काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता डा. सुरेन्द्र झाले नागरिकता विधेयक प्रमाणीकरण नभएपछि देशभित्रका नागरिकलाई अनागरिक बनाउने अत्याचार राष्ट्रपतिबाट भएकाे बताएका छन् ।
उनले नागरिकता विधेयक प्रमाणीकरण नगरेर देशभित्र रहेका नागरिकलाई अनागरिक बनाउने कुरा कानुनी र मानवीय अत्याचार गर्ने काम भएकाे बताए ।
यस मुद्दालाई आफूहरूले जीवनमरणको सवालको रूपमा उठाउँदै आएको उल्लेख गर्दै उनले नागरिकता विधेयकको सन्दर्भमा ठूला दलको असफलता र द्वैध चरित्र देखिएको आरोप लगाए । ‘कम्बल आढेर घ्यू खाने काम गरे,’ उनले भने । यस मुद्दालाई चुनावमा लिएर जाने उनको भनाइ छ । ‘नागरिकता विधेयकको विपक्षमा लाग्नेहरू नाङ्गिन्छन्’ उनले भने ।
नेता झाले सरकारवादी दलहरूले अब के गर्छन् भन्ने कुरा नेपाली जनताले हेर्न खोजेको बताए । ‘राष्ट्रपतिको बारेमा सत्ता गठबन्धनका दलहरूले के निर्णय लिन्छन्, यो निष्ठाका साथ गर्नुहुन्छ कि हुँदैन, त्यही अनुसार हामीले कार्यक्रम लिएर जनताको बीचमा जान्छौँ,’ उनले भने ।