बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

फाइल फोटो

टोकियो – जापानको राजधानी टोकियो र अर्को शहर  फुकुओकामा भव्यताका साथ सम्पन्न नेपाल र नेपाली चिनाउन गरिएका फेस्टिभलपछि जापानको तेस्रो ठूलो शहर र नेपालीहरु धेरै बस्ने नागोयामा नेपाल फेस्टिभल हुने भएको छ । टोकियोमा भएको नेपाल फेष्टिबलको उद्‌घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना र फुकुओकामा भएको नेपाल फेष्टिबलको उद्‌घाटन पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी ) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गरेका थिए ।

सामाजिक सञ्जालमा टोकियोको फेस्टिभल एमालेमय र  फुकुओकाको फेस्टिभल माओवादीमय भयो भन्दै टिका टिप्पणी भएका थिए । यद्यपि फुकुओकामा पूर्व प्रधानमन्त्रीको हैसियतले प्रचण्डद्वारा फेस्टिभल उद्‌घाटन गरिएको एनआरएनए जापानका सचिव देवराज उप्रेतीको भनाई छ । त्यस्तै टोकियोमा भएको फेस्टिभलमा राष्ट्रियसभा अध्यक्षको हैसियतले फेस्टिभल उद्घाटन भएको बताउँदै एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले राष्ट्रिय सभा अध्यक्ष कुनै पार्टीको नहुने तर्क गर्छन् ।

आगामी सेप्टेम्बर ३ तारिख सनिवार र ४ तारिख आइतबार नागोयामा हुने नेपाल फेष्टिबलको तयारी तीव्र पारिएको एनआरएनए नागोयाका संयोजक मनोजबम मल्लले बताए । फेस्टिभल नागोयाको मुटु साकायको स्थित इडिओन हिसाया स्वायर पार्कमा हुने बताइएको छ । यो फेस्टिभल नागोयामा दोस्रो पटक आयोजना हुँदैछ । एनआरएनए क्षेत्रीय समिति नागोया र नेपाली राजदूतावास टोकियोको संयुक्त आयोजनामा हुने उक्त फेस्टिभलमा स्थानीय संघसंस्था तथा व्यक्तिहरूको समेत उत्साहजनक साथ सहयोग रहेको एनआरएनए नागोयाका उप- संयोजक कृष्ण गौतमले बताए ।

फेस्टिभलमा नेपाली रेस्टुरेन्ट एवं अन्य सेवा प्रदायक तथा व्यावसायिक सहित २७ वटा स्टलहरू रहने फेस्टिभलका स्टल व्यवस्थापन संयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारीले जानकारी दिए । फेस्टिभलको हरेक गतिविधिमा सिस्टम र पारदर्शीताकलाई ध्यानमा राखेर कार्य गरिएको उनको धारणा छ । एनआरएनए आइसिसी सदस्य समेत रहेका फेस्टिभल मूल आयोजक समितिका संयोजक दीपक कार्की दोस्रो पटक नागोयामा नेपाल फेस्टिभल आयोजना गर्न पाएकोमा उत्साहित भएको बताउँछन् । जापनिज माझ नेपाल र नेपाली चिनाउने यो अभियानमा सबैबाट साथ र सहयोग रहेको उनी बताउँछन् ।

काम गर्ने क्रममा कहीँ कतै कमी कमजोरी रहे त्यसलाई समीक्षा गर्दै सच्याउन सकिने बताउँदै फेस्टिभल मूल आयोजक उपसंयोजकसमेत रहेका अर्जुन केसीले फेस्टिभललाई सभ्य र भव्यताका साथ सम्पन्न गर्न लागि पर्नुपर्ने बताए । फेस्टिभलमा नेपाली कला संस्कृति झल्कने भेसभुसा, कला , खानपिन तथा रहन सहनको बारेमा प्रस्तुति रहने बताइएको छ ।

एनआरएनए जापानका सचिव समेत रहेका फेस्टिभल आयोजक समितिका सचिव श्याम शीतलका अनुसार फेस्टिभल गर्नु मात्र ठूलो कुरा नभई, फेस्टिभलमा व्यवस्थापन कस्तो थियो भन्नेले महत्त्व राख्ने धारणा राख्छन् । त्यस्तैले फेस्टिभललाई उत्कृष्ट व्यवस्थापन गर्दै भव्य बनाइने उनले बताए । जापानमा हुने नेपाल फेस्टिभलहरुमा बेला-बेलामा आर्थिक क्रियाकलापमा प्रश्न चिन्ह उठेन गरेको सम्बन्धमा यो फेस्टिभलमा हरेक हिसाब किताब पारदर्शी राखिने र फेस्टिभल सकिना साथ आय-व्यय सार्वजनिक गरिने आर्थिक व्यवस्थापन समिति संयोजक डिलाराम खरेलले बताए ।

कुनै पनि कारोबार बैकबाट मात्र गरिने खरेलको भनाई छ। फेस्टिभल तयारीको हाल सम्मको गतिविधि र भावी कार्य योजना सम्बन्धमा जानकारी गराउन छिट्टै पत्रकार सम्मेलन आयोजना गरिने लागेको फेस्टिभल प्रचार-प्रसार समितिका संयोजक भवानी पन्तले बताए । फेस्टिभलमा नेपालीले प्रयोग गर्ने ढिकी, जाँतो एवं बारदली भएको घरसमेत हेर्न सकिने बताइएको छ ।

तपाईको प्रतिक्रिया