शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

नागोया – जापानको नागोया शहरमा आयोजित नेपाल फेस्टिभल सम्पन्न भएको छ । नेपाल र नेपाली चिनाउने अभियानसहित आयोजना गरिएको दुईदिने नेपाल फेस्टिभल सफलतापूर्वक सम्पन्न भएको हो ।यही ३ र ४ तारिखका दिन आयोजित नेपाल फेस्टिभल सोचेभन्दा पनि सफलता पूर्वक सम्पन्न भएको एनआरएनए नागोयाका उपसंयोजक भेषनाथ गौतमले जानकारी दिए । फेस्टिभलमा पानी पर्ने चिन्ताले आयोजकलाई चिन्तित बनाएपनि मौसमले साथ दिएपछि दर्शकहरूको घुइँचो लागेको थियो ।जापानको नागोयामा अवस्थित तोकाई वाटिका इन्टरनेशनल स्कुलका अध्यक्ष डा सुदिप अधिकारीले फेस्टिभल जापानमा भएका नेपालीका फेस्टिभलमध्ये उत्कृष्ट रहेको बताउँछन् । फेस्टिभलमा नेपाली रेस्टुरेन्ट एवं अन्य सेवा प्रदायक तथा व्यावसायिकसहित २७ वटा स्टलहरू राखिएका थिए । एनआरएनए क्षेत्रीय समिति नागोया र नेपाली राजदूतावास टोकियोको संयुक्त आयोजनामा भएको फेस्टिभलमा जापनिजहरूले पनि मनोरञ्जन लिइरहेका देखिन्थ्यो । फेस्टिभलमा बार्दली भएको नेपाली घरमा फोटो खिच्नेको भिड देखिन्थ्यो ।फेस्टिभलको उद्घाटन प्रमुख अतिथि नेपाल सरकारका पूर्व गृह तथा रक्षा मन्त्री डा. मिलेन्द्र रिजालले गरेका थिए भने कार्यक्रमको अध्यक्षता फेस्टिभल आयोजक समिति संयोजक दीपक कार्कीले गरेका थिए । फेस्टिभल सकिएपछि पनि राति अबेरसम्म फोहर मैला व्यवस्थापनमा फेस्टिभल आयोजक समितिका संयोजक दीपक कार्की एवं अन्य पदाधिकारी लागेका देखिन्थे । फेस्टिभल सम्पन्न गर्न सहयोग गर्ने सबैलाई कार्कीले धन्यवाद ज्ञापन गरेका छन् ।राजधानी टोकियोबाट फेस्टिभल अवधिभर रिपोटिङ्गका लागी नागोयामा रहेका पत्रकार नारायण रिमालले फेस्टिभल सफल भएको बताए  । ‘नागोयाको नेपाल फेस्टिभल २०२२ साँचिकै सफल भएको मैले माने । केही व्यवस्थापकीय कमजोरी रहे पनि फेस्टिभल सफलता पूर्ण सकिएको छ,’ उनी भन्छन्, ‘जापानमा नेपाल चिनाउने उद्देश्यसहित आयोजित फेस्टिभलमा जापानीहरूको उल्लेख्य उपस्थिति रहनु र नागोया शहरको मेयर र गभर्नरको उपस्थित हुनुलाई आयोजकको कडा मेहनतको रूपमा मैले लिएको छु, जुन अत्यन्तै सकारात्मक पक्ष हो ।’फेस्टिभल अवलोकन गर्न आएका नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले फेस्टिभल सफल भएको बताउँछन् । फेस्टिभलमा नेपालीसहित उल्लेखनीय जापनिजको उपस्थिति रहेको उनको भनाई छ । नेपाल चिनाउने यो अभियानमा अझैं जापनिजलाई नेपाल जाँदा र बसाइँको क्रममा लाग्ने खर्च एवं विविध जानकारी राख्दा झैँ राम्रो हुने उनको सुझाव छ ।फेस्टिभलमा  नेपालबाट आएका चर्चित कलाकारहरू बद्री पंगेनी, सम्झना भण्डारी र राजु लामालगायत स्थानीय कलाकारहरूले मनोरञ्जन दिएका थिए । दर्शकहरू उनीहरूको गीत संगितमा मस्त देखिन्थ्यो । फेस्टिभल उद्घाटन पूर्व पञ्चेबाजासहित विभिन्न जनजातिहरूको झाँकीले फेस्टिभल परिसर परिक्रमा गरेका थिए । फेस्टिभलमा १ करोड दश लाख येनको हाराहारीमा आर्थिक संकलन भएको र छिट्टै हिसाब सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया