बुधबार, आश्विन १२, २०७९
Wednesday, September 28, 2022

एउटा काग आफूलाई संसारका सर्वाधिक हिरो ठान्दो रहेछ । घुम्दै जाँदा एकदिन हिउँजस्तो सुकिलो बकुल्लासँग जम्काभेट भएपछि उसको घमण्डको पारो झरेर शून्यमा पुगेछ । बकुल्लाको सौन्दर्यमा लठ्ठ पर्दै जिज्ञासा राखेछ- ‘म आफूलाई संसारको हिरो भन्ठान्थेँ तर तिमी देखेपछि फिका सम्झिन थालेको छु । तिम्रो जीवन कति सुन्दर होला । तिमी कति सुखी र खुसी हौला है ।’ कागको बखान सुनेपछि बकुल्लाले चिसो सास फेर्दै भनेछ- ‘दुई पाटे सुगा नदेखुञ्जेल त मलाई नि त्यस्तै लाग्थ्यो तर ऊसँग भेटेपछि मैले मेरो सौन्दर्य नै बिर्सिएँ । हिरो हुँ भन्ने भ्रम टुट्यो । सुगाको सौन्दर्य पो सौन्दर्य ।’ कागले भेटाइदिन हुटहुटी लगाएपछि काग र बकुल्ला सुगाको अगाडि पुगेर प्रशंसाको बाँध बाँध्न थालेछन् ।

प्रशंसाबाट फुल्नु साटो सुगाले आफू पिँजडाको बन्दी भएकोमा दुखेसो गर्दै बरु सच्चा सौन्दर्य हेर्न आफूसँगै हिँड्न आग्रह गर्दै चिडियाखाना लगेर मयूरसँग भेट गराइदिए छ । मयूरको नौरंगी इन्द्रेणी छट्टाले भरिपूर्ण कायाकल्प देखेर काग र बकुल्ला तीन चित खाएछन् । उनीहरूलाई लागेछ- ‘यस्तो सौन्दर्यको खानीसँग त जे चितायो, त्यही पाउने सामर्थ्य हुँदो हो । स्वर्गको भोगले जीवन घेरिएको होला ।’ यही सोचेर काग र बकुल्लाले मयूरको बखान थालेछन् । बखानबाट झन् उद्वेलित मयूरले आँसु झार्दै भनेछ- ‘यही सौन्दर्यका कारण आज म चिडियाखानाको चार दिवारभित्र कैद भएको छु । न रोजेर खान पाउँछु, न चाहेको ठाउँ जान सक्छु । सौन्दर्यले मलाई जिन्दगीभर बन्धक बनाएको छ । कतिबेला कसले बाण तेर्स्याउँछ पत्तो हुँदैन ।

कालो भएर के भो ? तिमी सधैँ स्वतन्त्र छौ । आफ्नो मर्जीको जीवन बाँचेका छौ । यदि अर्को जन्म हुने भए म पनि काग भएर जन्मिन पाउँ ।’ मयूरको अनुभव सुनेपछि अरू पन्छीमा खनिएको राम्रो हुने भूतसवार एकाएक हराएछ ।

विश्वका उत्कृष्ट पारिलो घाम लाग्ने दश स्थान छान्दा नेपाल अग्रस्थानमा पर्छ । संसारका समृद्ध मुलुक मानिने युरोप अमेरिकामा रोपिएका बिरुवाले पाँच दशकको आयुमा लिएको उचाइ यहाँको उत्कृष्ट हावापानीका कारण ती वनस्पतिले एक दशकमै प्राप्त गर्न सक्छन् । छोटो दुरीमा हिमाल, पहाडको चिसो र तराईको तातोभित्रको मौसमीय अलौकिक संयोजनको सुयोग यो धरालाई प्राप्त छ । नेपाली समाजको मनोविज्ञान हेर्नुस्- जहाँ सलादजस्तो सबैको अस्तित्व देखिने र सुपजस्तो दर्जनौँ खानेकुराको रस मिसिएको एकमुष्ट सु स्वादिलो मिष्ठान्न पाउन सकिन्छ । स्वनामधन्य लेखनाथ पौड्याल, टोनी हागन, हर्क गुरुङ, डोरबहादुर विष्ट, सत्यमोहन जोशी, माधव घिमिरेका कृतिहरू हेर्नुस्, पढ्नुस्, छाम्नुस् अनि आँखा चिम्लँदै सत्य चिहाएर आफ्नो मुटुलाई सोध्नुस् त मुटुको धड्कनले भन्नेछ- ‘सौन्दर्यको जिजीविषामा भड्किएका काग र तिमीहरू उस्तै हौ । मयूरको नौरंगी आभूषणलाई सत्य ठानेर भड्किने काम बन्द गर । बाहिरको आवरण र भित्रको सत्यमा आकाश जमिनको फरक छ । जतिसुकै आकर्षक भएपनि कागजको फूलमा भमरा आएर बस्दैन । स्वतन्त्रताविनाको स्वाधीनताको कुनै अर्थ छैन । जुन चीजलाई हिउँ ठान्छौ, फगत त्यो कपासको उरुङ साबित हुनेछ । त्यसैले तुलना गरेर दुखी हुने काम अहिले बन्द गर नेपाली आत्माहरू ।’

