बुधबार, आश्विन १२, २०७९
Wednesday, September 28, 2022

टोकियो – बेलायतकी महारानी एलिजाबेथ द्वितीयको सेप्टेम्बर ८ मा निधन भएको छ । विश्वका नेता तथा उच्च अधिकारीहरूले ९६ वर्षको उमेरमा दिवंगत महारानी एलिजाबेथ द्वितीयाप्रति श्रद्धाञ्जलि प्रकट गरेका छन् । जापानका सम्राट नारुहितोले एक विज्ञप्ति जारी गर्दै बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति गहिरो दुःख र हार्दिक समवेदना व्यक्त गरेका छन् । जापानी ‘इम्पेरियल हाउसहोल्ड एजेन्सी’ ले सम्राट नारुहितो बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने कार्यक्रम रहेको जनाएको छ । सम्राट बनेपछि सम्राट नारुहितोको यो पहिलो विदेश यात्रा हुनेछ । जापानी इतिहासमा सम्राटहरू विदेशी राष्ट्र प्रमुखको अन्त्येष्टि वा अन्य समारोहहरूमा विदेश यात्रा गरेको दुर्लभ मानिन्छ ।

जापानी शाही परिवारको बेलायती शाही परिवारसँग लामो समयदेखि घनिष्ठ सम्बन्ध रहेको छ । सन् १९५३ मा, तत्कालीन युवराज आकिहितो (नारुहितोका बुवा), सम्राटको प्रतिनिधिको रूपमा एलिजाबेथ द्वितीयको राज्याभिषेक समारोहमा भाग लिएका थिए । त्यस्तै सम्राट बनेपछि पनि सन् २०१२ मा सम्राट आकिहितो आफ्नो पत्नी मिचिकोको साथ महारानी एलिजाबेथ द्वितीयको सिंहासनमा प्रवेश गरेको ६० औं वर्षगांठ मनाउन बेलायत गएका थिए । सन् १९७५ मा, रानी एलिजाबेथ द्वितीय, जापान भ्रमण गर्ने पहिलो बेलायती सम्राट हुन् । उक्त भ्रमणमा एलिजाबेथ द्वितीयले तत्कालीन सम्राट हिरोहितो (अकिहितोका बुवा) लाई भेटेकी थिइन् ।

हालका जापानी सम्राट नारुहितोले युवराजको रूपमा रानी एलिजाबेथ द्वितीयसँग धेरैपटक भेट गरेका छन् । सम्राट नारुहितो र साम्राज्ञी मासाको दुवैले इङ्ल्याण्डको अक्सफोर्ड विश्वविद्यालयमा पढेका थिए । दम्पतीले जापानको गद्दी आरोहण गरेपछि पहिलो आधिकारिक यात्राको रूपमा २०२० मा बेलायती शाही परिवारलाई भेट्ने योजना रहेको थियो । कोरोना भाइरसको महामारीका कारण नियोजित भ्रमण स्थगित गरिएको थियो ।

जापानको तीन पुस्ता सम्राट भेटेकी एलिजाबेथ द्वितीयाले तत्कालीन राजा महेन्द्रको निम्तोमा सन् १९६१ मा र राजा वीरेन्द्रको राज्याभिषेकमा सन १९८६ मा नेपालमा पनि राजकीय भ्रमण गरेकी थिइन् । कम्तीमा १ सय १७ देशको भ्रमण गरिसकेकी एलिजाबेथ संसारकै सबैभन्दा धेरै यात्रा गर्ने राष्ट्राध्यक्ष पनि हुन् ।

बेलायती इतिहासमा रानी एलिजाबेथको शासनकाल स्वर्णयुगको रुपमा हेरिएको छ । लामो समयदेखि स्वास्थ्य समस्याका कारण उनको निधन भएको थियो । महारानीको अन्तिम संस्कार ब्रिटेनको समयानुसार सेप्टेम्बर १९ को दिन ११ बजे हुने भएको छ । उक्त दिनलाई ब्याङ्क होलिडे (सार्वजनिक बिदा) घोषणा गरिएको छ ।***

 

तपाईको प्रतिक्रिया