शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

नागोया – नागोया जापानको राजधानी टोकियो र अर्को सहर फुकोओकामा भव्यताका साथ सम्पन्न नेपाल र नेपाली चिनाउन गरिएका फेस्टिभलपछि जापानको तेस्रो ठूलो सहर र नेपालीहरू धेरै बस्ने नागोयामा नेपाल फेस्टिभल हुने भएको छ । एनआरएनए क्षेत्रीय समिति नागोया र नेपाली राजदूतावास टोकियोको संयुक्त आयोजनामा उक्त फेस्टिभल हुन लागेको हो । फेस्टिभलमा जापानमा रहेको नेपालीका संघसंस्थाहरुको पनि साथ सहयोग रहेको छ । यही शनिबार र आइतबार हुने नेपाल फेष्टिवल के का लागि ? यी र यस्तै जिज्ञासा मेट्न नागोयामा हुन लागेको नेपाल फेस्टिभलका संयोजक एवं एनआरएनए आइसीसी सदस्यसमेत रहेका दिपक कार्कीसँग गरिएको कुराकानी :-

फेस्टिभलको तयारी कहाँ पुग्यो ?
हामीले फेस्टिभलको सम्पूर्ण तयारी सकेका छौं । सबैको साथ र सहयोग बाट हामीहरू यहाँसम्म आइपुगेका हौं ।

फेस्टिभल आयोजना गर्न कत्तिको गाह्रो रहेछ ?
फेस्टिभल आयोजना गर्न र सफल बनाउन चानेचुने कुरा होइन, कुनै बेला एउटा घरमा त कुरा मिल्दैन । हामी यति धेरै मान्छे छौं, सबैको चित्त बुझाउन अवश्य पनि गाह्रो कुरा हो । र पनि सबैलाई समेटेर यहाँ सम्म आइपुगेका छौं ।

यो पनि : नागोया हुने ‘नेपाल फेस्टिभल’को तयारी पूरा, अहिलेसम्मकै भव्य बनाइने

फेस्टिभल अवलोकन गर्न कति येनको टिकटको व्यवस्था गर्नु भएको छ ?
हामीले पहिलो फेस्टिभल जस्तै यसपालि पनि सबैलाई टिकट निःशुल्क राखेका छौं ।

अनि फेस्टिभल सञ्चालन गर्ने खर्च कहाँबाट जुटाउनु भएको छ त ? खर्च त हुन्छ होला ?
खर्च नहुने त कुरै भएन । हामीले जापानमा रहेर व्यवसाय गर्नु भएका नेपाली व्यवसायीहरू, विभिन्न संघसंस्थाहरु र स्वइच्छाले आर्थिक सहयोग गर्नु हुने सबैबाट आर्थिक संकलन गरेर यो फेष्टिवल सञ्चालन गर्दैछौं ।

जापानमा भएका नेपाल फेस्टिभलहरूमा फेस्टिभलको आर्थिक गतिविधि पारदर्शी नभएको र घाटा मात्र देखाइन्छ भन्ने गुनासो छ नि ?
अन्य फेस्टिभलमा पहिलो यस्ता केही गुनासा आएका हुन सक्छन् । नागोयामा यस अघि भएको फेस्टिभलमा हामी करिब ८ लाख येन नाफामा नै थियौं । काम गर्ने क्रममा कहीँ कतै कमजोरी हुन सक्छ । हामीले त्यसलाई सुधार्दै जाने हो । अहिले हुन लागेको नेपाल फेस्टिभलमा सबै आर्थिक गतिविधि बैंकमार्फत गरेका छौं । आर्थिक समिति यो विषयमा सचेत छ। फेस्टिभल सकिना साथ फेस्टिभलको सबै हिसाब सार्वजनिक गर्छौं ।नेपालीले गरेका कार्यक्रममा झैँ झगडा हुने गर्छ भन्नेहरू पनि छन् नि ?
त्यस्तो होइन, हामीले सुरक्षाको पूर्ण व्यवस्था गरेका छौं । जापानी प्रहरीहरुले पनि फेस्टिभलको बाहिरी घेराबाट फेष्टिवल अवधिभर सुरक्षा दिनेछन् । स्वयम सेवकको टिमले पनि फेस्टिभलमा हरेक गतिविधिको निगरानी गर्नेछन् । ठाउँठाउँमा सिसी क्यामेराको पनि व्यवस्था हुनेछ । हरेक जो कोही पनि ढुक्क भएर फेस्टिभलमा आउन र मनोरञ्जन लिन सक्नुहुने छ ।

जापानमा कोभिड सङ्क्रमण रोकिएको छैन, सङ्क्रमण फैलन नदिन कस्तो व्यवस्था छ ?
हामीले फेस्टिभल परिसरमा हेल्थ डेस्कको व्यवस्था गरेका छौं । जहाँ ज्वरो नाप्ने, स्यानिटाइजर गर्ने आदी काम हुन्छ ।

नेपाल फेस्टिभल के का लागि हो ?
नेपाल र जापानबीच वर्षौदेखि सुमधुर सम्बन्ध छ । जापान नेपालको प्रमुख दातृराष्ट्र पनि हो। बर्सेनि धेरै जापानीहरूले नेपाल भ्रमण गर्ने गर्छन् । जापानमा पनि १ लाखको हाराहारीमा नेपालीहरू रहेका छन् । नेपाल फेस्टिभल गर्नु हाम्रो उद्देश्य भनेको जापानीहरुलाई नेपाल चिनाउनु र जापानीहरु सँगको सम्बन्धलाई प्रगाढ बनाउनु नै हो ।

अन्त्यमा, के-के हेर्न सकिन्छ फेस्टिभलमा, कस्तो व्यवस्थापन छ ?
फेस्टिभलमा नेपाली रेस्टुरेन्ट एवं अन्य सेवा प्रदायक तथा व्यावसायिक सहित २७ वटा स्टलहरू रहनेछन् । फेस्टिभलमा नेपाली कला संस्कृति तथा पहिचानबारे विशेष प्रस्तुति रहने छ । जनजातिको पहिरनमा आगन्तुकले फोटो खिच्न सक्नेछन् । नेपाल र जापानका कलाकारहरूले उपस्थित सबैलाई गीत, संगितमार्फत भरपूर्ण मनोरञ्जन प्रदान गर्नेछन् । नेपालबाट आएका कलाकारहरू बद्री पंगेनी, पशुपति शर्मा, राजु लामा, सम्झना भण्डारी, शर्मिला गुरुङ लगायतलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । फेस्टिभलमा बारदली भएको नेपाली घर समेत हेर्न सकिने छ । त्यसैले फेस्टिभलमा आफूसहित आफूले चिनेका जापानीहरुलाई लिएर आउनु हुन म फेस्टिभल आयोजक समितिको तर्फबाट सबैलाई अनुरोध गर्दछु । ***

  • प्रस्तुति : कविकिरण न्यौपाने
तपाईको प्रतिक्रिया