नेपालका लागि संसारमा चलेका कुनै शासकीय मोडलको नक्कल जरुरी छैन । डेढ दशक काटमारमा फसेको मुलुक शान्तिको यात्रासँगै पूर्ववत् अवस्थामा फर्कियो । समाजको हार्दिक सामीप्य सही सलामत रह्यो । घटनालाई नमिठो सपना ठानेर दुवै पक्षले क्षमादान दिए । आफूले गरेको उत्कृष्ट फसल बीउका लागि जुगाड गर्ने दूरदर्शी चरित्रका कारण नेपालमा भोकमरी नामको पदार्थ न हिजो थियो, न आज छ न त भोलि नै रहने छ । नाता लगाएर फरासिलो भएर बोल्ने संस्कृति संसारका शायदै ठाउँमा पाइन्छ । दुख लुकाउने अद्भुत कला नेपालीसँग मात्र छ । अमेरिकामा बाहिर हेर्दा चरम स्वतन्त्रता देखिन्छ तर अलि जोडले हाछ्यूँ गर्नुभयो भने घर पुग्दा कम्प्युटरमा राज्यले खोटा हानिसकेको हुन्छ । हर्जनाको रकम बुझाउँदा घण्टे कप्तानीको घनचक्करले तोरीफूल देख्ने नेपालीहरूको सङ्ख्या गनी साध्य छैन । चक्रव्यूहको चपेटामा फसेका उनीहरूले हाँस्न बिर्सिसकेका हुन्छन् । हाँस्नेहरूप्रति उनीहरूको कटाक्ष फेसबुकमै हेरे प्रष्ट हुन्छ । सबैथोक पाएर पनि केही नपाएको एकांकी जीवन उनीहरूका लागि उपहार हुनपुग्छ ।

सडकमा थुकेको हर्जना समेत न्यूनतम ५ सय रियाल तिराउने खाडीको कुरै नगरौँ । युरोप, एशियाका समृद्ध देशमा समेत नेपालमा जस्तो जनता हिरो भएको दृश्य कहीँ देख्न दुर्लभ हुन्छ । लाग्न सक्छ- जनताभन्दा त नेता दशकौँदेखि हिरो छन् नि । हो, जनताले पुलपुल्याएपछि देखिएको दृश्य हो त्यो । अरूको सौन्दर्यमा रमाउने हामी मुलुकका तीनवटा कार्यकारी पद महिलाले पाएको विश्व इतिहासको दुर्लभ दृश्य बाहिरी संसारमा लानै सकेनौँ । एउटै पिताका तीन सन्तान सरकारको कार्यकारी प्रमुख भएको अरू कुन देशको इतिहासमा छ ? अमेरिकी राजनीतिमा अत्यन्त शक्तिशाली मानिने विदेश मन्त्रालय समेत सम्हालेकी हिलारी क्लिन्टन विश्वका करोडौँ करोड शुभेच्छुकको शुभेच्छाका बाबजुद हार्न पुगिन । जबकि कुर्सी नहुँदा पनि विश्वमै सर्वाधिक लोकप्रिय नेता बिल क्लिन्टन उनका सहकर्मी, सहधर्मी दुवै भएर पनि त्यो ताज हात पर्न सकेन । छिमेकी उत्तरतिरका जनता कामबाहेक अरू चिन्दैनन् । राज्यले दिएको सर्वसुलभ सुविधा पनि त्यही नै हो । दक्षिणको छिमेकी देश नभएर महादेश हो । त्यहाँका शासकले आफ्नै देशको शासकीय बागडोर सम्हाल्न सकेको इतिहास छैन । एकातिरका किसान समृद्ध देश बोक्ने हिम्मत गर्छन् अर्कातिर त्यही देशका किसान सरकारको ऋण तिर्न नसक्दा आत्महत्या गर्छन् । जापान, कोरिया, थाइल्याण्ड समृद्ध बनेका मुलुकको आँखीझ्याल चिहाउनुस् त, त्यहाँ कामको विकल्प काम बाहेक केही हुन्न । देशको हित हेर्दाहेर्दै आफूलाई बिर्सिँदा जन्मदर घटेर देश धान्नसमेत कठिन हुने अवस्थामा पुगेका छन् ।

