शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

सँस्कार, सँस्कृति, सभ्यता, चाडपर्व, रीतिरिवाज हाम्रा अमूल्य सम्पत्ति हुन् । नेपाली समाजलाई युगौदैखि एकताको सुत्रमा बाँध्न यस्ता सँस्कृतिहरुको महत्वपूर्ण योगदान रहँदै आएको छ । यसको संरक्षण र संबर्धन गर्दै यिनका मूल्य, मान्यता र पहिचानलाई कायमै राख्न सक्नुपर्दछ ।

हरेक वर्ष भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने हिन्दु नारीहरूको पर्व तीजमा विवाहित महिलाले आफ्नो पतिको सुस्वास्थ्य र दीर्घायुको कामनासहित व्रत बस्ने र अविवाहित महिलाले सुयोग्य पति प्राप्त होस् भन्ने कामनासहित व्रत बसी पूजाआजा गरी मनाइने गरिन्छ । धार्मिक ग्रन्थकाअनुसार भगवान शिवलाई पति पाउँ भनि हिमालयकी छोरी पार्वतीले कठोर तपस्या गरी बरदान पाएको दिनको रुपमा तीजलाई लिईन्छ ।

तर हिजोआज तीजको परिभाषा लगभग बदलिएको छ । माइतीको आँगनमा बाबुआमा, दाजुभाइ र दिदीबहिनी जम्मा भएर मनाइने हरितालिका तीज अहिले होटल र पार्टी प्यालेसमा केन्द्रित हुन पुगेको छ । व्रत र पूजाआजा गरी भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म मनाइने हरितालिका तीज के स्वदेश, के विदेश आजभोलि महिना दिनसम्म मनाउन थालिएको छ । व्रत र पूजाको सट्टामा भोजभतेर, श्रृँगारको नाममा गरगहना र फेशन प्रदर्शन, गीतको नाममा उच्छृङ्खलता र नाचको नाममा अश्लीलताको भद्दा प्रदर्शन बढिरहेको पाईन्छ । यस प्रकारको विकृतिले हरितालिका तीज पर्वको मर्ममाथि गम्भीर प्रहार भएको छ भने नयाँ पुस्तामाझ तीज पर्वको गलत सन्देश प्रवाह भइरहेको छ ।

पछिल्लो समयमा हरेकजसो संघसंस्थाहरुले प्रतिस्पर्धाकै झल्को दिने गरी तीज कार्यक्रमको आयोजना गर्ने गरेको पाईन्छ । सबै संघसंस्थाहरुले एकै अवसरमा, एकै प्रकृतिका कार्यक्रमहरुको आयोजना गरिनु आवश्यक छ त ? यसबाट हामीले समाजलाई र हुर्कदों पुस्तालाई दिन खोजेको सन्देश के ? यसबारेमा बहस हुनु जरुरी देखिन्छ । पर्वका नाममा बढ्दो विकृति र विसंगतिलाई हटाई चार्डपर्वहरुलाई आफ्नै मौलिकता अनुसारको स्वच्छ र स्वस्थ राख्न जरुरी छ । यस दिशामा खासगरी समाजका जिम्मेवार अगुवाहरुको बेलैमा ध्यान जान आवश्यक छ ।

तीज मनाउने सँस्कृतिमा विकृतिको घुसपैठ हुन थालेको धेरै भईसकेको छ तथापि हामी चुपचाप नियालीरहेका छौं, काठमाडौंको फोहर ब्यवस्थापनमा देखिएको समस्या जस्तै जब नियन्त्रण भन्दा बाहिर स्थिति पुग्दछ अनि हामीले चाहेर पनि केही गर्न सक्दैनौ । त्यसो भएको हुनाले समयमै सचेत भई आ-आफ्नो ठाउँबाट यथासंभवका पहलकदमी थालिनु पर्दछ । देखावटी, तडक-भडक, तामझाम, खर्चिलो र भडकिलो बन्दै गईरहेको तीज पर्व यहिरुपमा अगाडि जाने हो भने एकातिर हुनेखाने र हुँदाखाने बीचको खाडल झन झन फराकिलो हुँदै जाने देखिन्छ भने अर्कोतिर तीज पर्व मनाउने सन्दर्भ कै बिषयलाई लिएर हरेक वर्ष उत्पन्न हुने गरेका कुनै न कुनै फण्डा र विवादले समाजलाई विखण्डनतिर लैजाने खतरा देखिन्छ । चाड पर्वको बेला आधुनिकताको नाममा नेपाली समाजले पचाउन सक्ने हदभन्दा बाहिरको क्रियाकलाप अनपेक्षित छ । ब्यक्तिगत जीवन स्वतन्त्ररुपले जिउन सबैलाई छूट छ, तर समाजमा नकारात्मक तरंग पैदा गर्ने खालका क्रियाकलाप वर्षेनि बढ्दै जानुले हामी कता जाँदै छौं भन्ने पूर्व संकेत गर्दछ ।

संस्कृतिलाई देखासिकी एवं भडि्कलोपनभन्दा पनि समय सान्दर्भिक र व्यवहारिकतामा आधारित भएर मनायौं भने मात्र हामीले संस्कृतिको जगेर्ना गर्न सक्छौं । अन्यथा यस्ता विकृतिले झन झन थिच्दै लैजान थाल्यो भने संस्कार र संस्कृतिले भरिपूर्ण यस पर्वलाई हाम्रा सन्ततिले गुगलमा खोज्नुपर्ने स्थिति नआउला भन्न सकिन्न । त्यसैले आफ्नै मौलिकताले भरिपूर्ण तीज पर्वभित्रको अर्गानिक स्वादलाई कायमै राख्न एकचोटी हामी सबैले सोच्ने हो कि ? ***

तपाईको प्रतिक्रिया