शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको लगातारको संसद् विघटनको कदमविरुद्ध एक कित्तामा उभिएका पाँच दल सत्तारुढ बनेको एकवर्ष पूरा भएको छ । यसबीचमा बाह्यरूपमा त गठबन्धन सरकारको निकै आलोचना र विरोध भयो नै, स्थानीय तह निर्वाचन यता भने गठबन्धनभित्रै पाँचदलबीचको सम्बन्ध बिग्रँदै गएको पछिल्ला घटनाक्रमहरूले पुष्टि गर्दै आएका छन् । सत्तारुढ मध्येको एक घटक नेकपा माओवादी केन्द्र पनि खासरूपमा सन्तुष्ट देखिँदैन । काँग्रेसले दम्भ देखाउन थालेको निष्कर्ष निकालेको उसले ‘गठबन्धन सबथोक होइन’ भनेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त समाजवादी केन्द्र निर्माणको कसरत नै थालेका छन् । यी भेटघाट, बहस, वार्ता तथा सन्दर्भहरूको अर्थ के हो ? मूलतः यिनै विषयमा केन्द्रित रहेर महासचिव देव गुरुङसँग समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंश :-

चुनाव नजिकिँदै गर्दा समाजवादी केन्द्र गठनमा सक्रिय हुनुभयो नि ! यसको आवश्यकता किन पर्‍याे ?
समाजवाद हामी सबैको महसुस हो । त्यसो हुँदा समाजवादी मोर्चा, केन्द्र बन्नुपर्छ भन्ने नै सबैको चाहना र जोड हो । नेपालको संविधानअनुसार बनेको दलसम्बन्धी कानुनले विचार मिल्नेहरूको बिचमा पार्टी एकता गर्न सकिने, इस्युगत आधारमा सहकार्य गर्न सकिने र संयुक्त मोर्चा पनि बनाउन सकिने भन्ने व्यवस्था भएकाले त्यही व्यवस्थाअनुसार हामीले दलीय व्यवस्थामा संवैधानिक र कानुनी आधारमा अभ्यास गरेका हौं । सापेक्षिक रूपमा ५ दलभित्र विचार मिल्नेहरूका बिचमा समाजवादी कार्यक्रमलाई केन्द्रबिन्दु बनाउन खोज्ने दलहरूमाझ उपमोर्चा बन्न सक्ने सम्भावनालाई अस्वीकार गर्न मिल्दैन भन्ने लाग्छ । अहिले सहकार्यमा रहेका चारवटा दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा समाजवादी कार्यक्रम बनाएर अघि बढेका दलहरु हुन् । त्यसैले यी दलबीचको एकतालाई अन्यथा लिन हुँदैन ।

यो मोर्चा काँग्रेससँग बार्गेनिङ गर्न कि एमालेलाई तर्साउन ?
कसैसँग बार्गेनिङ गर्न पनि होइन, कसैलाई तर्साउन पनि होइन । विचार मिल्नेहरूको ध्रुवीकरण यसबेलाको आवश्यकता हो । यही आवश्यकताले नै समाजवादी मोर्चा भन्नुस् वा केन्द्र भन्नुस्, त्यसलाई पनि जन्माउने हो भन्ने हाम्रो जोड हो । वामपन्थी र समाजवादी शक्तिहरूबीचको ध्रुवीकरण यसबेलाको देशको आवश्यकता भन्न थालिएको छ, यसलाई सार्थक बनाउन हामीले नेतृत्वदायी भूमिका निर्वाह गरेका हौं । एजेन्डाको आधारमा एकता पनि एउटा विकल्प हो भने अर्कोचाहिँ सैद्धान्तिकरूपमा पनि छलफल गर्दै जुट्नुपर्छ भन्ने हो । राम्रो त वामपन्थीहरूबीचको एकता नै हो । हामी यसमा थप कुराकानीसमेत गरिरहेका छौं । हामी सत्ता गठबन्धनमा रहेर स्थानीय तह चुनावमा जाँदैगर्दा गठबन्धनमा अन्तर्घात भयो । यसरी हेर्दा गठबन्धन मात्रै सबैथोक होइन भन्ने पुष्टि भएको छ । त्यसबाट हामीले पाठ सिक्नैपर्छ भनेका छौं, हाम्रा कमजोरीलाई पनि सच्याउनुपर्छ भनेका छौं । यसो भन्दैगर्दा कसैसँग बार्गेनिङको कुरालाई यो अभियानमा जोड्नु हुँदैन या कोहीलाई तर्साउनका लागि पनि गरिएको होइन ।दुई तिहाइ नजिकको बहुमतसहित सरकारको नेतृत्व गरिरहेको आफ्नै पाटीलाई तितरबितर पारेर वैचारिक रूपमा ठिक उल्टो काँग्रेससँगको सत्ता साझेदारी गर्नुभयो तर, एक वर्ष पुग्दैगर्दा अर्कै मोर्चाबन्दीको अभ्यास तीव्र पार्नुभएको छ, स्थानीय तहको निर्वाचनलगत्तै ब्याक हुनुपर्ने अवस्था किन आयो ?
तत्कालीन विषयहरूमाथि केही धारणा मिलेको हुनाले नेपाली काँग्रेससँग हाम्रो अस्थायी सहकार्य मात्र हो । मुलुक, डेमोक्रेसी र राष्ट्रियतामाथि आइपरेको खतरा टार्न, भ्रष्टाचार र विकृति बढेपछि त्यसलाई सापेक्षिक रूपमा नियन्त्रण गरेर सुशासन दिनका लागि बनेको गठबन्धन हो । यस्तो जो कसैसँग पनि हुनसक्छ । सहकार्यलाई अर्को शब्दमा कार्यगत एकता भन्न पनि सकिन्छ । यस्तो तत्कालीन अवस्थालाई हेरेर जोसँग पनि हुन सक्छ । अब समीकरण बदलिँदै बदलिँदैन भन्ने त कहाँ हुन्छ र ? गठबन्धनहरू, समीकरणहरू बन्छन्, भत्किन्छन् । त्यसलाई स्वाभाविकरूपमा लिनुपर्छ ।

ओली सरकारकै पालामा देश एशियामा एक नम्बर भ्रष्ट मुलुकको रूपमा दर्ज भयो । अहिले काँग्रेसभन्दा पश्चगामी देखिएको छ एमाले । बुर्जुवा र पुँजीवादी पार्टीको बराबर पनि हुन नसक्नु त समस्याको कुरा हो नि ! पहिला पुँजीवादी पार्टी वा सो सरह अगाडि बढ्न पनि एमाले तयार छैन । अनि समाजवादतिर कसरी हिँड्न सकिन्छ ?

जे भने पनि अहिलेका ठूला पार्टी भनेकै काँग्रेस र एमाले नै हुन्, यी दुवै पार्टीलाई ठेगान लगाउन तपाईँहरूको प्रस्तावित समाजवादी केन्द्रले त्यो हैसियत राख्ला ?
यी दुई पार्टीमध्ये एउटा सरकारमा छ, अर्को प्रतिपक्षमा । डेमोक्रेसीको मुद्दामा थोरै अन्तर भएपनि राष्ट्रियताको सन्दर्भमा खासै अन्तर देखिएको छैन । एमसिसीको सन्दर्भमा सरकारको तर्फबाट सम्झौता गर्‍याे र संसद्मा ल्याउने आँट गरेको थिएन । तर एमाले काँग्रेसभन्दा एक स्टेप अघि बढेर राष्ट्रिय गौरवको आयोजना भन्यो र संसदबाट पारित गर्नुपर्छ भन्ने निर्णय गर्‍याे । हामीले संशोधन गर्नुपर्छ भन्दा उहाँहरू दुवै दल तयार हुनुभएन । हामी सानो दलले रोक्न सक्ने अवस्था नभएपछि १२ बुँदे व्याख्यात्मक घोषणा गर्ने प्रस्ताव ल्यायौं । एमाले त त्यसका लागि पनि तयार भएन । बरु काँग्रेसले मान्यो । अहिले हामीले एमाले र काँग्रेसको रोल के हुन्छ भनेर हेरिरहेका छौं । राष्ट्रघात हुन नदिन हामीले नयाँ मोर्चा बनाउन थालेका हौं । समाजवादी क्रान्तिको कार्यक्रमलाई अघि बढाउन एउटा मोर्चा बन्न सक्यो भने यथास्थितिवादी र प्रतिगमनकारी प्रवृत्तिलाई रोक्न सकिन्छ कि भन्ने हाम्रो प्रयास हो ।

एमालेबाहेकको मोर्चा किन ?
राष्ट्रियताको सन्दर्भमा नेकपा एमाले र नेपाली काँग्रेसको भूमिका करिब उस्तै छ । चुनावयताको अवस्थालाई हेर्दा एमालेको भूमिका डेमोक्रेसी र संविधानलाई सिध्याउने खालको देखियो । दुई-दुई पटक संसद् भंग गर्ने, ९ महिनासम्म संसद् अवरुद्ध गर्ने, राज्यका अंगहरूलाई भताभुंग पार्दै लैजाने प्रवृत्ति देखियो । संविधान र लोकतान्त्रिक मूल्य मान्यतालाई मिच्दै गएको देखियो । प्रतिगमनको प्रवृत्ति जो हामी भन्छौं, त्यसबारेमा हाम्रो धारणा पुनरावलोकन भइसकेको छैन । ओली सरकारकै पालामा देश एशियामा एक नम्बर भ्रष्ट मुलुकको रूपमा दर्ज भयो । अहिले काँग्रेसभन्दा पश्चगामी देखिएको छ एमाले । बुर्जुवा र पुँजीवादी पार्टीको बराबर पनि हुन नसक्नु त समस्याको कुरा हो नि ! पहिला पुँजीवादी पार्टी वा सो सरह अगाडि बढ्न पनि एमाले तयार छैन । अनि समाजवादतिर कसरी हिँड्न सकिन्छ ?

तपाईँहरू सबैले एकता गर्नुहुँदैन चाहिँ भन्नुहुन्न, तर त्यो पहल र मिल्ने दिशामा चाहिँ जानुहुन्न किन ?
‘इगो’ कै कारण वामपन्थी शीर्षस्थ नेताहरू सँगै रहन वा एकठाउँमा हुन मन पराउँदैनन् । मूलतः इगोका कारण हो धेरै त । वैचारिक कुराहरूमा पनि कहिलेकाहीँ त्यो हुन सक्छ । तर अहिलेसम्मको विगत हेर्दाचाहिँ इगोकै कारण हो । शीर्षस्थ नेता इमानदार नहुँदा नेपालको वामपन्थी आन्दोलन तहस-नहस बनेको देख्छु म । नेताहरूभित्र भएको जिनमा समस्या देखियो । एकीकरण विचारले गर्छ । संगठनात्मक सिद्धान्तले गर्छ र एजेन्डाले गर्छ । हामीसँग भएको एजेन्डा र भिजनलाई कार्यान्वयन गर्न हाम्रो संगठनात्मक सिद्धान्त हुनुपर्‍याे । त्यसलाई विचारले गाइड गर्नुपर्‍याे । अनि त्यसमा इमान्दारिता हुनुपर्‍याे । नैतिकवान हुनुपर्‍याे । वामपन्थी आन्दोलनको समस्या नै त्यही हो । इगोको समस्या छ र इमानदार छैन । त्यो भएर नै नेताहरू सँगै रहन सक्दैनन् ।

एमसीसीको जस्तै नागरिकता विधेयकमा पनि काँग्रेस पेलेरै अघि बढ्यो, राष्ट्रियताभन्दा ठूलो सत्ता र गठबन्धन हो र ?
अरु विषयमा हाम्रो विमति छैन । वैवाहिक अंगिकृत नागरिकताका विषयमा हाम्रो फरक मत छ । यद्यपि ठूला दलहरूका बीचमा एउटै धारणा भइसकेपछि प्रक्रियागत रुपमा समर्थन गरेको हो । उपयुक्त समयमा दलहरुबीच समझदारी कायम गरेर वैवाहिक अंगिकृत नागरिकताको विषयमा संशोधनको प्रस्ताव लिएर आउँछौ भन्ने प्रस्तावमा साथ दिएका हौं । यसअघिका एमसीसी र एसपीपीबारे त हामीले आफ्नो धारणा स्पष्टसंग राखिसकेका छौं ।

