बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

काठमाडौँ – इटालीमा आइतबार सम्पन्न आमनिर्वाचनमा चरम दक्षिणपन्थी ‘ब्रदर्स अफ इटाली पार्टी’ नेतृत्वको गठबन्धनले जितेको छ । दक्षिणपन्थी गठबन्धनका दलले ४३.८ प्रतिशत भोट प्राप्त गरेका छन् भने विपक्षी वामपन्थी गठबन्धन २६.१ प्रतिशत भोटमा सीमित भएको छ । तेस्रो स्थानमा रहेको ‘फाइभ स्टार आन्दोलन’ १५.३ प्रतिशत मत प्राप्त गरेको छ।

विजयी गठबन्धनको सबैभन्दा ठूलो पार्टीका रूपमा ‘ब्रदर्स अफ इटाली’ ले एक्लै २६ प्रतिशत मत प्राप्त गरेको छ । यो पार्टी सन् २०१२ मा मात्रै गठन भएको थियो। सन् २०१३ को आमनिर्वाचनमा २ प्रतिशत र सन् २०१८ को निर्वाचनमा ४.४ प्रतिशत मात्रै मत ल्याएको थियो ।

यसपटक पार्टीले प्राप्त गरेको सफलतालाई उल्लेखनीय र आश्चर्यजनक मानिएको छ । पार्टी अध्यक्ष ४५ वर्षीया जर्जिया मेलोनी इटालीको प्रधानमन्त्री हुने सम्भावना छ । उनी देशको इतिहासमै पहिलो महिला प्रधानमन्त्री हुँदैछन्। मेलोनी सन् २०१४ देखि निरन्तर पार्टी अध्यक्ष रहँदै आएकी छन्।

मेलोनी आफूलाई ‘क्रिश्चियन कन्जर्भेटिभ’ भन्न रुचाउँछिन् । राष्ट्रवाद उनी र उनको पार्टीको मुख्य विचारधारा हो । ‘ब्रदर्स अफ इटाली पार्टी’ ले बहुसांस्कृतिकतावाद, आप्रवासन, गर्भपतन र एलजिबिटी अधिकारको विरोध गर्छ । रोमलाई ‘पवित्र भूमि’ का रूपमा महिमामंडित गर्दै इतिहासका गौरव पुनर्स्थापित गर्ने यसको लक्ष्य छ ।

तपाईको प्रतिक्रिया