शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – आगामी मंसिर ४ मा हुने संसदीय निर्वाचनको मिति तोकिएसँगै दलहरू तयारीमा जुटेका छन् । ०७४ को निर्वाचनमा जनताले कम्युनिस्ट दललाई स्थायी सरकार बनाउने गरी भोट दिएपनि दलहरुबीचको आन्तरिक द्वन्द्व र किचलोले पुनः पार्टी फुट्दा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन दलको सरकार छ । अहिले सोही गठबन्धन दलले मिलेर जाने चुनावी तयारी थालेको छ भने अर्कोतिर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक्लै चुनाव लड्ने तयारी थालेको छ । विभिन्न स्थानबाट निर्वाचन लड्ने घोषणा गरिरहेका स्वतन्त्र उम्मेदवारहरू दलका लागि चुनौती बन्नसक्ने लख पनि काट्न थालिएको छ । निर्वाचनपछि देशमा कसको सरकार बन्ला, स्वतन्त्र उम्मेदवारहरूको सम्भावना कस्तो छ ? यिनै विषयमा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीसँग समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंश:-

स्वतन्त्र मेयर बालेन शाह र हर्क साम्पाङको चर्चामा थपिएको सामाजिक सञ्जाल ब्याटललाई कसरी लिनुभएको छ ?
स्वतन्त्र भनेको कुनै राजनीतिक या प्राकृतिक हैन । एउटा प्रतिक्रियात्मक कुरा मात्र हो । प्रतिक्रियात्मक रूपमा कुनै पनि मान्छे जिम्मेवार पदमा पुग्छ भने उसले आफ्नो जे हैसियत छ, त्यो देखाउँछ । त्यही अनुसार उनीहरूले ब्याटलको कुरा ल्याएका छन् त्यो कुनै मान्छेले मनभित्र जे छ त्यो बाहिर ओकल्छन् । तथापि उनीहरू सिक्दैछन् । त्यो अनुसारको राम्रो कुराहरू सिके भने माथि पुग्छन् नभए राजनीतिबाट बिलाउँछन् ।

पछिल्लो समय स्वतन्त्रले यो देशलाई के गर्ने हुन् भन्ने डर व्याप्त छ, उनीहरूको जितले के संकेत गर्छ ?
कामद्वारा नै सबैको मन जित्नलाई अहिले उनीहरूसँग अवसर छैन । किनभने उनीहरूसँग उचित पूर्वाधारहरू छैनन् । दलहरूले असहज गराएका छन् । त्यसलाई चिरेर उनीहरूले अगाडि बढे भने राम्रो हुन्छ । उनीहरूले धेरै काम गर्न खोजेका छन् । काठमाडौंमा बालेनले अनधिकृत संरचना हटाउने अभियान थालेका छन् । फोहोरको कुराहरू गरेका छन् । यो बिच विवाद थपिएको छ । अलमल नै छन् र हर्क साम्पाङले पानीका कुरा वृक्षारोपणका कुराहरू गरेर जनतामा आशाका किरणहरू देखाएका छन् । उनीहरूले एउटा समाजले स्वामित्व ग्रहण गर्ने खालको व्यक्तित्व पस्केको भन्ने मलाई लाग्दैन । पहिले त उनीहरूले वैचारिक र सैद्धान्तिक अवधारणा प्रष्ट पार्नुपर्छ । उनीहरूका बीचमा एउटा बृहत् एलाइन्स पनि बन्न जरुरी छ । अर्थात् स्वतन्त्रहरूको आफ्नै एउटा टिम । यसरी दुवैजना मिलेर समाजमा गए भने मात्र सफलता हासिल गर्न सक्छन् ।

रवि लामिछानेको दुई महिनाको क्रियाकलापलाई हेर्दा उनी कत्तिको पाको राजनीति गर्ने पात्र ठान्नुभयो ?
रवि छामिछाने राजनीतिक रूपमा सक्रिय भएजस्तो मलाई लाग्दैन । जति गरेपनि जनता कता जान्छन् भन्नेमा भर पर्दछ । त्यो सबै कुरालाई जनताले निर्णय गर्ने कुरा हो । एउटा धक्का मात्र हो कि, विकासको लहर ल्याउँछ भनेर आउँदै गरेको निर्वाचनमा भर पर्दछ । पछि आउने मतपेटिकाका आधारमा भर पर्दछ । यो एउटा प्रतिक्रिया हो । दलहरूले गलत गरेका छन्, त्यसमा हाम्रो समर्थन छैन भन्ने संकेत मतादाताहरूले दिएका छन् ।

