा पत्रको खासै अर्थ नहुँदो रहेछ । घोषणा पत्रमा जे लेख्दा पनि हुन्छ भन्ने भाष्य सिर्जना गरिएको छ । मानौँ, त्यसको कहीँ अडिट हुँदैन । त्यसैले पनि हुने/नहुने सबै कुरा घोषणा पत्रमा अटेका छन् । पार्टीहरू घोषणा पत्रहरूले त्यही देखाउँछ ।

इतिहासको कालखण्डदेखि नेपाली मतदाताले आफ्नो विवेक प्रयोग गरेनन् वा गर्न सकेनन् । नेतालाई गाली गर्नु पनि बेकार रहेछ । जनताअनुसारको कार्यकर्ता हुने रहेछन् । कार्यकर्ताअनुसारको नेता हुने कुरा स्वभाविक हो । मतदाता नै बेहोसी भए पछि नेताले किन नठग्नु । अहिले जे-जस्तो राजनीति देखिएको छ, यसलाई हेर्दा अझै धेरै वर्ष ठगिने सम्भावना बढी छ ।

कहिले काहीँ मतदाताले मेरो यो सिद्धान्त हो भन्छ । सिद्धान्तअनुसार नै मतदान गरिन्छ भन्छ । तर, दुर्भाग्य पार्टी र उनका नेतालाई कुनै सिद्धान्त चाहिएन । पार्टीहरू सधैँ आयाराम र गयाराम शैलीको सोच विकास भएको छ । आज दलका नेताको कुनै जिम्मेवारी वा जबाफदेहिता देखिन्न । सबैजसो दलका नेताहरूको चुनावी भाषणलाई हेर्दा पनि दलगत तथा व्यक्तिगत स्वार्थ नै उसको सिद्धान्त हुने गरेको देखिन्छ । अनि पार्टीहरू पनि कहिले कोसँग गठबन्धन; कहिले कोसँग गठबन्धन यसको कारण प्रष्ट छ, कहाँ आफ्नो भलो हुन्छ । कतिपय गठबन्धन निर्माणको पृष्ठभूमिलाई हेरियो भने नेतृत्व रहने केहीको स्वार्थपूर्तिका लागि गरिएको देखिन्छ ।

गठबन्धन गर्दा कुनै सिद्धान्त वा योजनाको कुराकानी भएको छैन । एकअर्काप्रति सत्तोसराप गर्ने र दुस्मनको संज्ञा दिने शक्तिबीच पनि गठबन्धन भएको छ । जसप्रति धेरैको टिप्पणी- गठबन्धन होइन रहेछ, स्वार्थ बन्धन हो । हिजो अत्यन्त राष्ट्रवादी ठानिएकाहरू आज नाकाबन्दी लगाउने भन्नेसँग गठबन्धन गर्दै छन् ? गणतन्त्रको कुरा गर्नेहरू राजावादीसँग सहकार्यमा छन् । वामपन्थी भन्नेहरू प्रजातन्त्रवादीसँग सहकार्यमा छन् भने धर्मनिरपेक्षतावादी धार्मिक पक्षधरतासँग गठबन्धनमा छन् । यी घटनाक्रमलाई हेर्दा, कसलाई के भन्ने ? कसको सिद्धान्तलाई के भन्ने ? कसको एजेण्डा राम्रो भन्ने ? जनतालाई अलमल पार्ने बाहेक केही छैन ।

अहिले चुनावको मुखमा पार्टी अदलबदलका घटनाहरू देखिएका छन् । कतिपय पार्टी फेरेरै उम्मेदवार हुन पाएका छन् । चुनावमा पार्टी फेर्दै आउनेलाई के भन्ने ? तीबाट के सिक्ने र के बुझ्ने ? ती फेरि चुनाव पछि अर्को पार्टीमा नजाने टुंगो छैन । जसलाई हेर्दा स्पष्ट हुन सकिन्छ, नेतालाई सिद्धान्तको कुरा नलाग्ने रहेछ । अहिलेको नेपाली राजनीतिको विशेषता नै यस्तो भएको छ ।

त्यसैले मतदाताले पार्टी, उसका घोषणा पत्र, विगतका व्यवहार, भ्रष्टाचार न्यूनीकरण तर्फको पहल, सुशासनप्रतिको निष्ठा, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा पहल जस्ता विषयलाई तौलेर मात्र मतदान गर्नु आवश्यक छ । विगतमा कुनै दललाई अपनाएको वा मतदान गरेको आधारमा आज पनि सोही दल वा नेतृत्वलाई मतदान गर्नु सही होइन । सचेत व्यक्तिले आफ्नो मतलाई निकै तौलिन आवश्यक छ । त्यसैले बेहोसी र हुलमुलमा होइन; सचेतता पूर्वक मतदान गरौँ । सही व्यक्तिलाई र सही संगठनलाई नेतृत्वको रूपमा विकास गरौंं । यो नै अहिलेको आवश्यकता हो ।

तपाईको प्रतिक्रिया