शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – ओटीटी (ओभर द टप) प्रति कोभिड १९ नियन्त्रणका लागि गरिएको लकडाउनको समयमा निक्कै आकर्षण बढ्यो । घरमै रहन बाध्य दर्शकहरूले मनोरञ्जनको विकल्पका रुपमा डिजिटल प्लेटफर्म रोजे ।

अन्तराष्ट्रिय रुपमा बजार राम्रो बनाई सकेका नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभ लगायतका ओटीटी प्लेटफर्म दर्शकका प्रिय बने । नेपाली समेत उल्लेखित ओटीटीका प्लेटफर्म तर्फ आकर्षित हुँदा नेपालमै रहेका आइफ्लिक्स, भिडियो पसल, सिनेमाघर जस्ता एपले भने धेरै दर्शक तान्न सकेनन् । नेपाल राष्ट्र बैंकले पाँच सय डलरसम्म वार्षिक रुपमा खर्च गर्न मिल्ने गरी कार्ड उपलब्ध गराएपछि पनि विदेशी एपमै दर्शक बढेका छन् । आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाएपश्चात बन्द नै भयो ।

सिनेमाघर एपसँग सन् २०१८ मै जोडिएका अभिनेता तथा निर्देशक खगेन्द्र लामिछानेले दर्शकलाई एपमा फिल्म हेर्ने बाँकीको विकास गरिरहेको बताए । ‘युट्युबबाट दर्शकलाई एपमा फिल्म हेर्ने बानी बसाउन केही समय निःशुल्क फिल्म समेत उपलब्ध गराएका थियौं । सन् २०१६ मै डिजिटल भविष्य देखेर खोलिएको सिनेमाघरमा दुई वर्ष पश्चात म संचालकको रुपमा जोडिए’, अभिनेता लामिछाने भन्छन्, ‘नयाँ फिल्म र ओर्जिनल कन्टेनले दर्शक तान्नेमा विश्वत छौँ । हामीले त्यसको तयारी समेत थालिरहेका छौँ ।’ उनले गत लकडाउनमा पुरानै फिल्ममा समेत दर्शक बढेको बताए ।

आइफ्लिक्स र भिडियो पसल सञ्चालन गरिसकेका ओम अग्रवालले भने पाइरेसीको समस्याले ओटीटीमा जोखिम देख्छन् । आफ्नै ओएसआर प्ले नामक एपको तयारी गरिरहेका अग्रवालले सुरक्षाको चुनौती रहेको बताए । ‘पाइरेसी गर्नेलाई कडा कारवाही नहुँदा समस्या देखिएको हो । युट्युबमा फ्रीमा फिल्म हेरिरहेका दर्शकलाई नयाँ फिल्ममार्फत आकर्षित नगरेका होइनौ तर लकडाउनले केही असर ग¥यो’, सञ्चालक अग्रवालले भने । आइफ्लिक्स बन्द भएपछि उनी सहितको टिमले ओएसआर डिजिटल टिम भिडियो पसलमार्फत फिल्म दर्शक माझ पुर्‍याइरहेको छ ।

अभिनेता लामिछानेले आफ्नो एपमा चार तहको सुरक्षा रहेको जानकारी दिए । ‘सिनेमाघरबाट पाइरेसी गर्नेलाई सहजै समात्न सकिन्छ । हामीले केही समय अगाडी एक जनालाई सजाय समेत दिलाएका थियौँ । पाइरेसी सम्बन्धि शिक्षाको कमिले नै यस्तो भइरहेको छ’, अभिनेता लामिछानेले भने, ‘अहिले ओटीटीले मुनाफा दिन थालेपछि विस्तारै निर्माताहरू आकर्षित भइरहेका छन् । हामीले गत दसैँमा प्रदर्शन गरेको दुई फिल्मले राम्रो मुनाफा दिएको छ ।’

उनले एपमा ‘कबड्डी ४ ः द फाइनल म्याच’ रिलिज गरेका छन् । यसले नयाँ दर्शक थपिने र पुरानो फिल्म समेत हेरिने विश्वास उनको छ । ‘अहिले हाम्रो मुनाफा भनेकै दर्शक हुन् । सिनेमाघर चार लाख पटक डाउनलोड भइसकेको छ । उहाँहरूमा नेपाली ओटीटीमा फिल्म हेर्ने बानी बिकसित भएमा आउँदो दिनमा हामीले सफलता पाउनेछौं’, अभिनेता लामिछानेले भने ।
निर्देशक रामबाबु गुरुङले आफ्नो फिल्म युट्युब अगाडि एपमा दिनुको कारण दर्शक विकास र बजारको सम्भावना रहेको बताए । ‘हामी कहाँ भएको ओटीटीमा दर्शकलाई आकर्षित गर्न प्रदर्शन गर्दैछौँ । यसले आउँदा दिन सहज हुनेमा विश्वत छु’, निर्देशक गुरुङले भने ।

डिजिटल बजारलाई सघाउन चलचित्र विकास बोर्ड पनि तयार रहेको सदस्य फडिन्द्र कटवालले बताए । ‘सञ्चार मन्त्रालयले यसका ण्लागि बजेट समेत विनियोजन गरिसकेको छ । कार्यविधि तयार गरेर ओटीटीलाई सघाउने हाम्रो योजना छ’, सदस्य कटवालले भने । उनकै संयोजकत्वमा बोर्डले ओटीटीलाई नियमन गर्ने र संचालन गर्ने कार्यविधि तयार गर्दैछ ।

नेपालमा सञ्चालनमा आएकाओटीटी भनिने डिजिटल प्लेटफर्मले नयाँ कन्टेन ल्याउन नसक्दा दर्शक विदेशी प्लेटफर्ममै रमाईरहेका छन् । ठूलो पर्दामै देखिने कलाकारलाई लिएर कन्टेन बनाएर ओटीटीमा ल्याउने तयारीमा रहेता पनि यसले पूर्णता पाउन सकेको छैन ।

तपाईको प्रतिक्रिया