शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आउँदो चुनावबाट आफ्नो पार्टी पहिलो पार्टी बन्ने दावी गरेका छन् । रवीन्द्र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण पक्षधरसँगको एकता घोषणा कार्यक्रममा नागरिकले विश्वासिलो विकल्प खोजिरहेको र राप्रपा विकल्प रहेको दावी गरे । उनले पार्टीमा रवीन्द्र मिश्रको अभाव खड्किरहेको बताएका छन् ।

राष्ट्रिय सभा गृहमा आयोजित राप्रपा र मिश्र समूह नेतृत्वको बृहत ध्रुवीकरण पक्षधर बीच एकता घोषणा कार्यक्रममा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । उनले भने, ‘विगतका दिनमा राप्रपामा रवीन्द्रजीको अभाव खड्किरहेको थियो । यो एकता कोशेढुंगा सावित हुन्छ । अब थप गतिका साथ अगाडि बढ्नु पर्छ ।’

उनले राप्रपाका लागि मात्र नभइ आम मानिसको खुशीका लागि मिश्र समूह र राप्रपाबीच एकता भएको दावी गरे । उनले पार्टीमा कुनै प्रकारको असहज महसुस गर्ने वातावरण हुन नदिने मिश्रलाई वचन दिए । आगामी निर्वाचनमा राप्रपाले धेरै सिट ल्याउने भन्दै त्यसको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई सुझाव दिए ।

जनताले तीन दशदेखि प्रजातन्त्र, लोकतन्त्रका रुपमा लुट तन्त्रको मार खाइरहेको भन्दै सीमित व्यक्तिको मुठीमा रहेको देशलाई मुक्त गराउन योग्यता र सक्षम भएका व्यक्ति राप्रपामा आउन आग्रह गरे । उनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्ना उम्मेदवार तयार गरेर अगाडि बढ्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया