बुधबार, आश्विन १२, २०७९
Wednesday, September 28, 2022

वृद्ध लेखक टल्सटयलाई एक युवक भेट्न आयो । ऊ एकदमै चिन्तित थियो । टल्सटयले सोधे – ‘किन चिन्तित छौ ?’
मनको भारी बिसाउँदै भन्यो- ‘मलाई केही पैसा आवश्यक छ । कृपया मलाई मद्दत गरिदिनुस् । म सँग केही छैन । म बर्बाद भएको छु ।’
टल्सटयले भने- ‘मेरो एकजना साथी मान्छेको आँखा किनबेच गर्छ । यदि तिमीले आफ्नो आँखा बेच्यौ भने २० हजार त पाइहाल्छौ ।’
युवकले डराएर भन्यो- ‘अहँ, म मेरो आँखा बेच्न सक्दिनँ ।’
टल्सटयले भने- ‘केही छैन चिन्ता नमान, उसले हातखुट्टा पनि किन्छ । तिम्रो हातखुट्टाको ६० हजार त सजिलै दिन्छ ।’
युवकले रिसाउँदै भन्यो- ‘मलाई तपाईँबाट यस्तो अपेक्षा थिएन ।’
टल्सटयले शान्तभावमा भने- ‘हेर, म तिम्रो मद्दत गर्न चाहन्छु । यदि धनवान् हुनुछ भने तिमीले आफ्नो आँखा र हातखुट्टा उसलाई बेचिदेऊ । उसले यी सबैको एक लाख रुपैयाँ त दिइहाल्छ । तिम्रो सबै चिन्ता पनि हट्नेछ ।’
युवकले दृढतासाथ भन्यो- ‘एक लाख त के एक करोड दिए पनि म आफ्नो शरीर बेच्दिन ।’
टल्सटयले हाँस्दै भने- ‘अनि कसरी भन्न सक्छौ तिमीसँग केही छैन भनेर ? जबकि यो शरीर पुरै खजाना हो । आफ्नो अमूल्य हात कसैको अगाडि किन फैलाउँछौ ? मेहनत गर, धनको वर्षा आफै हुनेछ ।’

नर्सरीदेखि विश्वविद्यालयसम्म कुनै शिक्षकले आफ्नो  विद्यार्थीलाई जीवन र जगतको गूढ रहस्य बताउँदैन । घरमा बसेका तीनपुस्ताबीच अन्तरसंवाद दुर्लभ बन्दै गयो । यो दृष्टान्तले भन्छ- नेपाली कोदो रोपेर, धान भित्र्याउन हुटहुटिनु हाम्रो असली परिचय हो । पात्रो पल्टाउँदा तीनदशक भएछ- काठमाडौंको फोहोर ककनी, सिसडोल र बञ्चरे डाँडा भनेर जोर बिजोरको माथापच्चीमा मिलको फित्ताजस्तै घुमेको घुमेकै छ । त्यतिकै समय भयो शासकले मेलम्ची पानीको सपना देखाएको आखिर त्यो मृगतृष्णामा अनुवाद भएको छ । यही देश हो- भारत र चीन अन्धकारमा रुमलिँदा श्री ३ चन्द्रशमशेर राणाले फर्पिङमा झलमल्ल बिजुली बालेका थिए । विद्युत् प्राधिकरण अहिले भूमिगत तार बिछ्याउने अभियानमा लागिरहँदा दशकौंअघि दरबारमार्गमा भूमिगत तार बिछ्याइएको सत्य कसले बुझाइदिने ? राणाशासन हुँदा नेपाली एक रुपियाँको सात पेसो साट्ने सामर्थ्य थियो । काठमाडौंबाट उडेको जहाजले सीधै युरोप जोड्थ्यो । पाँच दशकअघि काठमाडौंबाट जाने दुईतले बसले भारतको बेंगलोरलाई निकट बनाएको थियो । साँच्चै भन्नुपर्दा नेपालमा राणा र राजाले बनाइदिएका पूर्वाधारमा नै गणतन्त्र र संघीयताको नाभि गाढिएको छ ।

बहुसंख्यक नेपालीले अपराधको राजधानी भनेर चिन्ने भारतको विहारमा हुने ७० प्रतिशत आपराधिक घटनामा नचिनेका मानिसको संलग्नता रहँदा नेपालमा ९० प्रतिशत घटनाको साझेदार चिरपरिचित मानिस हुने गरेका छन् । हप्तैपिच्छे जन्मदिने बाउले आफ्नै सन्तानको बीभत्स हत्या गरेको, मारेर रुखमा झुन्ड्याएको समाचार स्वाभाविक बन्न थालेको छ । खाडीको तातो तावामा कमाउने एउटा, नेपालमा गौंथलीको बच्चाजस्तो चारो च्याप्न मुख बाएर च्याँच्याँ गर्नेहरूको पारिवारिक भीडले रेमिट्यान्सको हिसाब त बढाएको छ नै, बाकसमा फर्कनेहरूको पीडामा उत्तिनै चूक थप्ने काम गरेको छ । घर फर्किएकाहरू शरीरका इन्जिनमा आघात पुर्‍याएर गरी खानु, न मरी जानुको नियति बाँचेका छन् । यो दृश्यले उमारेको प्रश्न हो – हाम्रो सामाजिक परिवेश कता जाँदैछ ? खाडीमा जानेको त पारिवारिक हिसाबकिताब रहला, युरोप अमेरिका भासिनेहरुसंंग जोडिएको अनौपचारिक अर्थशास्त्रको जम्काभेट कहाँ होला ?

शासन व्यवस्थाको नाम जे दिएपनि त्यसको गन्तव्य कार्यकर्ता र परिवारका सदस्यको व्यवस्थापनभन्दा माथि उठेन । गणतन्त्र भनेर के गर्नु ? प्रश्न गर्ने अधिकार हरेक मञ्चबाट खोसिँदै गएको छ । चुनावका नाममा गठबन्धन नामको ग्याङ्फाइटलाई लोकतन्त्रको सुन्दर पक्ष भनेर जनता झुक्याउने उपक्रम अद्यावधि चलिरहेकै छ ।

धेरै नेताले नेपालीलाई कहिले सिंगापुरको सपना देखाए त कसैले युरोपको । तर नेपाललाई नेपालकै साखबाट च्युत गराउने अभ्यास बाक्लै भए । न हामी विगतको गौरवसंग रमाउन सक्यौं, न आगतको राजमार्ग कोर्न सक्यौं । नेपालको सामाजिक मनोविज्ञान दुखान्त घटनाको शृङ्खला बन्नपुग्यो । राजनीतिमा शोषक सामन्त भनेर वर्षौंदेखि पूर्वाग्रह पाल्न बाध्य गराइएका राजामहाराजाहरुको जीवनगाथा अनपेक्षितसंग पीडाको माला बन्न पुग्यो । राजा ज्ञानेन्द्र र उनका परिवारको जीवनका उराठलाग्दा पाटा सडकमा पोखिए । बुहारीलाई जीवनप्रतिको मोह भंग नगराउन संस्था खोलिदिनुपर्ने बाध्यता लय समात्न गरिएको यत्न हो । युवराज भइसकेका पारसको जीवनशैली एउटा सामान्य नागरिकलाई पनि अत्यास लाग्ने खालको छ ।  राजा वीरेन्द्रका परिवारले बाँचेको जीवनस्तर त झन् समकालीन राजनीतिको वडाध्यक्षभन्दा सादा प्रमाणित भयो । नारायणहिटी संग्रहालय घुम्ने हरेक दर्शकको निष्कर्ष यही हो । तीन करोड जनताको व्यवस्थापन हेर्ने जिम्मेवारी लिएका नेताहरूले तीन दशकसम्म सत्ता शक्ति हातमा लिँदा पनि आफ्नो जेलजीवनप्रति अनुग्रहित हुन जनतालाई एकोहोरो प्रेरित गरिरहे । शासन व्यवस्थाको नाम जे दिएपनि त्यसको गन्तव्य कार्यकर्ता र परिवारका सदस्यको व्यवस्थापनभन्दा माथि उठेन । गणतन्त्र भनेर के गर्नु ? प्रश्न गर्ने अधिकार हरेक मञ्चबाट खोसिँदै गएको छ । चुनावका नाममा गठबन्धन नामको ग्याङ्फाइटलाई लोकतन्त्रको सुन्दर पक्ष भनेर जनता झुक्याउने उपक्रम अद्यावधि चलिरहेकै छ ।

कुनैबेला इजरायल र पाकिस्तानलाई स्वतन्त्र देशको मान्यता दिने एकलौटी निर्णय दिने साहसिक कूटनीतिको हकदार नेपाल थियो । चीनलाई राष्ट्रसंघको सदस्य बनाउन लविङ गरेको थियो । नेपाली कूटनीतिक अधिकारी राष्ट्रसंघको रोष्टममा उभिएर बोल्दा अन्तर्राष्ट्रिय जगतले ठाडा कान लगाउँथ्यो । चीन र जापानको सम्बन्ध बिग्रँदा नेपालका प्रतिनिधि टंकप्रसाद आचार्यले जापान गएर स्थायी समाधान खोजिदिए । पहिलो र दोस्रो विश्वयुद्धमा नेपालीले देखाएको साहसको कदर गर्दै कुनै समय नेपालीका लागि युरोपमा अनअराइभल भिसा चल्थ्यो । भियतनाम, थाइल्याण्ड, कोरिया नेपालले पठाएको खाद्यान्नमा रमाउँथे । त्यो साख कहाँ बिलायो ? त्यो कूटनीतिक र व्यावसायिक क्षमता अहिले बिलाएर लिलिपुटमा खुम्चिँदै गएको छ । नागरिकतामा राष्ट्रियता त उचाल्यौं तर आठसय माइलभन्दा बढी पैदल हिँडेर तिम्रो भूगोलको आकारप्रकार यस्तो छ भनेर चिनाइदिने टोनी हेगेनलाई बिर्सियौं । विकासको अकाट्य खाका कोरिदिने योजनाविद् डा. हर्क गुरुङका नाममा सिंहदरबारको एउटा कोठा समर्पण त गर्‍याैं तर चुनावमा उठ्दा एकाध सय भोटमा सीमित राख्ने नेपाली मतदातालाई त्यो कर्मको पछुतो भएन । नेपालको सामाजिक परिवेशको ऐना उतारिदिने समाजशास्त्री डोरबहादुर विष्ट, देशव्यापी संस्कृति उत्खनन गर्ने योगी नरहरिनाथलाई पूर्वाग्रहको चस्माले हेरेरै आफूभित्रको प्रज्ञा र चेतमाथि धोखाघडीको बन्चरो हान्यौं ।

आखिर क्षमतालाई आग्रहको पर्दाले कहिले पो छेक्थ्यो र ? मुलुकमा गणतन्त्र आएपछि व्याकुल माइलाले लेखेको राष्ट्रिय गीतमा राजा महेन्द्रले दार्जिलिङबाट काठमाडौं ल्याएर प्राज्ञ बनाएका अमर गुरुङकै संगीत फाप्यो । दार्जिलिङबाटै ल्याइएका हरिप्रसाद प्रधानले मुलुकको शासकीय स्वरूपको आधार मानिने सर्वोच्च अदालतको सम्पूर्ण संयन्त्र बनाइदिए । साहित्य, संगीत मात्र हैन, वाङमयको अवयव सीमापारीबाटै आएका शिल्पीहरूले तयार गरिदिए । हेर्नुस् त अहिले घरैपिच्छे स्कुल छन्, प्रज्ञा मौन छ । सयौं न्यायालय छन्, न्याय छैन । एप्रोन लाउने डाक्टर छन्, रोग झनझन हाबी बन्दैछ । पत्रकार छन्, खबर छैन । ड्राइभर बढ्दा छन्, गन्तव्य दुर्लभ छ । सयौं नेता छन्, नेतृत्व छैन । पुजारी छन्, भक्ति छैन । एम्बुलेन्सभन्दा शव वाहनलाई हतारो छ । सिंहदरबारको अधिकार बाहिर पठाउँछु भन्नेहरू सिंहदरबारलाई असनभन्दा भिड बनाउन हानाथाप गरिरहेका छन् । कार्यपालिका मात्र हैन अब व्यवस्थापिका र न्यायपालिकाको शक्ति संघर्ष पनि त्यही थलोले व्यहोर्नुपर्ने अवस्था आइपुगेको छ । आगत झन्झन् अत्यासलाग्दो बन्दै गएपछि हिजोकै प्रतिकूल परिस्थिति सम्झिनु नेपालीका लागि गौरवपूर्ण क्षण बन्दै गएको छ । हाम्रो शासकीय क्षमता कति पुड्को भएको छ भने भारत, चीन र अमेरिकाको मौसम हेरेर छाता ओढ्नुपर्ने परिस्थिति बाध्यात्मक बनाइँदैछ ।

हेर्नुस् त अहिले घरैपिच्छे स्कुल छन्, प्रज्ञा मौन छ । सयौं न्यायालय छन्, न्याय छैन । एप्रोन लाउने डाक्टर छन्, रोग झनझन हाबी बन्दैछ । पत्रकार छन्, खबर छैन । ड्राइभर बढ्दा छन्, गन्तव्य दुर्लभ छ । सयौं नेता छन्, नेतृत्व छैन । पुजारी छन्, भक्ति छैन । एम्बुलेन्सभन्दा शव वाहनलाई हतारो छ ।

