काठमाडौं – राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित भएको छ । प्रतिनिधिसभाबाट पारित भएको विधेयक राष्ट्रियसभाबाट पनि बहुमतबाट विधेयक पारित भएको हो ।
यसअघि प्रमाणीकरणका लागि पठाइएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी थिइन् । तर, पुनर्विचारका लागि फिर्ता भएको विधेयक दुवै सदनबाट हुबहु पारित भएको हो । अब सभामुखले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने र राष्ट्रपति १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
राष्ट्रिय सभाले पनि राष्ट्रपतिले फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पारित गरेसँगै अब विधेयक कानुन बन्ने भएको छ । विधेयकले कानुनी हैसियत पाएसँगै जन्मसिद्ध नागरिकता पाएका नेपाली नागरिकका सन्तानले नागरिकता पाउनेछन् । त्यस्तै विधेयकले पहिलोपटक विदेशमा रहेका गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्ने छ ।