शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – कच्चा तेलको भाउ अन्तर्राष्ट्रिय बजारमा घट्ने क्रममा छ । कच्चा तेलको मूल्य ९ महिना यताकै न्यून भएको छ । रसिया र युक्रेन बिचमा युद्ध सुरु भएपछि १२४ डलर प्रतिब्यारलसम्म पुगेको कच्चा तेलको मूल्य निरन्तर घट्दै सोमबार २.०९ डलरले घटेर ८४.०६ डलर कायम भएको छ । यो मूल्य यो जनवरी १४ यताकै न्यून हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर घटेकाले अब नेपालमासमेत नयाँ मूल्यसूची आउँदा मूल्य घटेर आउन सक्ने देखिन्छ । नेपाल आयल निगमले आफूले कति मूल्य घटाउन सक्ने भन्ने कुरा मुख्य रूपमा आईओसीले पठाउने मूल्यसूचीका आधारमा निर्धारण गर्न सक्ने जनाएको छ ।

अहिले अन्तर्राष्ट्रिय बजारमा पनि तेलको मूल्य घटिरहेका कारण भारतबाट समेत मूल्य घटेर आउने सक्ने देखिन्छ त्यस्तै देश चुनावकै मुखमा भएकाले पनि सरकारले तेलको मूल्यमा केही समायोजन गर्न सक्ने कतिपयको तर्क छ ।

नेपालमा कहिले घट्छ ?
नयाँ मूल्यसूची आउँदा भाउ घट्नेमा आशावादी हुन सकिने धेरै सम्भावना देखिएको नेपाल आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए ।

नियमित प्रक्रिया अन्तर्गत असोज १६ गते इन्डियन आयल कर्पोरेशन (आईओसी)ले नेपाल आयल निगम (एनओसी)लाई नयाँ मूल्य सूची पठाउँछ । ‘अन्तर्राष्ट्रिय बजारको पछिल्लो क्रम घट्दो छ र अबको मूल्य सूची घटेर आउने अवस्था हामीले समेत देखेका छौँ’ विनीतमणि उपाध्यायले भने ।

यसअघि पनि आईओसीबाट पेट्रोल र डिजेलका मूल्य केही घट्दै आएको थियो । तर निगमले यसअघिकै उच्च घाटा कायम रहेको भन्दै मूल्य घटाएको थिएन । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ८६ डलर प्रतिब्यारल रहेको छ ।

निगमले आफूले कति मूल्य घटाउन सक्ने भन्ने कुरा मुख्य रूपमा आईओसीले पठाउने मूल्यसूचीका आधारमा निर्धारण गर्न सक्ने जनाएको छ । निगमका अधिकारीहरूले यसअघि नै कच्चा तेलको मूल्य घट्दो क्रममा रहँदा पनि प्रशोधन खर्च पाँच गुणाभन्दा धेरै बढाइएकाले मूल्यलाई कच्चा तेलको दरले मात्र निर्धारण गर्न नसकिएको बताउँदै आएका थिए ।

प्रवक्ता उपाध्यायले भने, ‘खासगरी माग र आपूर्ति चक्र बिथोलिँदा प्रशोधनकर्ताहरूको त्यस्तो कदमले संसारभर डिजेल र पेट्रोलको मूल्य बढेको थियो । अब त्यसमा सुधार हुने अवस्था देखा पर्न थालेको छ ।’

तपाईको प्रतिक्रिया