बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेकाले युरोपेली सङ्घ (इयु) को हवाई प्रतिबन्ध सूचीबाट छिट्टै हट्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाल हवाई यातायात नियन्त्रक सङ्घले आज यहाँ आयोजना गरेको २१ औँ वार्षिक साधारणसभामा उनले हवाई उड्डयन सुरक्षाको क्षेत्रमा नेपालले उल्लेख्य प्रगति गरेकाले नेपाललाई इयुले सुरक्षा सूचीमा राखिरहन नपर्ने धारणा राखे ।

मन्त्री श्रेष्ठले नेपालको हवाई सुरक्षा मापदण्ड कार्यान्वयनबारे अन्तर्राष्ट्रिय प्रतिवेदनमा ‘विश्वको औसतभन्दा राम्रो’ अवस्था देखिएकाले इयुले आफ्नो निर्णयबारे पुनर्विचार गर्ने बताए । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)को परीक्षणमा नेपालको उड्डयन सुरक्षा मापदण्ड कार्यान्वयनको औसत दर ७०.१ प्रतिशत देखिएको थियो । इयुको प्रतिनिधिमण्डल छिट्टै नेपाल आएर स्थलगत अनुगमन गरी हवाई प्रतिबन्ध सूचीसम्बन्धी निर्णय पुनर्विचार गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

इयुको हवाई प्रतिबन्ध सूचीमा रहनु नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठासँग जोडिएको विषय रहेको भन्दै मन्त्री श्रेष्ठले प्रतिबन्ध फुकुवासँगै नेपाली विमान युरोपका आकाशमा उड्न पाउने बताए ।

सन् २०१३ यता इयुले हवाई प्रतिबन्ध सूचीमा नेपाललाई राखेको छ भने आइकाओले सन् २०१७ देखि प्रतिबन्ध फुकुवा गरेको छ । मन्त्री श्रेष्ठले हवाई सेवालाई सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउन सरोकारवाला सबै जिम्मेवार हुनुपर्ने बताए । कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरलगायतलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया