बुधबार, आश्विन १२, २०७९
Wednesday, September 28, 2022

टोकियो – विश्वको चर्चित मोबाइल कम्पनी एप्पलले नयाँ आइफोन १४ औपचारिक रुपमा सार्वजनिक गरेको छ । आइफोन १४ मोडलमा कम्पनीले प्रयोगकर्ताको सुरक्षा र कनेक्टीभिटीलाई बढी महत्व दिएको छ । नयाँ आइफोनमा प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राख्दै दुईवटा फिचर राखिएको छ । सवारीसाधन दुर्घटना पहिचान गर्ने र इमर्जेन्सी मेसेज पठाउन सिमकार्ड मात्रैको भर नपरी सेटलाइट कनेक्टिभिटीको सुविधा आइफोन १४ का सबै संस्करणमा उपलब्ध छन् ।
अमेरिकामा आइफोन १४ को मूल्य ७ सय ९९ डलर, आइफोन १४ प्लसको ८ सय ९९ डलर, आइफोन १४ प्रोको ९ सय ९९ डलर र आइफोन १४ प्रो म्याक्सको १ हजार ९९ डलर तोकिएको छ । जुन यस अघिको आइफोन संस्करण १३ कै मूल्य बराबर हो । तर दुःखको कुरा हामी जापानबासी लागि भने आईफोनको मूल्य बढेको छ । एप्पलले जापान र दक्षिण कोरियालगायत विश्वका केही ठूला बजारहरूमा मूल्य बढाएको छ । मुद्रामा लामो समयदेखि आएको गिरावटले आयातित उत्पादनहरूको मूल्यमा प्रभाव पारेको छ ।

जसकारण जापानी उपभोक्ताहरूले आइफोन १४ खरिद गर्दा एक लाख १९ हजार ८ सय येन (८ सय ४१ अमेरिकी डलर) तिर्नुपर्ने भएको छ । सो मूल्य अघिल्लो वर्ष आएको आइफोन १३ को तुलनामा २१ हजार येन (१ सय ४१ डलर) अर्थात् २१ प्रतिशतले बढी हो । एक वर्ष अघि सार्वजनिक भएको आइफोन १३ को मूल्य ९८ हजार ८ सय येन तोकिएको थियो । आइफोन १३ भन्दा अगाडिसम्म जापानमा आईफोनको मूल्यहरू अमेरिकामा भन्दा पनि कम थिए ।***

 

तपाईको प्रतिक्रिया