शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

कोभिड-१९ को महामारीकाबीच चाड पर्वहरुको लामबन्दी सुरु भएसंगै सबैभन्दा महत्वका साथ मनाईने महान चाड बडा दशैं नेपालीहरुको घरदैलोमा भित्रिईसकेको छ । घरदेश र परदेशको समेत पछिल्लो कोरोना संक्रमणको स्थिति हेर्दा जनजीवन अब बिस्तारै पुरानै लयमा फर्कन थालेको अनुमान गर्न सकिन्छ । तथापि नयाँ नयाँ भेरियन्टहरुको जोखिम भने अझै उत्तिकै रहेकोले सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न आवश्यक छ ।

अघिल्ला बर्षहरुमा कोरोना महामारीले गर्दा खल्लो बनेको दशैं यो वर्ष भने स्थितिमा थोरै सुधार आएको अवस्था भने पक्कै छ । एकातिर संक्रमण दर घट्दो क्रममा देखिन थालेको र अर्कोतिर कोभिडको खोप लिईसकेकाहरुको संख्या क्रमशः बढ्दो छ । त्यसो भएकोले पनि केही राहतको महशुस गर्दै नेपालीहरु दशैंको जोरजाम र आवश्यक तैयारीमा होमिईसकेका छन् ।
मानवको स्वास्थ्य सुरक्षा अहिलेको सबैभन्दा प्राथमिक विषय हो । अघिल्लो वर्षको बडा दशैं घर परिवार अर्थात सीमित दायरामा खुम्चिन पुग्यो । तामझामलाई सीमित गरी सावधानी अपनाएर चाड मनाउनुपर्ने परिस्थिति थियो । यो बर्ष केही राहतको महशुस गर्दै नेपालीहरु दशैं मनाउन उद्यत देखिन्छन् । तर बिर्सनै नहुने बिषय के हो भने अझै पनि दैनिक संक्रमितहरु भेटिएकै छन् । कोरोनाकै कारण हुने मृत्युलाई शून्यमा झार्न सकिएको छैन । त्यसकारण अझै स्वास्थ्य मापदण्डको पालना आवश्यक छ ।

चाड पर्वको बेला हामी नेपालीहरु अलि बढि नै हौसिने स्वभावका छौं । रमाईलो माहौलमा मापदण्डको बेवास्ता हुँदा दशैं दशामा परिणत हुन सक्छ भन्ने कुरोलाई मनन् गरिनु आवश्यक छ । दशैं-तिहार, छठ जस्ता पर्वहरुमा ठूलो स्केलका भौतिक उपस्थिति सहितको सभा, सम्मेलन तथा औपचारिक कार्यक्रम गर्ने बिषयमा अझै केही समय सोच्नैपर्ने देखिन्छ । यि र यस्ता बिषयमा समाजका अगुवाहरुको बेलैमा ध्यान जान आवश्यक छ । हतारमा गल्ती गर्ने र फुर्सदमा पछुताउने हाम्रो पुरानो बानीलाई सुधार गर्दै जानुपर्दछ ।

खोपले कोरोनाको मृत्युदर घटाउने हो, संक्रमण हुनबाट रोक्ने होइन । स्वास्थ्य विज्ञले यो विषयमा सचेत गराइरहेका पनि छन् । तर, अझै सर्बसाधारण नागरिकमा खोप लगाएपछि ढुक्क हुन्छ, संक्रमण हुँदैन भन्ने भ्रम छ । यसै भ्रमका कारण स्वास्थ्य मापदण्डमा लापरबाही हुने गरेको पाईन्छ । सामाजिक दूरीको पालना छैन । विश्वका विकसित मुलुकहरुले यो विषयलाई गम्भीरताका साथ लिए पनि नेपाली समुदायमा अझै खेलाँची भईरहेको देखिन्छ । यस्तो क्रियाकलापले पुनः महामारी नफैलिएला भन्न सकिँदैन । यतातिर पनि हामी सबैको बेलैमा ध्यान जानु वाञ्छनीय छ ।
नेपालमा अहिले डेंगू संक्रमणले महामारीको रुप लिन थालेको छ । अब चाडपर्वको समयमा यो संक्रमण गाउँगाउँसम्म पनि पुग्न सक्छ । पारिवारिक भेटघाट र आपसी खुसी साट्नका लागि धेरैजसो दशैंमा आफ्नो थातथलो फर्कने हुँदा समुदायमा संक्रमण फैलन सक्ने संभावनालाई नकार्न सकिदैन । दशैंलगत्तै जाडो बढ्ने भएकाले कोरोना भाइरस पनि फैलन सक्छ । त्यसो भएको हुनाले यस बर्ष पनि मापदण्ड पालना गर्दै जोगिएर चाडपर्व मनाउनुको विकल्प छैन । डेंगू, कोरोना भाइरसबाट बच्ने एकमात्र उपाय भनेको अहिले सतर्कता अपनाउनु नै हो । खानपान र स्वास्थ्य मापदण्डको पालना गर्दै भौतिक दूरी कायम गर्ने, भिडभाडजन्य कार्यक्रम सकभर नगर्ने जस्ता उपाय अपनाएर दशैं मनाऔं ।

महामारीको लामो कष्टकर समय झेल्दै गरेको अवस्थामा नेपालीहरुको उत्साह र उमंगको पर्व, पारिवारिक पुनर्मिलनको पर्व र सामाजिक एवं साँस्कृतिक मूल्य र मान्यता बोकेको स्थापित पर्व बडा दशैंको पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनुहुने हाम्रा समस्त पाठक, लेखक, विज्ञापनदाता, शुभचिन्तक एवं तमाम् नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।***

तपाईको प्रतिक्रिया