बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो – नेपाली जनप्रगतिशील मञ्च जापानले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को जापान भ्रमण सफल भएको बताएको छ । सोमबार प्रचण्डको पाँचदिने भ्रमणबारे प्रेस नोट जारी गर्दै मञ्चले अध्यक्षको भ्रमण हरेक कोणबाट सफल भएको बताएको हो ।

जनप्रगतिशील मञ्चको आमन्त्रण र जापानस्थित नेपाली राजदूतावासको संयोजनमा प्रचण्डले यही अगस्ट ७ देखि १० तारिखसम्म जापानको भ्रमण गरेका थिए । भ्रमणले नेपाल–जापान दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने मञ्चको विश्वास छ । ‘आधुनिक कृषि प्रणालीमा जापानले गरेको उपलब्धि, सूचना र प्रविधिमा मारेको छलाङ र जापानमा रहेका नेपालीहरूको अवस्थाको बारेमा जानकारी लिने उद्देश्यसहित गरेको भ्रमणले उद्देश्य परिपूर्ति गरेको’ मञ्चले भनेको छ ।जापानको सत्तारूढ ढलको प्रभावशाली नेतृत्वसँग नेपालको आर्थिक विकास र समृद्धिको बाटोमा जापान सरकारको सहयोगबारे कुरा हुनुका साथै उच्चस्तरीय भ्रमण गर्ने गराउने र नेपालमा हुने निर्वाचनको लागि पर्यवेक्षण गर्ने बारेमा महत्त्वपूर्ण छलफल भएको प्रेस नोटमा उल्लेख गरिएको छ ।

अध्यक्ष प्रचण्ड ५ दिन जापानमा रहँदा भए गरेको कुराहरूलाई सविस्तार उल्लेख गरिएको प्रेस नोटमा भ्रमणले राजनीतिक तथा कूटनैतिक तहमा हुने संवादलाई विकसित गर्न महत्त्व पुर्‍याएको भनिएको छ । दूतावासमा देखिएको समस्या समाधानका लागि पहल गर्नेदेखि यहाँहरूको नेपालीहरूको अवस्थाबारे जानकारी लिनु निकै सुखद भएको मञ्चले उल्लेख गरेको छ । जापान भ्रमण सफलतापूर्वक गराउनको लागि सहयोग पुर्‍याउने सबैलाई मञ्चले धन्यवाद ज्ञापन गरेको छ ।

हेर्नुहोस् प्रेस नोटको पूर्णपाठ:-

 

तपाईको प्रतिक्रिया