भोग विलास र सुख सुविधामा हैन, नेताको उचाइ इमानदारी र निष्ठामा चहकिलो बन्दै जान्छ । त्याग नेतालाई खार्ने अचुक अस्त्र हो । विश्वका कुनै पनि राजनेता सुख, दुखलाई समभावमा हेर्ने चरित्रका कारण मर्यादाको उपल्लो श्रेणीमा पुगेका हुन् । दक्षिण अफ्रिका मात्र हैन, अफ्रिकी भूगोल नै नेल्शन मण्डेलाको नामबाट परिचित छ । अंग्रेजले भारतमा तोप, गोला, बारुदको साम्राज्य जमायो तर त्यो भौतिक तागतले लुरे महात्मा गान्धीले लिएको अहिंसाको व्रतलाई अलिकति हल्लाउन त के फर्केर हेर्न पनि सकेन । दुखको छायाले कसको जीवन रुझेको छैन र ? युगपुरुष कहलिएका महात्मा गान्धी आफ्नो  बाल्यकालको जीवनगाथा यसरी प्रकट गर्छन्- ‘खल्तीबाट पैसा चोर्ने, बिंडी पिउने, दुर्गुण सिक्ने बेलामा मेरो उमेर १२, १३ वर्षको थियो होला । तेस्रोचोटी मेरो चोरी मांसाहारी दाजुको सुनको बालाको टुक्रा थियो । उनलाई लगभग २५ रुपैयाँको मामुली कर्जा लागेको थियो । त्यसको भुक्तानीका बारेमा हामी दाजुभाइले सोचिरहेका थियौं । मेरो दाजुका हातमा सुनका खँदुवा बाला थिए, त्यसबाट एक तोला झिक्नु ठूलो कुरा थिएन । बाला काटियो कर्जा तिरियो तर मेरा लागि यो कुरा असह्य भयो । मैले भित्रभित्रै निश्चय गरें कहिल्यै चोरी गर्ने छैन । मलाई लाग्यो- मैले यो कुरा पिताजीलाई भन्नुपर्छ । मुख खुलेन । मैले चिट्ठीमा दोष कबुल गर्दै सजाय माग गरें । चिट्ठी दिँदा मेरा हात कामेका थिए । उहाँले चिट्ठी पढ्नुभयो । आँखाबाट आँसु झार्नुभयो । चिठ्ठी आँसुले भिज्यो । म पनि रोएँ । बुबाको दुख बुझें । यदि म चित्रकार हुन्थें भने त्यो चित्र आज राम्रो संग तयार गर्न सक्थें ।’

हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ख्यातिमा थुप्रै ठेली तयार भएका छन् । यदि देवकोटा नामको जमिन नेपाली साहित्यमा स्थापित नभएको हुँदो हो त सानै भुईँचालोले धेरै क्षति गर्थ्यो होला । तर सिद्धहस्त देवकोटाले मैनजस्तै आफू जलेर भएपनि शब्दको उज्यालो छरे । जीवनको उत्तरार्द्धमा कहालीलाग्दो जीवन भोगेका उनी आखिर श्रीकृष्ण रहेछन् एकको निष्कर्षमा मात्र पुगेनन् कि बाँच्नुको पीडा सहन गर्न नसकेर मृत्युको भीख माग्थे । उनले त्यो तीतोलाई यसरी पोखेका छन्- ‘मैले आफूmलाई शान्ति दिन सकिन । म उठ्न सके आफै आत्महत्या गर्ने थिएँ । अनि मेरा बालबच्चालाई पनि…। म यस दुनियाँलाई बोझ र चिन्ता दिन चाहन्न । अरुले मलाई बुद्धिजीवी भनेतापनि म आफ्नो निम्ति मूर्ख भएँ, अन्धो भएँ । म त्यो ज्योतितिर ढल्कन खोज्दछु तर अन्धकारले मलाई बोलाइरहन्छ । म त्यो असह्य वेदना खप्न सक्दिन । पोटासियम साइनाइट दिए, म उसलाई जीवनको सच्चा साथी सम्झने थिएँ । म अपराधी हुँ, त्यसैले म अपराध मेट्न चाहन्छु ।’

©sanketkoirala07@gmail.com

तपाईको प्रतिक्रिया