शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच सामाजिक सञ्जाल फेसबुकमा जुहारी चलेको छ । बुधबार साँझ फेसबुकमा एक स्ट्याटस पोस्ट गर्दै साम्पाङले आफू काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन भन्दै व्यङ्ग्य गरेका थिए ।

‘जस्ले जे भनोस् तर म काठ्माण्डौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ ! कम्से कम काम त शुरु गरे !’ भन्दै उनले स्ट्याटस पाेस्ट गरे ।

सोही पोस्टमा बालेनले ‘हो नि, तपाईंकै चुनाव चिन्ह लिएर मैले चुनाव पनि त जितेको हो नि’ भन्दै कटाक्ष गरेका छन् ।

साम्पाङको फेसबुक पोस्टलाई यो समाचार तयार पार्दासम्म ३० हजारभन्दा बढीले लाइक गरेका छन् भने आठ हजारभन्दा बढी कमेन्ट आएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताबीच यी मेयरकाे फेसबुक पाेस्ट र कमेन्टलाई लिएर अनेक टिप्पणी भइरहेको छ । कतिले ट्रोल बनाएका छन् भने कतिले आलोचना गरेका छन् ।साम्पाङले फेसबुकमा अर्को स्ट्याटस पोस्ट गर्दै भनेका छन्, ‘जहाँ आलोचना नै सुझाव हो भन्ने नबुझ्नेले के राजनीति गर्नु बेकारमा !’

यसपछि पनि आलोचना नरोकिएपछि उनले अर्काे फेसबुक पाेस्ट गरे, ‘देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइँदैन ! मुख बजाउनु छोडेर पाखुरा बजाऊ नालायक हो ! नामले खाएकाहरु हो।।। तिमेरुको रिस उठोस बेस्सरी ! काम गर काम हावा तालका हो ।’

सामाजिक सञ्जालमा बलियो उपस्थिति भएका बालेन र हर्क साम्पाङ गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा ‘लौरो’ चुनाव चिन्ह लिएर विजयी भएका थिए ।

तपाईको प्रतिक्रिया