बुधबार, आश्विन १२, २०७९
Wednesday, September 28, 2022

काठमाडौँ – (आइजीपी) सर्वेन्द्र खनाल एमालेमा प्रवेश गरेका छन्। नेपाल प्रहरीको ३० वर्षे सेवाबाट अवकाश पाएका खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमबीच एमाले प्रवेश गराएका हुन्।

कार्यक्रममा महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरूको उपस्थिति थियो। यसअघि खनालले ओलीलाई बुधबार बालकोटमा भेटेर कुरा गरेका थिए। भेटमा खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने समेत बताएका थिए। बारा, पर्सा र काठमाडौंमध्ये कुनै एक ठाउँबाट खनाललाई उम्मेदवार बनाउनसमेत ओली तयार भएको स्रोतले बताएको छ।
ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए।

आफू एमालेमा प्रवेश गर्न पाउँदा हर्षविभोर भएको पूर्व आइजीजी खनालले बताए। आम नेपालीको अपेक्षा, देश विदेशको आस्थाको केन्द्र, समृद्ध नेपाल सुखी नेपालीको नारा अघि बढाउने प्रणेताको हातबाट नेकपा एमालेको जस्तो गरिमामय पार्टीको सदस्यता लिन पाउँदा खुसीले हर्षविभोर भएको खनालले भने।

उनले कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीको शीतल छाहरी पाउने आशा आफूले लिएको बताए। खनालसँगै बिहिबार विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मिया, राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव रविकिरण खनाल, जसपाका नेता होरिलाल चौधरीलगायत एमालेमा प्रवेश गरेका छन्।

तपाईको प्रतिक्रिया