शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – अभिनेता पल शाहविरुद्धको जबरजस्ती करणीको मुद्दामा नवलपुर जिल्ला अदालतले फैसलाको पूणर्पाठ सार्वजनिक गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले नाबालिकामाथि जबरजस्ती करणीको मुद्दामा पललाई सफाइ दिएको थियो । तर, बाल यौन दुरुपयोगमा शाहलाई दोषी ठहर गर्दै अदालतले साढे दुई वर्षको कैद सजाय र नाबालिकालाई १० लाख रुपैया जरिबाना दिन भनेको थियो । ‘अभियोजन पक्षले अभियोग दायर गरेपछि आफूले दायर गरेको अभियोग शंकारहित तवरबाट पुष्टि गर्नु पर्दछ’, आदेशमा भनिएको छ ।

फैसलामा प्राप्त सबुत र प्रमाणबाट शाह र नाबालिकाबीच यौन सम्बन्ध स्थापित भएको मान्न नसकिने उल्लेख छ । तर प्रमाणका रूपमा प्राप्त भएका अडियो र मेसेजहरूलाई हेर्दा पल शाहले नाबालिकासँग प्रेमको सम्बन्ध कायम गरी, यौनजन्य अस्वाभाविक व्यवहार देखाएको अदालतको निष्कर्ष छ । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ (२) बमोजिम बालयौन दुरुपयोगको कसुर गरेको ठहर्‍याइएको छ ।

‘वारदातको समयमा आफू वारदातस्थलमा रहेको कुरा स्वीकार गर्नु साथै उक्त समयमा सुटिङको क्रममा थाकेको कारण थोरै मदिरा सेवनसमेत गरेको कुरा समेत स्वीकार गरी अघिल्लो दिन पीडित एक्लै सुत्दा डर मानी होटल साहुनीको छोरीसँग सुत्न गएकाले आज पनि डर लाग्छ कि भनेर सोध्दा डर लाग्दैन भनेकोले म मेरो कोठामा गई सुतेको हुँ भनी अनुसन्धानको क्रममा भनेको र यो वारदात घटना पछाडि पनि यी पीडित र प्रतिवादीबीचमा निरन्तर एसएमएस आदानप्रदान र फोन सम्पर्कहरु समेत हुँदै आएकोमा त्यसै क्रमको सिलसिलामा मध्यबानेश्वरमा पीडित र प्रतिवादीहरुबीचको संवाद एवं छलफलको अडिओ क्लिप बनाइएको समग्र अवस्थाले यी प्रतिवादी र पीडित प्रेमी-प्रेमिका जस्तो सम्बन्धमा रहे बसेको देखिन्छ’, फैसलामा भनिएको छ ।

एउटा स्थापित कलाकारले नाबालिकासँग कस्तो व्यवहार गर्नुपर्छ भनी विचार गर्नुपर्ने र नाबालिक उमेरमा एउटा चर्चामा रहेको अभिनेता रहेको व्यक्तिसँग नजिक हुनु र उसलाई चाहनु उसको गल्ती नभएको अदालतको ठहर छ । पर्दामा मात्रै नभएर वास्तविक दुनियाँमा पनि नायकीपन कायम गर्न सक्नुपर्ने फैसलामा उल्लेख छ । जिल्ला अदालत नवलपुरको फैसलाको पूर्णपाठ आएसँगै अब यसविरुद्ध उच्च अदालतमा पुनरावेदनको तयारी गर्ने पल शाहका अधिवक्ता कमलामोहन वाग्लेले बताए ।

‘दशैँअघि नै त भ्याइँदैन । तर दशैँपछि उच्च अदालत पोखरामा पुनरावेदन गर्छौ’, अधिवक्ता वाग्लेले भने, ‘यो फैसला चित्त बुझ्दो छैन ।’ यस्तै जिल्ला अदालत तनहुँमा पनि तिनै नाबालिगका तर्फबाट मुद्दा दायर भएको छ । तनहुँमा असोज २६ गतेलाई पेशी तोकिएको छ । दशैँ लागेका कारण आइतबारदेखि अदालतमा नियमित मुद्दाको सुनुवाइ नहुने भएकाले पेश पछि सरेको हो । तनहुँमा पनि मुद्दा फैसलाको तयारीमा पुगेको छ ।

बलात्कार मुद्दामा सफाइ पाउने आधार
दुवै अदालतमा जाहेरवाला र पीडितले भने इन्कारी बयान दिएका थिए । इन्कारी बयान दिए पनि शाहलाई अदालतले अन्य घटनाक्रम र प्रमाणका आधारमा पूणर् निर्दोष नरहेको ठहर गरेको हो । तर अदालतले जबरजस्ती करणीको मुद्दामा भने सफाइ दिएको थियो ।

अदालतको फैसलामा भनिएको छ, ‘करणीको कसुरका प्रत्यक्षदर्शी भनेका नै पीडक र पीडित नै हुन् । त्यसकारण जबरजस्ती करणीको कसुरको प्रत्येक्ष प्रमाण भनेको पीडित स्वयम् नै रहने र भौतिक सबुदको प्रमाणको रुपमा निजको मौकाको स्वास्थ्य जाँच प्रतिवेदन नै मुख्य रुपमा रहने हुन्छ ।’

अदालतले मिसिल बाहिर गएर अनुमानको आधारमा प्रमाण नभए पनि यसो हुन सक्ला भनी निणर्य गर्न नमिल्ने फैसलामा उल्लेख छ । अभियोजन पक्षले अभियोग दायर गरेपछि आफूले दायर गरेको अभियोगलाई शंकारहित तवरबाट पुष्टि गर्नुपर्ने भए पनि प्रतिवादीले अनुसन्धानका क्रममा इन्कारी बयान दिएका थिए ।

तर उनले पीडितसँग भएको कुराकानी, म्यासेज आदानप्रदान भएको र पेश भएको अडियो र त्यहाँ गरिएको छलफल स्वीकार गरेका थिए । अदालतमा पनि उनले इन्कार नै गरेका थिए ।

तपाईको प्रतिक्रिया