बुधबार, आश्विन १२, २०७९
Wednesday, September 28, 2022

जापानमा बस्ने नेपालीहरुको गतिविधिले यहाँ रहेका नेपालीहरुको अवस्थालाई चित्रण गरिरहेको हुन्छ । यहाँ हुने नियमित गतिविधि, पछिल्लो समयमा नेपालीहरुको बढ्दो आकर्षण, उन्नति-प्रगति, नेपाली लक्षित कार्यक्रम र परिवर्तित सन्दर्भका कठिनाई आदिबाट जापानको नेपाली समुदायको औसत अवस्था आंकलन गर्न सकिन्छ । यहाँ भूगोल, क्षेत्र, वर्ग, विचार, सम्प्रदाय र पेशागत हिसाबले प्रतिनिधित्व गर्ने दर्जनौ संघ-संस्थाहरु क्रियाशील छन् । उनीहरुबीच प्रभावकारी समन्वय एवं सहकार्यको चरम अभाव देखिन्छ । यदि त्यसो नहुँदो हो त साबिकको भन्दा एक तह माथि उठेर बृहत नेपाली एकताको थप भावनात्मक बिकास हुँदै जानेथियो तर त्यसो भएको देखिदैंन ।

हामीले कोभिड-१९ को लामो र कष्टपूर्ण कालरात्रिको कहर गुजार्दै आएका छौं । यो बीचमा हामीले संस्थागतरुपमा वा ब्यक्तिगतरुपमा आफु बसेको समुदायका लागि गर्नैपर्ने दायित्व के कति निर्वाह गर्न सक्यौं वा सकेनौं अर्थात नगरे पनि हुने अनावश्यक बिषयमा के कति समय र ऊर्जा खर्चियौं, समीक्षा गर्ने बेला आएको छ । समाजमा उन्नत चेत भएका ब्यक्तिहरु ज्यादै कम हुन्छन् ति मध्य पनि धेरैजसो आफ्नै पारिवारिक घेराभन्दा बाहिरको दुनियाँसंग खासै मतलव राख्दैनन् । विचारशुन्य औसत मानिसहरुको जमात र ठेलमठेल भिडले मात्रै परिणाममुखी कार्यसम्पादन हुन सक्दैन । नेपाली समुदायको वर्ग चरित्र लगभग यस्तै यस्तै परिदृश्यमा घुमिरहेको छ भन्दा अतिशयोत्ति नहोला ।

देश-दुनियाँ र समाज बदल्न अर्थात आफ्नै जीवनस्तर उकास्न साबिकको सोंचभन्दा एक तह माथि उठ्नैपर्छ । त्यसका लागि मानिसमा सकारात्मक चेतनाको राँको सल्कनैपर्छ र त्यस प्रकारको दिब्यज्योति अन्तर्मनभित्र घुसाउन कसै न कसैबाट दीक्षित एवं प्रभावित हुने गरेका उदाहरणहरु प्रशस्त भेटिन्छन् । त्यसो भएको हुनाले हाम्रो चेतनाको स्तरलाई उकास्न र थप फराकिलो बनाउन आवश्यक छ भन्ने बिषयलाई मनन् गर्दै त्यसप्रकारका अध्ययन, प्रशिक्षण, गोष्ठि, सेमिनार, छलफल, बहस, अन्तरक्रिया केन्द्रित बौद्धिक कार्यक्रमहरु नियमित हुनु जरुरी छ । तर जापानको नेपाली समाजको यतातिर ध्यान जान सकेको छैन । केवल भोजभतेर, नाचगान, मनोरञ्जन र भिडभाडमै रमाउँदै आएका हामीले अबको पुस्तालाई के हस्तान्तरण गर्दैछौं भन्ने बिषयमा अब भने ढिला नगरी गम्भीर हुनैपर्छ । कथाले मागेका खँदिला बिषयहरुलाई बेलैमा पर्गेल्नै पर्छ ।

आज भन्दा एक दशक पछाडि फर्केर हेर्‍यौं भने आजको अवस्थामा सन्तोषको सास फेर्ने ज्यादै कम बिषयहरु भेटिन्छन्, जति हुनुपर्थ्यो । यो बीचमा ठूलो संख्याका नेपालीहरु कामदारको अवस्थाबाट एक तह माथि उठेर स्वरोजगारीको तहमा अर्थात ब्यवसायिक क्षेत्रमा बढुवा भएका छन् । यो ज्यादै सकारात्मक पक्ष हो । ब्यवसायको कुरो गर्नुपर्दा अपवाद बाहेक बहुसंख्यक नेपालीहरुले नान र करीको बिजनेशभन्दा माथि उठ्न सकेको देखिदैंन । यदाकदा भएता पनि अरु कसैको देखासिकी अर्थात कपी एण्ड पेष्ट गरेको देखिन्छ । हामीले कोरियन, चाइनिज, भियतनामी लगायतका अन्य समुदायबाट बिजनेशको मोडेल पटक्कै सिक्न सकेनौ । हाम्रो ब्यवसायिक प्रतिस्पर्धा अरुसंग नभएर नेपालीसंगै हुने गरेको छ, खासमा हुनुपर्ने अरुसंग हो ।

जापान जस्तो श्रमको सम्मान गर्ने र इमान्दारिताको पर्यायवाची मानिने सँस्कारी मुलुकमा दशकौं बस्दै गर्दा हामीले समुहमा मिलेर ब्यवसाय गर्ने सँस्कारको पनि अपेक्षित बिकास गर्न सकेनौं । ठूला स्केलका ब्यवसाय गर्न एक्लै संभव नहुने भएकोले समुहमा मिलेर गर्न सके जोखिम कम हुने, धेरैको लगानी, मिहिनेत र अनुभव एकत्रित हुने हुँदा सफल हुने संभावना उच्च रहन्छ । यो दिशामा पनि नेपाली समुदायको सोंच बिस्तारै परिवर्तन गर्न जरुरी छ ।

हामीले चाहिँदा नचाहिँदा अनावश्यक बिषयमा लम्बेतान विवाद, गलफत्ती र दन्तबझान गरेर महिनौ समय गुजार्ने गरेका छौं । यसले कसैलाई फाईदा गर्दैन । यो समय र उर्जालाई अन्य महत्वपूर्ण बिषयमा उपयोग गर्न सके सार्थक परिणाम हासिल हुनेमा शंका छैन । त्यसैले नजानिदों तवरले अनुत्पादनशील क्षेत्र र बिषयमा ब्यतित भईरहेका हाम्रा महत्वपूर्ण समय र ऊर्जालाई बेलैमा नियन्त्रण गरी उत्पादनशील क्षेत्र अर्थात आर्थिक समृद्धि तथा वौद्धिक क्षमता हासिल गर्ने क्षेत्रमा भरपुर उपयोग गर्नेतर्फ अब हामी सबैको ध्यान केन्द्रीत हुनुपर्दछ । त्यसका लागि समाजका हरेक अगुवा एवं सचेत वर्गको सार्थक पहलकदमी वाञ्छनीय छ ।***

तपाईको प्रतिक्रिया