हामी चिप्लिएका जरुर हौँ तर लडेका हैनौँ । जुन बेला संसार टुकी युगमा थियो, त्यसबेला हामीले बिजुली बाल्यौँ । शासककै नाममा किन नहोस्, सिँचाइका लागि चन्द्रनहर बने । विश्व ढुंगेयुगमा हुँदा गेहेन्द्रशम्शेरले मेशिन गन बनाए । काठमाडौँका मानवबस्तीभित्र बिजुली, टेलिफोन र केबुलका कालातारले एक्काइसौँ शताब्दीको मानव सभ्यतामाथि धावा बोल्दा दशकौँअघि दरबारमार्ग, सिंहदरबार र न्यूरोडको भूमिगत वाइरिङले बताउँछ- हामीले नजानेर यस्तो अव्यवस्था कहाँ गरेको हो रहेछ र ? करोडको गाडी चढेर सडकमा गौरवका साथ केराको बोक्रा फालेर सरकारविरुद्ध फलाक्नेहरू ठूलो पिलेन चढेर अर्को माटो टेक्नासाथ चकलेट खाएको खोल आफ्नो गोजीमा विसर्जन गर्ने नेपालीलाई असभ्य कसरी भन्न मिल्छ ?

यहाँ गरिएका यावत हेलचेक्र्याइँ लाटो छोराले बाउ घुर्क्याएजस्तै हो । सेना, पुलिस, निजामती, विश्वविद्यालयको उच्च जागिर त्यागेर बेलायत, अमेरिका छिर्नेहरूका समाचारले पोत्ने जति सबै ठाउँमा दृष्टिकोण अनुसारका राय बझाउँछौँ । तर दुखसुख जे भएपनि आफ्नै धर्तीमा पाखुरी बजाएर खाइन्छ भन्दै विदेशको आकर्षक अवसर त्यागेर नेपाल फर्कनेहरू पनि उत्तिकै छन् । तर हामी तिनीहरूलाई मूर्ख ठानेर मान्छेको सम्मान दिन डराउँछौँ । किनकि हामीलाई राष्ट्रपतिमा जितेकी आफ्नो  देशकी विद्या भण्डारीभन्दा हारेकी हिलारी क्लिन्टनको इतिहास प्यारो छ । जन्मदिने आमाभन्दा कर्म दिने आन्टीहरूप्रति श्रद्धा छ । यदि विदेशीलाई मान्ने हो भने १४ हजार किलोमिटर पैदल यात्रा गरेर आफ्नो देशको भौगोलिक चिनारी हातमा राखिदिने टोनी हागनको त्यो विराट गुनप्रति खोइ हामी कृतज्ञ भएको ? नेपालका कुन भूवेत्ता वा राजनेताले त्यो काम गरेको छ ? देश विकासको अकाट्य मोडल दिने डा. हर्क गुरुङलाई भन्न पनि लाज हुने मत दिएर पराजित गर्ने त नेपाली मतदाता नै त हुन नि ।

