बुधबार, आश्विन १२, २०७९
Wednesday, September 28, 2022

टोकियो – संसारमै सबभन्दा बढी ज्येष्ठ नागरिक जनसंख्या भएको देश हो जापान । विश्वका अन्य मुलुकहरुसंग तुलना गर्दा जापानी ज्येष्ठ नागरिकहरु स्वस्थ र आर्थिक रुपले लामो समयसम्म सक्रिय रहेको देखिन्छ । जन्मदर अत्यन्त न्यून भएको जापानमा ६५ वा ६५ वर्ष नाघेका जापानी ज्येष्ठ नागरिक परिवारप्रति आश्रित हुँदैनन् । ज्येष्ठ नागरिकप्रति सम्मान गर्दै जापानले सन् २००० मा दीर्घकालीन हेरचाह बीमा कार्यक्रम ल्याएर ६५ वर्ष नाघेका वृद्धवृद्धाको सम्पूर्ण सुरक्षा, बीमा कार्यक्रममार्फत गर्न थाल्यो । जसका लागि ६५ वर्ष पुगेका नागरिकले स्थानीय तहमा आवेदन दिएपछि उनीहरूको सम्पूर्ण आवश्यकता, सुविधाको बन्दोबस्त सरकारले गर्छ ।

यसरी वृद्धावृद्धाका बुढ्यौलीलाई सहज, सुखी र सुन्दर बनाउने जापानको यो सुविधा संसारकै उच्चतम हो । अझ जापानले उनीहरूको सम्मानमा प्रत्येक वर्ष सेप्टेम्बरको तेश्रो सोमबार वृद्धवृद्धाका लागि ‘वृद्ध दिवस’ (केइरो नो हि) रेस्पेक्ट फर द एजेड डे’ मनाउन सार्वजनिक बिदा नै दिन्छ । यस वर्ष यो सेप्टेम्बर १९ मा परेको छ । यो बिदा देशका ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने दिन हो । यस दिन जापानीहरुले आफ्ना वृद्ध आफन्त र साथीहरूसँग समय बिताएर उत्सव मनाउँछन् ।

संस्था र कम्पनीहरूले आफ्नो समुदायमा बस्ने वृद्धहरूलाई मद्दत गर्न विशेष कार्यक्रमहरू गर्छन् । यस बिदामा जापानी सञ्चारमाध्यमहरूले वृद्धवृद्धासँग सम्बन्धित विशेष टेलिभिजन कार्यक्रमहरू पनि प्रस्तुत गर्छन् । हामी मध्ये धेरैजसो, हाम्रो जीवनको कुनै न कुनै बिन्दुमा, घरबाट टाढा जान्छौं र परिणाम स्वरूप हामी हाम्रा वृद्ध आमाबाबु र हजुरबा हजुरआमालाई कम भेट्छौं । यो छुट्टी परिवार र समाजका ज्येष्ठ जनसंख्यालाई समर्थन गर्न, तिनीहरूलाई सुन्न र तिनीहरूबाट केहि सिक्नको लागि एक रिमाइन्डर हो ।

यो सबैको लागि एक अर्थपूर्ण छुट्टी भएता पनि जापान र पलाउ मात्र विश्वका दुई देश हुन् जहाँ वृद्धहरूमा समर्पित राष्ट्रिय बिदा रहेको छ । ***

 

तपाईको प्रतिक्रिया