शुक्रबार, मंसिर १५, २०८०
Friday, December 1, 2023

काठमाडौँ – अध्यक्ष ओलीका कारण शनिबार जनकपुरधाम–जयनगर रेल एक घण्टा ढिलो गुडेको छ । जनकपुरधामबाट जनयनगरका लागि प्रत्येक दिन बिहान ११ बजे गुड्ने रेल पूर्व प्रधानमन्त्री ओलीका कारण निर्धारित समयभन्दा एक घण्टा ढिलो मध्यान्ह १२ बजेमात्रै गुडेको हो ।

पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनका लागि अध्यक्ष ओली रेलबाटै जाने भएपछि निर्धारित समयभन्दा एक घण्टा ढिलो रेल गुडाउनु परेको नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले बताए । झाले भने, ‘अध्यक्षजी रेलबाटै जाने भनेपछि हामीलाई रेल गुडाउन केहीबेर पर्खिनु परेको थियो ।’

उनले रेल सुरु भएको मितिबाट अहिलेसम्म ढिलो कहिल्यै नगुडे पनि एमालेका नेता कार्यकर्ताहरूले आग्रह गरेपछि मात्रै ढिलो गुडाइएको बताए । जनकपुरधामबाट ढिलो गुडाइएकोले जयनगरबाट जनकपुरधामका लागि पनि ढिलो गरी नै गुडाइने महाप्रबन्धक झाको भनाइ छ ।

अध्यक्ष ओली तथा एमालेको नेता कार्यकर्ताहरूको रेल यात्राका लागि कुल १४२ वटा टिकेट काटेका थिए । एसी बगीको ५६ र जेनरल बगीको ८६ वटा टिकेट काटिएको महाप्रबन्धक झाले बताए ।

तपाईको प्रतिक्रिया