शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो – जापानका आधाभन्दा धेरै कम्पनीहरूमा कर्मचारी अभाव देखिएको छ । निजी क्षेत्रबाट भएको एउटा सर्वेक्षणको प्रतिवेदनअनुसार ५० प्रतिशतभन्दा धेरै कम्पनीमा श्रमिक अभाव देखिएको हो ।

कोरोना भाइरसको महामारीको बेलामा खुम्चिएका आर्थिक तथा सामाजिक गतिविधिहरू पुनः लयमा फर्किन थालेसँगै अधिकांश क्षेत्रका उद्योगहरूले श्रमिकको अभाव बेहोरिरहेका हुन् । कोभिड देखिनुअघि नै जापानको श्रम बजारले कयौँ क्षेत्रमा चरम अभाव भोगिरहेको थियो । कोभिडबीच सङ्क्रमण नियन्त्रण गर्न सरकारले आर्थिक तथा सामाजिक गतिविधिमा कडाइ गर्दा खर्च कटौती गर्न उद्योगहरूले कर्मचारीलाई कामबाट निकाल्ने क्रम बढ्यो तर, श्रमिक अभावबारे खासै चासो दिइएन । त्यसैको प्रभावले अहिले श्रमिक अभाव देखिएको हो ।

तेइकोकु डेटाबैंक लिमिटेडले सेप्टेम्बरमा गरेको सर्वेक्षणअनुसार सर्वेक्षणमा सहभागी भएका ५० दशमलव १ प्रतिशत कम्पनीले श्रमिक अभाव भोगिरहेको बताएका छन् । सर्वेक्षणमा सहभागी धेरै कम्पनीहरूले यस्तो बताएको यो सन् २०१९ को नोभेम्बरयता पहिलो पटक हो । पछिल्लो समय जापानले कोभिड फैलिन नदिन सीमामा गरेको नियन्त्रण खुकुलो पारेको छ भने विदेशबाट आउने आगन्तुकको दैनिक सङ्ख्यामा लगाएको सीमा पनि खारेज गरेको छ ।

यस्तोमा पर्यटन उद्योगमा थप पुनः बहालीको आशा बढेको छ तर, केही कम्पनीहरूलाई श्रम अभावका कारण बजार माग धान्न नसक्ने हो कि भन्ने चिन्ता सताएको सर्वेक्षणले देखाएको छ । अनियमित खालका कामदारको अभाव बताउने कम्पनीको सङ्ख्या ३० दशमलव ४ प्रतिशत छ । अनियमित खालका कामदारको अनुपात उच्च हुने रेस्टुराँ र आतिथ्य क्षेत्रमा यो अभाव क्रमशः ७७ दशमलव ३ प्रतिशत र ६२ दशमलव ३ प्रतिशत छ ।

पूरा समय काम गर्ने कर्मचारीको अभाव सबैभन्दा धेरैचाहिँ सूचना सेवा क्षेत्रमा ७१ दशमलव ३ प्रतिशत छ । कर्मचारी खोजिदिने अनि भर्ती गराइदिने उद्योगमा ६५ प्रतिशत मर्मत सम्भार तथा सुरक्षा उद्योगमा भने ६४ दशमलव ६ प्रतिशत छ । तेइकोकुको सर्वेक्षण सेप्टेम्बर १५ देखि ३० को बिचमा गरेको थियो । सर्वेक्षणमा सहभागीमध्ये ११ हजार ६२१ ओटा कम्पनीबाट वैध उत्तर प्राप्त भएको थियो ।

तपाईको प्रतिक्रिया