यो गठबन्धन चुनावसम्म टिक्ला कि न टिक्ला ? के देख्नुहुन्छ ?
गठबन्धन टिक्छ जस्तो लाग्छ मलाई । किनभने यो स्वार्थी र अवसरवादीहरूले बनाएको सरकार हो । आफ्नो स्वार्थ पूरा गर्नका लागि लक्ष्यसम्म पुर्‍याउन सक्छन् । स्वार्थ अहिलेसम्म ठूल्ठूला उपलब्धिहरू हासिल गरेका छन् । जनताहरूले यो मान्छे हामीलाई अब चाहिँदैन भनेपछि यो हट्ला नभए यो अगाडि जान्छ ।एमालेले पनि गठबन्धन गर्न सक्छ ? 
गठबन्धनको विकल्प गठबन्धन नै हुनु स्वाभाविक हो । बाँकी रहेका शक्तिहरूलाई एकै ठाउँमा राखेर एमालेले एउटा भरपर्दो गठबन्धन गर्नुपर्छ । एमालेले अब बाँकी दलहरूसँग एकता गरेर अगाडि बढ्छ । अब एमालेले बचेका राजनीतिक दलहरूसँग एकता गर्छ र अगाडि बढ्छ जस्तो मलाई लाग्छ । यो ठूलो गुण्डा र सानो गुण्डाबीचको युद्ध हो । त्यसमा पनि अलि भ्रष्टाचार नगर्ने र देश नबेच्नेलाई जनताले भोट हाल्नुपर्‍याे ।

वामदेव गौतम र बाबुराम भट्टराई प्रचण्डसँग नै आए भन्न मिल्ला, उनीहरूको भविष्य कत्तिको सुनिश्चित देख्नुहुन्छ ?
त्यो जनताको हातमा छ । बाबुराम आफूभन्दा पनि छोरीलाई अगाडि बढाउने प्रयासमा छन् भन्ने सुनिन्छ । यिनीहरू फोहोरी राजनीतिक दलहरू हुन् । यिनीहरूले राजनीतिलाई अड्कली-अड्कली आफ्नो पोल्टामा हाल्छन् । वामदेवको हकमा पनि श्रीमती हाउसमा नै होलिन् । त्यसैले यो कुनै विषय हुँदैन ।

दुई छिमेकी चीन विश्वको पहिलो, हालसालैको तथ्याङ्कअनुसार भारत पाँचौँ ठूलो अर्थतन्त्र भएको देश बनेको छ, हामी अझै राजनीतिक व्यवस्थापनमा छौँ, नेता मन्त्री र प्रधानमन्त्रीको दौडमा छन्, यसलाई कसरी हेर्नुभएको छ ?
योबारे मैले एउटा साथीको लेखको शीर्षक पढेको थिएँ- ‘दुवै छिमेकीहरू उकालो, हामी ओरालो’ भनेर । अब भर्खरै तथ्याङ्क आयो हाम्रो वैदेशिक ऋण पनि २० खर्ब नाघिसक्यो, व्यापार घाटा १८ खर्बभन्दा माथि छ । त्यसैको वरिपरिको बजेटबाट चलेको देश उकालो लाग्ने भन्ने छ सम्भावना नै छैन । कृषिको व्यवसायीकरण र औद्योगीकरणको प्रक्रिया मात्रै आर्थिक गन्तव्यमा पुग्ने निर्विकल्प उपायहरू हुन् । दुर्भाग्य हामी त्यो बाटोमा छैनौँ । न कृषि उपजको बजार ग्यारेण्टी छ, न त्यसको मेशिनिकीकरण र वैज्ञानिकीकरण छ, औद्योगीकरणको प्रक्रियालाई हामीले अपनाएका छौँ । बरु भएका कलकारखानाहरूको पनि हामीले बन्द गर्ने कुरा भइरहेको छ । अब तपाईँले नै भन्नुभयो नेताहरू मन्त्री-प्रधानमन्त्री बन्ने दौडमा छन्, कार्यकर्ताहरू स्वाभिमानी भए-यो के हो ? भनेर प्रश्न उठाईदिन्थ्ये की ! तर कार्यकर्ता भन्ने दास रहेछ यो देशको । झोला बोक्छ र दास जस्तो नेतालाई पनि बोकेर खोलो वारिपारि गर्ने यो धन्दा गर्छ । यसलाई म नियति भन्छु । तपाई नियति बदल्न चाहनुहुन्छ भने- यो नालायक र असक्षम नेतृत्वलाई प्रतिस्थापन गर्नैपर्छ । गर्नुहुन्न भने अझ खराब भविष्य म देख्दैछु ।

केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकमा सत्ताको साठगाँठमा विदेशी भूमिका रहेको भनेर प्रतिवेदन लगेका थिए, केहीअघि सत्तारुढ दलका नेताहरूको भारत भ्रमण र भेटघाट भएको थियो, यी कुराहरूले विदेशी स्वार्थको संकेत गर्छ ?
होला, उनको त्यो भन्ने स्थिति नै छैन । किनभने विदेशी रअ प्रमुखको बालुवाटार प्रवेशपछि नै केपी ओलीले संसद् विघटन गरेको हो भन्ने लाग्छ मलाई पनि ! ती पनि त कुनै स्वदेशी थिएनन्, त्यसकारण यी सबै एउटै ड्याङका मुला हुन् । यो विदेशी त्यो स्वदेशी भनेर वादविवाद गर्नुको कुनै अर्थ छैन । केपी ओलीमाथि महाकालीकै कत्रो आरोप छ । माधवकुमार नेपालमाथि नै कत्रो आरोप छ । कांग्रेसमाथि त आरोप छँदै नै छ । त्यसकारण यी सबै भरलाग्दा मान्छे होइनन् । अवसरवादी स्वार्थी हुन् । पद र प्रतिष्ठाका लागि यो सब खेलोमेलो गर्ने तत्त्वहरू हुन् । अब हामीले पनि आफूलाई उकास्नुपर्छ । यिनीहरूको अपरिपक्व घनचक्रमा फसेर गुणगान गाउनु, नचाहिँदो कुराको पक्षपोषण गर्नुभन्दा यो नागरिकता विधेयकको बारेमा म भन्छु नि- अहिले माधव नेपालको पार्टीमा केन्द्रीय नेता भएर हिँड्दैछन्, हिजो रातदिन नागरिकताको कुरा निकाल्ने तिनीहरू नै थिए । अब आज उनीहरूको बोली बन्द छ । उनीहरू जहाँ गरेपनि हिन्दी सिनेमाजस्तो ‘मेई जहाँ खडा हुँ लाइन त्यही से सुरु हो ती है’ भनेजस्तै, कि त्यसको सट्टामा अमिताभ बच्चन नै आउनुपर्‍याे । अब यी ल्याङ्ग्राहरुबाट त त्यो आशा गर्नुहुन्छ भने त्यो बेकार हुन्छ, त्यो सम्भव छैन ।शीर्ष दलहरूको कार्यशैलीमा भिन्नता छैन भन्न खोज्नु भएको हो ?
मैले देखेको त प्रतिगामीको बिम्ब भनेका नेपालमा शेरबहादुर देउवा हुन् । अधिनायकवादी शासनका पृष्ठपोषण भनेका माओवादीहरू हुन् । केपी ओली भनेको चाहिँ स्वेच्छाचारी र अहंकारी मात्रै हुन्, व्यक्तिवादी र राजनीतिक स्वार्थीहरू मात्रै हुन् उनीहरू चाहिँ । तर यहाँ उल्टो बिम्ब खडा गरियो ? अग्रगामी भनेका शेरबहादुर हुन् । लोकतन्त्रवादी भनेका माओवादीहरु हुन् । प्रतिगामी भनेका केपी ओली हुन् भनियो ? अब त्यसको जवाफ त जसले उनीहरूलाई त्यो बनायो तिनीहरूले दिनुपर्छ ।

गठबन्धन बनाएर चुनावमा गइसकेपछि प्रधानमन्त्री भन्ने लाइनमा देउवा र प्रचण्ड नै अगाडि देखिन्छन्, यहाँको विचारमा मंसिरपछि मुलुकको नेतृत्व कसले गर्ला ?
प्रधानमन्त्रीमा अग्रता हुनुपर्ने अब पालो प्रचण्डको हो । तर अब नेपालमा खुट्टा टेक्न नसक्ने, भिजन नभएको, ल्याँग्रे किसिमका मन्त्री प्रधानमन्त्री हुने अभ्यास छ । त्यसकारण शेरबहादुर देउवा पनि बन्न सक्छन् । र भित्रबाट उनले बिस्तारै आफ्नो तयारी गरेका होलान् । यो सबै कुरा जनताबाट निर्धारण हुन्छ । अहिलेको प्रधानमन्त्री हुनेभन्दा पनि कसलाई रोक्ने भन्ने ठाउँलाई बलियो बनाउनुपर्दछ ।

तपाईँको दृष्टिकोणमा प्रचण्ड, देउवा र केपी ओलीमध्ये इमानदार र देशप्रेमी नेता को जस्तो लाग्छ ?
यी तीनजना नै उस्तै हुन् तर त्यसमा अलिकति गतिशील प्रचण्ड छन् ।

अन्त्यमा, हिन्दू धर्म राज्य र संघीयताको विषयलाई मंसिर ४ सम्म कुनै दलले खुला रूपमा उठाउलान् कि नउठाउलान् ? तपाईँको विश्लेषण के छ ?
गर्न सक्छन् । किनभने यिनीहरू अवसरवादी हुन् कति बेला आफूलाई कहाँ पुर्‍याउँछन् थाहा हुँदैन । कति बेला दल बदल्छ, कति बेला गुट बदल्छ, त्यो कसैलाई थाहा हुँदैन त्यसैले नेपालका राजनीतिक दलहरू भनेका प्राय अवसरवादीहरू नै हुन् । कति बेला धर्मको कुरा गर्छन् भन्न सकिँदैन ।

तपाईको प्रतिक्रिया