जापानवासी नेपालीहरूमा के अपिल गर्न चाहन्छु भने विदेशमा बसे पनि स्वदेशप्रतिको आफ्नो कर्तव्य र जिम्मेवारीलाई नभुल्नुहोला, आफ्नो देशको शिर सधैँ उँचो हुने काम गर्नुहोला ।

एमसीसी पारित भयो, एसपीपी नलिने भनेर सरकारले निर्णय गर्‍याे, यस्ता विषयहरू किन आइरहन्छन् ?
एसपीपी चर्चामा आयो, सरकारले निर्णय गरेर यो सहयोग नलिने स्पष्ट गरिसकेको छ । यसका लागि सरकारलाई धन्यवाद दिन्छु । हाम्रो भू-राजनीतिक अवस्था एकदमै जटिल छ । विगतमा पनि जटिल थियो, अहिले अन्तर्राष्ट्रिय र भूराजनीतिक द्वन्द्व बढेर गएपछि हामी त्यसको केन्द्रमा जस्तो छौं । यसरी हेर्दा स्वतन्त्र परराष्ट्र नीति, असंलग्न परराष्ट्र नीति हाम्रो अस्तित्व र स्वाधिनताको रक्षाका लागि अरू बाटो छैन । अर्को कुरा के पनि स्पष्ट हुनुपर्छ भने आर्थिक सहयोग र विकासको सहयोग सबैसँग लिनुपर्छ र त्यसका लागि खुला पनि हुनुपर्छ । सैनिक या यस्तै सामरिक खालको गठबन्धन कोहीसँग पनि हामीले गर्नुहुँदैन । हामी सबैको मित्र हो, कसैसँग नजिक र कसैसँग टाढा पनि छैनौं ।

यो अवस्था आउनुमा नेतृत्वको दोष होला नि होइन ?
अन्तर्राष्ट्रिय शक्ति केन्द्र वा राष्ट्रिय शक्ति जसले पनि पहिला आफ्नो हित हेर्छ । त्यसैले अहिले हामीले हाम्रो राष्ट्रिय हित हेर्ने हो । अहिले अरू कसैले प्रस्ताव ग¥यो भन्दा दबाबको रूपमा लिने या मान्नैपर्ने जरुरी पनि छैन । यस्तो प्रस्ताव गर्ने देशहरूले पनि आफ्नो स्वार्थ र हित हेरेका हुन्छन् । हामीले मित्रहरूको स्वार्थ र हित हेर्ने होइन कि हाम्रो हित मात्रै हेर्ने हो । हाम्रो हित र मित्रहरूको हित मिल्दा सँगै काम गर्ने हो । नमिल्दा हामीले अस्वीकार गर्न सक्नुपर्छ ।

अन्त्यमा, केही भन्नु छ कि ?
जापान जस्तो व्यस्त मुलुकमा रहेर पनि लामो समयदेखि नेपालीहरूका लागि सूचनाको सेवामा निरन्तर समर्पित नेपाली समाचार र समुद्रपारि डट कमको टिमलाई हार्दिक बधाई दिन चाहन्छु । र, यहाँहरूको उत्तरोत्तर प्रगति, निरन्तरता एवं थप सफलताको कामना गर्दछु । यहाँहरूको मिडियामार्फत मेरा आफ्ना र पार्टीका धारणा राख्ने अवसर दिनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । अन्तमा, जापानवासी नेपालीहरूमा के अपिल गर्न चाहन्छु भने विदेशमा बसे पनि स्वदेशप्रतिको आफ्नो कर्तव्य र जिम्मेवारीलाई नभुल्नुहोला, आफ्नो देशको शिर सधैँ उँचो हुने काम गर्नुहोला ।

तपाईको प्रतिक्रिया