डोरबहादुर विष्टले अहोरात्र भीरपाखा पहरा डुलेर नेपाली समाजको हुबहु परिचयको खाका दिए । तर हामीले समाजमा विभाजनको रेखा कोरेर डोरबहादुरको सामाजिक सेतुको डोरी मुसा बनेर काट्यौँ । भएका मान्यता किलो जरो उखेल्ने अनि नयाँ मान्यता स्थापित गर्न नसक्ने अचम्मको रोगले घरबार ग¥यो । नेपालमा बर्सेनि अरबौँका सवारी साधन किनबेच हुन्छ । यहाँका सडकमा कुदाइने मोटरसाइकलको लोकप्रिय मोडल भारतमा डिजाइन गर्ने काम नेपाली कामदारले नै गरेका छन् तर एउटा मोटरसाइकलको प्लान्ट नेपालमा स्थापना गर्ने चेत न उद्योगीमा छ, न योजना बनाउनेहरूमा । रामदेवले नेपालमै जन्मिएका बालकृष्णलाई सिखण्डी बनाएर नेपालका जडीबुटी भारत लाँदैछन् । उतैको गोमूत्रको जालसाजीमा परेर यता गाई मास्न उद्यतहरूलाई कृषिक्रान्तिका नायक बनाएर अबिर जात्रा गर्ने काम हुन्छ ।

नेपाल किन हरेक सम्भावनाका बाटाबाट ओरालो लाग्यो ? यसको उत्तर पनि हाम्रो सबै तह र तप्काका मानिसहरू बाख्रा गोठाला जस्तो भएर नै हो । फटाहा त फटाहा भए नै, शिक्षित र सज्जन भनिएकाहरूको पनि हिसाबको जोड एउटै परिणाममा आएर ठोक्किन्छ । कठ्याङ्ग्रिँदो जाडोमा कार्यकर्तालाई आइसक्रिमको व्यापार गर्न पठाएर आफू चाहिँ एयरकन्डिसनमा रमाउने राजनीतिक बेइमानीको एन्टीभाइरस पत्ता नलगाएसम्म एक जोड एक दुई नभएर एघार बन्ने चटकी परिणाम कहिल्यै रोकिँदैन । दुखको सबैभन्दा ठूलो मूल कारण आजको मानिस आफूले पाएको दुखबाट कम, अरूको दुख देखेर बढी चिन्तित छ । जहाँ इष्र्या हुन्छ, त्यहाँ मानवताको बीउ भेटिन्न । हामी सत्य चाहान्छौं । तर असत्य छ । जीवन चाहान्छौं मरण छ । संयोग चाहन्छौ, वियोग छ । काम, क्रोध, लोभ, मोह त्यस्ता भाइरस हुन, जसले श्रद्धा, प्रेम र विश्वासलाई सखाप पारिदिन्छन् । आफू कमाएर आफै खानु मानव स्वभाव हो । आफू नकमाई अरूको खोसेर खानु विकृत हो । आफू कमाएर अरूलाई ख्वाउनु नै असल संस्कृति हो । सभ्यता हो । यसैले भनिन्छ- ‘मन कर्मी हो, बुद्धि ज्ञानी हो, आत्मा प्रेमी हो र प्रेम मुक्ति हो ।’

जिन्दगीको यो रजतपटमा हामी कोर्रा र खोर्सानीलाई पालैपालो आफ्नो रोजाइको विषय बनाउन बाध्य छौँ । कोर्राको नीलडामले पोल्न थालेपछि खुर्सानी बिसेक लाग्छ भने खुर्सानीले राल सिँगान भएपछि कोर्रा नै प्यारो लाग्छ । प्रकृतिको नियम नै संसारको अकाट्य संविधान हो । तपाईँ एकपल्ट घोत्लिनुस् त मौरीलाई मह सङ्ग्रह गर्न कसले सिकायो ? लामुखुटे र उडुसले टोकेर भाग्ने ज्ञान कहाँबाट पाए ? तिनीहरूको कुनै स्कुल कलेज छ ? हो हामी झनझन सतही भएका छौँ । खाएर गर्ने वा गरेर खानेमा अलमलिएका छौँ । समग्रमा हामी त्यही विरालोजस्तो भएका छौँ, जसले दूध चोरेर खाएको कसैले देख्दैन, कुटाई खाएको सबैले देख्छ ।

तपाईको प्रतिक्रिया