बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

आँखामा टल्कने कालो चस्मा, बत्तिस बर्से केटो !
घेरिएका क्यामेराका लेन्सहरुबिच बुलडोजर र सुरक्षाकर्मीको साथ हिन्दी चलचित्र नायकको नायक जस्तै अस्तव्यस्त सडकमा, कार्यालय, पसल, चोक र गल्लीहरू भत्काउँदै आजभोलि सडकमा देखिन्छ, उही हो- काठमाडौँ महानगरपालिकाको मेयर बालेन्द्र शाह उर्फ बालेन ।

बेथिति र विसङ्गतिले गाजेको मनस्थिति सोच र सिस्टममा हठात् दिनदहाडै बालेनको डोजर चल्यो,बाटाका कैयौँ पसल ढले,घरका केही अंश ढले बाजाबाज या भनाभनको दोहोरी पनि चल्यो । आफूले मतदान गरेर जिताएको साथिले साथीकै पसलमा डोजर लगाउँछ भन्ने विश्वासै नगरेको तर पनि डोजर चलायो, साथीको पसल भत्कियो तर साथी कत्ति पनि रिसाएन बरु अझै बढी फ्यान बन्यो, मतदाताहरू कति पछुताए कैयौँ रमाए पनि । आफ्नै कम्पाउण्ड भत्कियो, आँगन भत्कियो तर पनि उसैको जयजयकार पनि धेरै देखियो दृश्यहरूमा ।

एउटा नगरपालिकाको सामान्य मेयरसँग अवैध संरचना भत्काएको प्रसङ्गमा पूर्वमन्त्रीहरु समेतको रस्साकस्सीको दोहोरी पनि नचलेको होइन । मनि मसल र शक्तिको आडमा अवैध धन्दा गर्नेहरूलाई यतिबेला निल्नु न ओकल्नु बनेको छ बालेन, उसको डोजर र सकारात्मक सोच । कानुनमा टेकेर न्यायको खोजीमा हिँडेको एउटा कार्यवाहक प्रमुख युवाको यो सराहनीय कदमलाई कतिले दम्भ भने कतिले उत्तेजना, कतिले उरन्ठेउला युवाको आक्रोशको संज्ञा पनि दिन भ्याए तर रोकिएन उसको कदम, उसको साहस अनि गैरकानूनी कार्यलाई समाप्त पार्ने उसको सकारात्मक जुनुन । उ स्वतन्त्र मेयर थियो न कसैलाई रिझाउनु थियो उसले न कसैको गलत नियतमा साथ नै दिन्थ्यो ऊ त सिंह बनेर गर्जियो।बनाउन लाग्यो सफा चुट् राजधानीलाई ।

देश बनेको हेर्न चाहने, सफा सुन्दर हराभरा शहरको कल्पना गर्ने तर आफैँले सडक मिचेर बनाएका अवैध संरचना हटाउँदा भने सत्तो सराप गर्ने, राज्यलाई तिर्नु पर्ने कर नतिर्ने आम मानसिकतामा अब भने केही परिवर्तन होला कि ?

‘बडाले जे गर्‍यो काम हुन्छ त्यो सर्वसम्मत ..’ भन्ने उक्तिलाई गलत साबित गर्दै काठमाडौँका मनोरञ्जन पार्कलाई वर्षौँदेखि तिर्न बाँकी कर तिराइएको क्रमशः चर्चित क्यासिनोहरुलाई पनि कर असुलीले पत्र पठाइसकिएको, बिद्युत् प्राधिकरण, नेपाली सेना प्रहरीमा पनि ताकेता गरिएको यावत घटना परिघटना र दृश्यहरूले अब देश सुन्दर बनाउने हो भने पहिला नागरिकको मनस्थिति सुन्दर बनाउनु पर्ने रैछ भन्ने आम नागरिकको सोच परिवर्तन हुने बेला आएको छ । ‘म खाऊँ, मै लाऊ, सुख सयल वा मोज म गरूँ म बाँचूँ मै नाचूँ अरू सब मरुन् दुर्बलहरू’ यस्ता व्यक्तिगत स्वार्थ जडित सोच र अहङ्कारहरू हामीले चाँडै नै त्याग्न जरुरी छ ।

आफू बसेको वातावरण आफ्नो समाज अब आफैँले बनाउने हो।मन सुन्दर राख्नलाई तपाई हाम्रो सोच र मनस्थिति सुन्दर हुनैपर्छ । फोहोरमा बसेर सुगन्धको कल्पना गर्नु कल्पनामा मात्रै सीमित हुनेछ । यदि सुगन्धमा रमाउन चाहने हो भने त्यो फोहोरको डङ्गुरबाट पहिले आफू निस्कनै पर्छ अनि मात्रै सुगन्ध पाउन सक्नुहुनेछ चारैतिर। सुन्नु भएको छ नि आफू भलो त जगतै भलो ।

बालेन त यो देशको एउटा प्रतिनिधि पात्र मात्र हो अब बालेन जस्तै सक्षम जनप्रतिनिधि हामीले धेरै जन्माउनुपर्छ मुलुकमा । सक्षम र निजभरि व्यक्ति अघि बढाउनुपर्छ यदि परिवर्तनको सङ्कल्प तपाई हामीमा छ भने । अब तपाई हामी केही भोगेका केही देखेका र केही जानेका युवाहरू जाग्ने समय आएको  छ।विकसित मुलुकहरूको सिस्टम देखि भोगी स्वदेश फर्केका युवाहरूले आफ्ना परिवारलाई “नो नट अगेन” भन्ने कुराको सही अर्थ बुझाउन सक्नुपर्छ । परिवर्तन तपाई हामीले आफ्नै घरबाट शुरु गर्ने हो, राजनैतिक चेत अब यसपाला खुलाउनु पर्नेछ । राजनैतिक दास मनोवृत्तिबाट धेरै माथि उठ्नुपर्ने सही बेला भएको छ ।यो श

ताब्दीमा देश देश जस्तै बनाउनु पर्ने छ बस्न लायक, डुल्न लायक, विदेशी पर्यटनहरुलाई निमन्त्रणा गर्न लायक, कुनै पनि व्यवसाय गर्दा सुरक्षाको प्रत्याभूति गर्न सकियोस्, व्यक्तिगत सम्पत्तिको सुरक्षा होस्, बालबालिका सुरक्षित हिँड्न सकुन्, महिलाहरू एक्लै हिँड्दा सुरक्षित महसुस गर्न सकुन् ।

मोहम्मद महाथिरले बनाएको मलेसिया, लि क्वानले पल्टाएको सिंगापुर, अमेरिकाले हानेको बमको चोट पाई खरानी भई माथि उठेको जापान कसरी यत्रो समुन्नत बन्न सक्यो । गरे के नै नहुने रैछ र ? अब पनि पुराना अनुहारहरूलाई दोष मात्रै लगाएर दोहोरी मात्रै खेल्ने हो भने परिवर्तन सम्भव छैन शताब्दियौँसम्म पनि । अबका युवाहरू परिवर्तनको बाधक नभै संवाहक हुनुपर्दछ। फेरि पनि पुरानै खेल तपाई हाम्रा कारणले दोहोरिन दिनै हुन्न । व्यक्तिगत स्वार्थरहित,कुनै क्षेत्रमा लोकप्रिय भई विज्ञता हासिल गरेका नयाँ अनुहारहरू राजनीतिमा देखिएका छन् अब हामीले पुरानो बानी परेका हातहरूलाई नयाँ गोलाकार भित्रको आकारमा बानी पार्नु पर्दछ ।

तपाई हामीले सानो चेतनाको परिधि उघ्रायौ भने परिवर्तन सम्भव छ यसै पाला अब देशमा ।अब हामी नेपाली सबैले त्यही पुरानो चलन चलाई राख्नेहरूलाई होइन परिवर्तनका बाहकहरूलाई सहयोग गर्नुपर्दछ । अब चिर निद्राबाट बिउँझिएर अबको सय वर्षपछि सम्म देख्ने निजभरि र सक्षमहरूलाई सहयोग गर्नुपर्छ ।उदाहरण नै लिने हो भने स्थानीय निकायका प्रमुख हर्क साम्पाङले यति छोटै समयमा राज्यले गर्न नसकेको होइन नगरेको कारण पानी नपाएका धरानवासीले पानी पाए, बालेनले कानुनमा टेकेर अवैध संरचनाहरू सबै भत्काइदिए जुन वर्षौँदेखि राज्यका निकायहरूले गर्न सकेनन् ।

यो परिवर्तनको समय हो, फेरिन समय लाग्छ तर यसपाला सही समय आएको छ चारैतिर सक्षमहरूले नेतृत्व लिने सङ्कल्प गर्दै आफ्ना बिचारहरू पोखिरहेका छन् । अब नयाँ सक्षम र गर्नेहरूलाई छान्ने उचित समय आएको छ अब भने ढिला गर्नै हुन्न अब पनि ढिला गर्‍यौ भने हामी कहिल्यै माथि उठ्ने छैनौ चेतना भया ।

अब बालेनको बुलडोजर जस्तै राज्य चल्नुपर्छ । गलतलाई भत्काउनु पर्छ, टुकुचा भेट्नुपर्छ । विकृति र विसङ्गतिको खाडल मेट्नुपर्छ । आउनुहोस् यसपाला सबैले आ-आफ्नो ठाउँबाट एउटा सक्षम पत्रकारलाई जिताऔँ, सक्षम इन्जिनियर, सक्षम वकिल, सक्षम डाक्टर अनि विभिन्न क्षेत्रका विज्ञहरूलाई जिताएर हेरौँ त ! आशा राख्नेहरूले आस लाग्नेहरूलाई जिताउनुपर्छ अनि पनि भएन भने हामी सबै मिलेर यिनै पुराना नेताहरूलाई देश जिम्मा दिएर काशी जाऔँला नि ।

  • मोहन खतिवडा
    टोकियो, जापान
तपाईको प्रतिक्रिया